बागमती

माओवादी आफू हार्‍यो, तर एमालेलाई जितायो

इकागज |
जेठ ५, २०७९ बिहिवार ९:५६ बजे

टपिन्द्र तिमिल्सिना र दुर्गा थापा ।

सिन्धुपाल्चोक- वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचन अन्तर्गत सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको अन्तिम मत परिणाम बुधबार मध्यरातमा सार्वजनिक भयो । २०७४ को निर्वाचनमा अध्यक्षमा श्रवणकुमार जिसी विजयी बनेका थिए भने उपाध्यक्षमा लक्ष्मी पौडेलले बाजी मारेकी थिइन् । दुवै नेपाली कांग्रेसबाट उम्मेदवार बनेर विजयी भएका थिए ।

सिन्धुपाल्चोकमा सुनकोशीलाई एमालेको गढका रुपमा लिइन्छ । यहाँ २०७४ मा सुनकोशीमा समाजसेवी एवं बुद्धिजिवीका रुपमा चिनिने शिवप्रसाद न्यौपाने एमालेबाट उम्मेदवार थिए । गाउँकै अब्बल विद्यालयका प्राचार्यसमेत भइसकेका न्यौपाने शिक्षण पेशाबाट राजीनामा दिँदै अध्यक्षको उम्मेदवार बनेका थिए । सिंगो गाउँकै ‘गुरु’ न्यौपानेलाई हराउनु जिसीका लागि फलामको चिउरा चपाउनुसरह थियो । तर, उनै जिसीले चुनावी परिणाम आफ्नो पक्षमा पारेर एमालेको गढ भत्काइदिए ।


उनै निवर्तमान अध्यक्ष जिसी फेरि २०७९ को निर्वाचनमा चुनावी मैदानमा होमिए । उता एमालेबाट टपिन्द्र तिमिल्सिना उनका प्रमुख प्रतिष्पर्धीका रुपमा हेरियो ।

२०७४ मा चुनाव जितेपछि गाउँको विकासका लागि ‘केही काम’ गरेका जिसीलाई हराउन बाम शक्ति एक भयो । एमालेबाट उम्मेदवारी दिएका टपिन्द्रको साथमा माओवादी केन्द्र पनि एक भयो । यहाँ माओवादीले उपाध्यक्षमा दुर्गा थापा उठायो ।

माओवादी र एमालेको गठबन्धन र कांग्रेसका उम्मेदवारबीच चुनावी प्रतिष्पर्धा राम्रै भयो । सुनकोशी आफू एक्लैले नजित्ने भएकाले माओवादीले एमालेसँग काँध मिलाएको थियो ।

वैशाख ३० मा झरेको मत गन्न थालेदेखि नै निकै प्रतिष्पर्धा भएको सुनकोशीमा धेरैले लख काटे–‘मत अन्तर दुई अंकमै हुनेछ, तर कसले जित्छ टुंगो छैन ।’

एमालेलाई चुनौती थियो आफ्नो साख फर्काउने । उता जिसीमाथि इज्जतको सवाल थियो कि अघिल्लो वर्षको जितलाई निरन्तरता दिने । पाँच वर्ष स्थानीय सरकार चलाएका थिए । दुवैलाई केही डर थियो राप्रपाका उम्मेदवारबाट । यहाँ राप्रपाबाट देवीप्रसाद न्यौपाने चुनावी मैदानमा थिए । उनी ख्याती प्राप्त कलाकार हुन् । नेपाली टेलिसिरियलमा ‘भोक लाग्यो’ को उपनाममले चिनिइने उनको कलाकारिता क्रेजले केही तान्न सक्ने दुवै उम्मेदवारको आँकलन थियो ।

प्रतिष्पर्धात्मक रुपमा रहेको मत गणनामा थोरै थोरै मतले जिसी हावी हुँदै गए । अन्तिममा केही मत गन्न बाँकी हुँदा टपिन्द्रले ४ मतले अग्रता लिए । त्यही अग्रता विस्तारै बढ्दै जाँदा अन्तिममा झिनो मतले जिसी पछि परे । टपिन्द्रले बाजी मारे ।

सुनकोशीमा जम्मा ७ वटा वडा छ । जसमध्से चार वडामा कांग्रेस विजयी भयो भने तीन वडामा एमालेको जित भयो । धेरै वडा जितेको कांग्रेसले पालिका अध्यक्ष आफ्नो बनाउन सकेन ।

यहाँ टपिन्द्रले ५९३२ मत ल्याएर विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष जिसीले ५७९१ मत ल्याए । राप्रपाबाट अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेर चुनावी स्पर्धामा होमिएका देवीप्रसाद न्यौपानेले १३८ मत पाए ।

एमाले-माओवादी चुनावी गठबन्धन कठिन थियो । माओवादीले एमालेसँग गठबन्धन कतै नगर्ने निर्देशन दियो । तर सुनकोशीमा सम्भव भयो । कांग्रेसलाई हराउनकै लागि माओवादीले एमालेलाई समर्थन गरेको हो । माओवादी जति सफल भयो त्योभन्दा धेरै असफल रह्यो । यसकारण कि माओवादीको मतले एमालेका अध्यक्षलाई जिताउन सफल भए पनि आफ्नो उम्मेदवार उपाध्यक्षमा दुर्गा थापालाई जिताउन सकेन । उपाध्यक्षमा कांग्रेसकी कान्छीमाया लामाले ५९०५ मत ल्याएर विजयी भइन् । माओवादीकी थापा ४९७४ मत मै खुम्चिइन् । चुनावी स्पर्धामा रहेकी राप्रपाकी लक्ष्मी गिरीले उपाध्यक्ष पदमा १३७ मत ल्याइन् ।


Author

थप समाचार
x