बागमती

बागमती प्रदेश सभाः प्रि बजेट माथि छलफल

सरिता दाहाल |
जेठ १४, २०७९ शनिवार १५:२ बजे

मकवानपुर । बागमती प्रदेशसभाको दशौं अधिवेशनको तेस्रो बैठक जारी छ । शुक्रबारको बैठकमा प्रदेश आर्थिक मामिला मन्त्री शालिकराम जमकट्टेलले प्रि बजेट पेश गरेपछि सभामुख सानु कुमार श्रेष्ठले आज विहान ११ वजे सम्मको लागि बैठक स्थगित गरेका थिए ।

विहान ११ वजेको लागि बोलाइएको प्रदेश सभाको दशौं बैठक केही ढिला सुरु भएको थियो । बैठकमा प्रि बजेट सम्बन्धमा प्रमुख प्रतिपक्ष दलका सांसद तथा सत्ता पक्षीय सांसदले आआफ्नो धारणा राखिरहेका छन् ।


बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं बागमती प्रदेशका पूर्व अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले हालै सम्पन्न स्थानीय निर्वाचनलाई प्रभावित पार्न बागमती प्रदेश सरकारले २३ सय टुक्रे योजना ऐन विपरीत बाँडेको बताएका छन् ।

शनिबार बागमती प्रदेश सभामा बोल्दै उनले  संसद चल्ने सक्ने अवस्था हुँदा हुँदै पनि प्रदेश सरकारले संसदलाई छलेर निर्वाचन प्रभावित पार्न २३ सय योजना ल्याएको आरोप लगाए । उनले २३ सय योजना बाँढ्दा पनि गठबन्धन प्रदेश सरकारले चालु वर्षको पुँजिगत खर्च २८ प्रतिशतभन्दा माथि जान नसकेको बताए ।

ढुंगेलले प्रदेश सरकारलाई मन्त्रीकै लागि खर्च गर्न बजेट नपुगेको भन्दै जनताको समस्याको लागि कुनै ध्यान नगएको टिप्पणी गरे । बागमती प्रदेश सरकारलाई १८ मन्त्री आवश्यक छ ? प्रश्न गदै उनले भने यि सबैको भरणपोषण गर्दा बिउ कहाँबाट ल्याउनु, मल कहाँ बाट ल्याउनु ?

उनले गठबन्धन सरकारले निर्वाचनमा गठबन्धनले नजिते वडामा बजेट नदिने भन्ने अभिव्यक्तिले निर्वाचन प्रभावित भएको दाबी गरे । उनले प्रदेश सरकारले जनपक्षीय कामको लागि कुनै पनि योजना ल्याउन नसकेको दाबी गरे । उनले पेट्रोलियम पर्दाथको मूल्य बढिरहेको अवस्थामा अघिल्ल्लो प्रदेश सरकारले विद्युतिय सवारी साधन चलाउन योजना ल्याउँदा अहिलेको सरकारले वेवास्था गरेको बताए ।

यसैगरी बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) ले गठबन्धनको उद्देश्य सत्ता हत्याउने भन्दा पनि प्राप्त उपलब्धीहरुलाई जोगाउने बताएका छन् । शनिबार बसेको प्रदेशसभाको दशौँ अधिवेशन अन्तर्गतको तेस्रो बैठकमा विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामा भाग लिँदै पुलामीले नेपाली जनताले प्राप्त गरेको उपलब्धी, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको लागि गठबन्धन गरिएको बताए ।

‘यहाँ गठबन्धन किन गरियो भन्ने पनि प्रश्न आयो । हाम्रो उद्देश्य सत्ता हत्याउने होइन, उपलब्धी जोगाउने हो । यो त सुरुवात मात्रै हो । हेर्दै जानुहोला, जनताले प्राप्त गरेको उपलब्धी रक्षाको लागि हामी निरन्तर लागिरहनेछौँ ।’ उनले भने ।

उनले सरकारले ल्याएको प्रि बजेटमाथि प्रतिपक्षीले विरोध गर्नकै लागि विरोध गरेको बताए । ‘ विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकता मैँले पनि पढेको छु । यसमा महिला विकासमा पहिला, बा र आमा हाम्रा, भगवानभन्दा पनि राम्रा भन्ने भाव झल्किएको छ ।’ उनले भने ।

यसै गरी विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले सरकारले बजेटको प्राथमिकताको क्षेत्र खोज्नु भन्दा पनि बजेट खर्चतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।

सरकारले प्रस्तुत गरेको आगामी आथिर्क वर्ष २०७९/०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि आफ्नो धारणा राख्दै पौड्यालले प्रदेश सरकारको बजेट खर्च गर्न नसकेका कारण योजनाहरु प्राथमिकतामा पर्न नसकेको बताए । उनले सरकारले बजेट खर्च गर्न नसक्नुको कारण खोज्नुपर्ने अवस्था आएकोले त्यस तर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

सरकारले ११ महिनाको अवधिमा वार्षिक बजेटको आधा रकम मात्रै खर्च गर्ने गरेको र आर्थिक वर्षको अन्तिममा असर महिनामा मात्र आधा बजेट खर्च गर्नुपर्ने बध्यता रहेको उनले बताए । ‘विगतमा हामीसँग एकल बहुमतको सरकार थियो । त्यसले पनि काम गर्न सकेन । अहिले गठबन्धनको सरकार छ । त्यसले पनि काम गर्न नसकेको प्रष्ट छ । यसलाई गम्भिर रुपमा हेर्नुपर्छ ।’ उनले भने, ‘हामीले मन्त्रालय विभाजन गर्दां पनि काम गर्न सकेनौ । यसबारेमा हामीले गम्भिर समिक्षा गर्नुपर्छ ।’

उनले विगतदेखि नै विभिन्न बहानामा बजेट खर्च गर्न नसकेको र हरेक वर्ष बजेट र त्यसका प्राथमिकता मात्र प्रस्तुत गरेको बताए । कर्मचारीकाे अभावले हामीले बजेट खर्च गर्न सकेनौँ भनि रह्यौ । कर्मचारी अभावलाई कहिलेसम्म बहाना गर्ने । त्यस विषयमा पनि सोच्नुपर्ने देखिएको छ । बागमती सरकारले चालु आवमा पुँजीगत तर्फ २८ र चालु तर्फ ४१ प्रतिशत बजेट खर्च गरेको छ । आगामी १ महिनामा त्यसलाई जसोतसो ७० प्रतिशत बनाइन्छ । यो हाम्रो ठूलो समस्या हो ।’ उनले भने ।


Author

थप समाचार
x