मधेश

आन्दोलनकारी युवाहरू भन्छन्- मधेश–प्रदेश नामाकरणले आंशिक खुसी मात्र

सुभाष कर्ण |
माघ ९, २०७८ आइतबार ११:३५ बजे

जनकपुरधाम– प्रदेश–२ को नामाकरण मधेश प्रदेश कायम भएपछि प्रदेशमा कतै खुशीयाली त कतै विरोधका स्वर उठिरहेको बेला मधेश आन्दोलनका अग्रपंक्ति आन्दोलनकारी युवाहरू सन्तुष्ट देखिएका छैनन् । मधेश आन्दोलनका बेला अहोरात्र ज्यानकै बाजी लगाएर आन्दोलन गरेका युवाहरूले प्रदेशको नामांकरण मधेश प्रदेश हुँदा आन्दोलनको आंशिक माग मात्र पूरा भएको बताउँछन् ।

आन्दोलनका अनेकन मागमध्ये तराई–मधेशका २२ वटै जिल्लालाई समेटेर समग्र मधेश एक प्रदेश पनि थियो । तर हाल घोषणा भएको मधेश ८ जिल्लालाई मात्र समेटिँदा आंशिक मात्र माग पूरा भएको भनाई उनीहरूको छ । 


तीन चरणमा भएको मधेश आन्दोलनमा अग्रपंक्तिमै रहेर प्रमुख भूमिका निर्वाह गरेका जनकपुरका युवाहरूमा असन्तुष्टि भएपनि मधेश प्रदेश नामले पहिचान पाएकाले आंशिक माग पूरा भएको भन्दै खुशी पनि व्यक्त गर्छन् ।

मधेश जनविद्रोह २०६३ आन्दोलनकारी समूहका संयोजक दिपक झा भन्छन्, ‘हामीले मधेशका समग्र २२ वटै जिल्लालाई समेटेर मधेश प्रदेशको माग गरेका थियौं । तर मधेश प्रदेशमा ८ जिल्लालाई मात्र समेटिँदा दुःख लागेको छ । जे भएपनि राज्य पक्षले मधेशीलाई स्वीकार नगर्ने अवस्थामा कम्तीमा ८ जिल्लावासीले पनि आफ्नो पहिचान मधेश प्रदेश पाउँदा आंशिक भएपनि कतै न कतै खुशी पनि छु ।’

त्यस्तै अर्का आन्दोलनकारी अरुण मधेशी पनि प्रदेशको नाम मधेश प्रदेशले हामीले आंशिक उपलब्धि मात्र हासिल भएको उल्लेख गर्छन् । उनले भने, ‘मधेशमा आफ्ना सर्वश्व लगाएका मधेशी जनताहरूले २२ जिल्लाको मधेश प्रदेशको माग गरेका थिए, तर सत्ताका लागि इमान बेचेर मधेशकेन्द्रित दलहरूले ८ जिल्लामा सिमित गरे । आफ्नै नेताहरूले गद्दारी गर्दा निकै दुःख लागेको छ, तर मधेश प्रदेश नामाकरणले सदियौंदेखि अपहेलित हुँदै आएका हामी मधेशीले पहिचान पाएकोले गर्व पनि लाग्छ ।’

आन्दोलनकारी अरुण भन्छन्, ‘आन्दोलनको बलमा नेता बनेकाहरूको रजाईँ नै छ, हामीले आफ्नो सरकार पाएपनि आन्दोलनकारीहरू बेरोजगार छन् । ती निकायहरूमा नेताका नेताहरूको भाइ–भारदार र पार्टीका कार्यकर्ताहरू भरिएका छन् ।’

मधेश आन्दोलनका अग्रपंक्तिमा रहेर खटेका युवाहरूमध्ये महाशंकर ठाकुर पनि एक हुन् । उनी भन्छन्, ‘नाम र पहिचानको लडाईमा मधेश प्रदेश नामाकरणले हामीले आंशिक उपलब्धि हासिल गरेका छौं । आठ जिल्लावासीले मात्रै पहिचान पाउँदा आन्दोलनमा सहभागी मधेशका अन्य जिल्लावासीका साथ बेइमानी हुनेछ ।’

तर मधेसी नेताहरू सत्तामा गएपछि आन्दोलनकारीहरूलाई बिर्सेको र दुरुपयोगमा संलग्न भएको टिप्पणी पनि उनीहरु गर्छन् । उनीहरुको भनाइमा, समानुपातिकमा आफ्ना नातेदारलाई राख्ने नभए मोटो रकममा बेच्ने, विकासका नाममा गरिने ठेक्कापट्टा तथा उपभोक्ता समितिहरू आफ्नै नातेदार र पार्टीका मान्छेलाई दिने गरेका छन् । मन्त्रालयमा आन्दोलनमा रोजगार गुमाएका वा शहीद परिवारहरूको सट्टा आफ्नो नातेदार र पार्टीका कार्यकर्ताहरूलाई जागिर दिने दिएर आन्दोलनबाट पाएका उपलब्धिमा रजाईँ गर्दै आएका छन् ।

मधेश आन्दोलनमा योद्धाको रुपमा परिचित इन्द्रकुमार मधेशानन्द पनि मधेश प्रदेश नामाकरण आंशिक उपलब्धी मात्र हासिल भएको बताउँछन् । उनले भने, ‘८ जिल्लाको भएपनि राज्य पक्षले मधेशी शब्दलाई स्वीकार गरी आफूहरूलाई पहिचान दिएको त्यो नै ठूलो कुरा हो ।’

मधेश आन्दोलनमा सिपाही झैँ खटेका मधेशी आन्दोलनकारी समूहका युवा शम्भु झाले मधेश प्रदेश पाएकोमा आफू गर्व महसूस गरिरहेको बताउँछन् । हिजोको दिनसम्म मधेशीको म शब्दसम्म सुन्न नसक्ने शासक वर्गले मधेशीलाई स्वीकार गरी मधेश प्रदेशमा सहमति जनाएकोमा आफ्नो जीत भएको उनी भन्छन ।

उनी भन्छन्, ‘जनसंख्याको आधारमा मधेशीको सेना तथा राज्यको हरेक निकायमा पहुँच, २२ जिल्लाको मधेश प्रदेश, पुर्ण समानुपातिक निर्वाचन प्रणाली, आत्मनिर्णयसहितको स्वायत प्रदेश र भूगोलको आधारमा प्रदेशको बाँडफाँड लगायतका मागहरूमा आंशिक सम्बोधन मात्र भएको छ, यसलाई पूर्णता दिन आन्दोलनको आवश्यक छ ।’

मधेश आन्दोलन अघिदेखि नै गजेन्द्रनारायण सिंहको पालादेखि मधेशको मुद्दामा आन्दोलन युवामध्येका रमणसिंह पाण्डे प्रदेशको नाम मधेश पाउँदा खुशी देखिएको छैन । उनी भन्छन्, ‘मात्र ८ जिल्लाको मधेश प्रदेश हामीसँग बेइमानी छ, हामी यसलाई कुनैपनि हालमा स्वीकार्दैनौं ।’

आफूलाई आन्दोलनका नेतृत्वकर्ता भन्नेहरूले सत्ता स्वार्थका लागि मधेश आन्दोलनका सम्पूर्ण मागलाई तह लगाएर धेरथोर सम्बोधन गराएर आन्दोलनलाई तिलाञ्जली दिएर धोखाधडी गरेको भनी आक्रोश गर्छन् ।

मधेश प्रदेशमा सरकार गठनअघि निर्वाचनमा आन्दोलनमा हरेक शहीद तथा घाइते परिवारलाई रोजगार र उनको बालबालिकालाई निःशुल्क शिक्षा तथा विकासमा पहुँच हुने नारा दिइएको थियो । तर एउटा पनि शहीद परिवारलाई स्थायी रोजगार दिइएको छैन । विकासको नाममा पार्टीका कार्यकर्ता र नातेदारलाई ठेकेदार बनाई रकम भ्रष्टाचार गर्दै आएको आरोप पटक–पटक लाग्दै आएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x