बागमती

मकवानपुरमा व्यवसायिक शिक्षासहितको महिला उद्यमी मेला हुने

इकागज |
असार ११, २०७९ शनिवार १२:२१ बजे

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलोपटक प्रदेश स्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी (मेला) हुने भएको छ । बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश समिति तथा प्रदेश महिला उद्यमी समितिको समन्वयमा कार्यक्रम हुने भएको हो ।

आगामी असार १३ र १४ गते हेटौंडाको रोयल पार्टी प्यालेसमा महिलाले उत्पादन गरेको सबै प्रकारको उपजहरुलाई प्रदर्शनीमा राखिने नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश समिति कार्यवाहक अध्यक्ष तथा प्रदर्शनी कार्यक्रमका संयोजक तारानाथ चौलागाईले बताए । चौलागाईका अनुसार प्रदर्शनीमा कम्तीमा ५० वटा स्टलहरुमा महिलाले उत्पादन गरेको उपजहरु राखिने छ ।


सम्मेलनमा सहभागीका रुपमा प्रदेशको १३ वटै जिल्लाबाट ७८ जना महिला उद्यमी प्रतिनिधिहरु, ३२ जना प्रदेश समिति तथा स्थानीय महिला उद्यमीहरु र २० जना आमन्त्रित महिला उद्यमीहरु रहने चौलागाईंले बताए । यसैगरी १३ जिल्लामा ३९ जना उद्यमीहरु उपज प्रदर्शनीमा सहभागी हुनेछन् । उनीहरुलाई उपज प्रदर्शनीको लागि निशुल्क स्टल उपलब्ध गराइने छ भने बस्ने र खाने व्यवस्था समेत आयोजकले नै व्यहोर्ने छ ।

प्रदर्शनीसँगै व्यवसायिक कार्याशाला समेत हुनेछ । कार्यशालामा विज्ञको कार्यपत्र प्रस्तुति हुनेछ । कार्यपत्रबाट कसरी व्यवसाय गर्ने भन्ने बारे शिक्षा समेत प्राप्त गर्न सकिने आयोजकले जनाएको छ । बिज्ञसँग व्यवसायीक अवसर, चुनौती बारे छलफल र जानकारी हुने, आपसी सम्पर्क बढ्ने हुँदा महिलाको लागि यो अवसर हुने संघको मकवानपुर जिल्ला महासचिव कुमार पौडेलले बताए ।

प्रदर्शनीमा ३० लाख खर्च अनुमान गरिएको संयोजक चौलागाईंले बताए । चाँदीका सामग्रीदेखि डलकुशनसम्मको प्रदेशनी रहने उनले बताए । प्रदर्शनी आम्दानीभन्दा महिलाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको निर्देशनालयले जनाएको छ । प्रदर्शनीबाट उद्यमी महिलाहरुसँगै सम्बन्धित जिल्लाको पहिचान बढ्ने र उद्यमी महिलाहरुलाई आपसी परिचय र छलफलले व्यवसायमा सफलता हासिल गर्न बल पुग्ने नेपाल घरेलु तथा साना उद्योग संघ मकवानपुर ज़िल्ला महिला उद्यमी समिति सभापति सन्तोषी बानियाँले बताइन् ।

“यो प्रदर्शनीले महिलालाई सहयोग गर्नेछ, दुर्गमका महिलालाई मेला अवसर बन्नेछ” बानियाँले भनिन् “महिलाहरुले घरैमा बसेर बनाएका अचार, दालमोठ, ऊनबाट बनेको मौसमी पोशाकहरु, हस्तकलाको सामानको बजार प्रवद्र्धनमा मेला मौका बन्ने छ ।” महिलाहरुले विभिन्न तालिम लिएर क्षमतावान बनेको भए पनि बिक्री वितरण हुन नसक्दा निराशा हुनु परेको अवस्थाबाट यस्तो मेलाले माथि उठाउन पहल पुग्ने उनले बताइन् ।


Author

थप समाचार
x