मधेश

मधेश प्रदेशमा ५० प्रतिशतले लगाए पूर्ण खोप, अझै अपनाइएन सतर्कता

सुभाष कर्ण |
माघ ८, २०७८ शनिबार १९:४० बजे

जनकपुरधाम– मधेश प्रदेशमा हालसम्म मात्र ५० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । पछिल्लो महिनासम्म करिब ४० प्रतिशतले पूर्ण खोप लगाएको थियो, चालु महिनाको पहिलो सातासम्म १० प्रतिशत थप खोप लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक विजय झाले पछिल्लो महिनासम्म खोप लगाउन मानिसले आनाकानी गर्दै थिए, तर पुनः तीव्र रुपमा बढ्दै गएको कोरोना सङ्क्रमणको दर र पर्याप्त खोपको उपलब्धतासहित निरन्तर प्रचा प्रसारको कारण पूर्ण खोप लगाउनेको संख्यामा वृद्धि भएको बताए ।


उनकाअनुसार गत पुसको दोस्रो सातासम्म पूर्ण खोप लगाउनेको संख्या निकै कम मुस्किलले २०÷२२ प्रतिशत थियो । तर पुस महिनाको तेश्रो सातादेखि संक्रमण दर बढदै गएपछि खोप लगाउनेहरूको संख्या बढेर गएको छ ।

निर्देशनालयको तथ्यांक अनुसार १८ भन्दा माथि पूर्ण खोप लगाउनेको संख्या सबभन्दा बढी सर्लाहीमा ६३.३, धनुषामा ५२.६, बारामा ५३.६, पर्सामा ५१.१, सप्तरीमा ४७.७, सिरहामा ४६.८, रौतहटमा ३९.६  र सबभन्दा कम महोत्तरीमा ३६.६ प्रतिशत रहेको छ ।

त्यस्तै एक मात्रा मात्र खोप लगाउनेको संख्या करिब ५९ प्रतिशत रहेको छ । सबभन्दा बढी सर्लाहीमा ७५, बारामा ७०, पर्सामा ६५, सिरहामा ६३, महोत्तरीमा ६९, धनुषामा ६४, सप्तरीमा ६१ र रौतहटमा ४५ प्रतिशत रहेको छ । झाकाअनुसार १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामा खोप लगाउनेको संख्या बढी रहेको छ । प्रदेशमा १२ देखि १७ वर्ष उमेर समूहका करिब ६२ दशमलव दुई प्रतिशतले खोप लगाइसकेका छन् ।

सरकारले २०७८ पुस मसान्तभित्र ६६ प्रतिशत नागरिकलाई कोभिड– १९ विरुद्धको खोप लगाउने लक्ष्य लिएकोमा मधेश प्रदेशमा सो लक्ष्य पूरा हुन गर्न नसकेको स्वीकार गर्दै झाले भने ‘शुरुमा खोपको अभाव थियो, पछि खोप पर्याप्त मात्रामा आउन थालेपछि आम मानिसले डरले पनि लगाएको थिएन, तर पुनः संक्रमण दर बढदै गएपछि लगाउन थालेका छन् ।’

पुसको अन्तिम सातादेखि प्रदेशको आठवटै जिल्लामा संक्रमण दर निकै बढदै गएको छ, औसतमा दुई सय संक्रमित थपिन थालेका छन्, शुक्रवार मात्रै १ सय ९९ जनामा संक्रमित थपिएका थिए । प्रदेशमा हाल सक्रिय सङ्क्रमितको संख्या एक हजार ३ सय ९६ पुगेको छ भने पछिल्लो तीन दिनमा कोरोना सङ्क्रमणका कारण तीन जनाको मृत्यु भइसकेको छ ।

यस्तै कोरोना महामारी सुरु भएयता यस प्रदेशमा कोरोना सङ्क्रमणबाट हालसम्म ४० हजार एक सय एक संक्रमित भइसकेको छन भने ३७ हजार ६ सय ६१ जना निको घर फर्किएका छन् । निर्देशनालयको तथ्यांक अनसार एक हजार ४४ को तेश्रो लहरसम्म मृत्यु भइसकेको छ ।

निर्देशक झाले भने ‘कोरोनाको लहर तीव्र रुपमा बढदै गएपनि राज्य संयन्त्र गम्भीर छैन । भारतमा तीव्र रुपमा संक्रमण बढदै गएपनि सीमानाका खुल्ला नै छ, राजनीतिक दलहरुले सभा सम्मेलन गर्दै नै आएका छन र कार्यालयहरुमा भीडभाडलाई नियन्त्रण गर्न सकिएको छैन ।’

कोरोनाको तेस्रो लहर आउन सक्ने जोखिमलाई दृष्टिगत गरी धनुषा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले स्वास्थ्य सतर्कतामा कडाइ गर्ने निर्णय गरेको छ । भारतीय सीमासँगै जोडिएको सीमानाकामा हेल्थ डेक्स स्थापना गरी एन्टिजेन विधिबाट स्वास्थ्य जाँच गर्न निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन् । 
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x