मधेश

'मधेश' प्रदेश नामले राजनीतिक तथा भौगोलिक क्षति भएकाे दाबी

सुभाष कर्ण |
माघ ५, २०७८ बुधबार ९:४१ बजे

जनकपुरधाम- प्रदेश २ को नाम मधेश प्रदेश कायम भएकोमा एकातर्फ खुशीको माहौल रहेको छ भने अर्कोतर्फ यसको विरोधको पनि स्वर सुनिन थालेको छ । ८ जिल्लालाई मात्र समेटिएर मधेश प्रदेश कायम गरिएकोमा राजनीतिक र भौगोलिक रुपमा क्षति भएको असन्तुष्टि राजनीतिक स्तरबाट देखिन थालेको छ ।

करिब डेढ दशकदेखि मधेश प्रदेशका लागि १४ जिल्लालाई मधेशमा समाहित गर्नुपर्ने भन्दै संघर्ष भइरहेको थियो । तर, ८ वटा जिल्लालाईमात्रै मधेश प्रदेश भनियाे ।मधेश केन्द्रित राजनीतिज्ञहरु मधेश प्रदेश कायम भएकोमा वर्षौदेखि गर्दै आएको संघर्षको उपलब्धिको रुपमा पहिचान स्थापित गर्न कुनै न कुनै रुपमा सफल भएको , तर राजनीतिक र भौगोलिक रुपमा  ठूलो क्षति भएको दाबी गर्छन् ।


उनीहरुले विभिन्न तीन चरणमा भएको मधेश आन्दोलनको माग 'समग्र मधेश एक प्रदेश'को थियो न कि ८ जिल्लाको मधेशका लागि । राजनीतिक रुपमा गरिएको भौगोलिक नामाकरणले आन्दोलनमा सहभागी १४ जिल्लाका मधेशीसँग अन्याय नै भएको भन्दै तिनीहरुको पहिचान के भन्ने प्रश्न उठाएका छन् ।

ईकागजसँग कुरा गर्दै पूर्व संविधानसभा सदस्य एवं लोकतान्त्रिक पार्टीका नेता डा. विजयकुमार सिंहले हिजोका दिनसम्म केन्द्रीय शासकले मधेश शब्दलाई स्वीकार नगरी घृणाको दृष्टिकोणले हेर्ने अवस्थाबाट संवैधानिक रुपमा पहिचान स्थापित हुनु भावनात्मक रुपमा घाउमा मल्हम लगाउने काम मात्र भएको बताए ।  उनले भने, 'यसले मधेश आन्दोलनका मागमा राजनीतिक र भौगोलिक रुपमा कहीँ न कहीँ क्षति पुर्‍याएको छ ।'

राजनीतिक र भौगोलिक रुपमा कस्तो क्षति भएको प्रसंगमा उनले भने, 'विभिन्न तीन चरणमा भएको मधेश आन्दोलनको प्रमुख माग नै 'समग्र मधेश एक प्रदेश' थियो र शहादत दिने आन्दोलनकारीको नारा पनि त्यही थियो । मधेशलाई ८ जिल्लामा मात्र सिमित गराउनु भनेको राजनीतिक रुपमा पछाडि हटनु हो, आन्दोलनको मागबाट पछि हटनु भनेको अन्याय नै हो।'

डा. सिंहले यी ८ जिल्ला बाहेकका मधेश भूभागका मधेश समुदायलाई पनि हिजोका दिनमा काठमाडौँका शासकहरुले मधेशी भनेर सम्बोधन गर्ने गरेकाे सम्झ‌िए  । अन्य जिल्लाकाहरुलाई आफू मधेशी हुँ भन्नेमा गर्व लाग्थ्यो, तर ८ जिल्लालाई मात्र मधेश स्थापित गरिएपछि तिनीहरुमा मानसिक रुपले मधेशी शब्दबाट दूरी बढाएको छ, उनले भने ।

भौगोलिक रुपमा भन्ने हो भने पुरापूर्व काललेखि रहेको २२ जिल्लाबाट ८ जिल्लामा संकुचित गर्नु भनेको आफैंमा क्षति हो । आउने दिनमा मधेशका ८ जिल्ला बाहेक अन्य १४ जिल्लामा मधेशी भनेर राजनीतिक गर्न संकट उत्पन्न गरेको छ । तिनीहरु कुन पहिचानबाट राजनीति गर्छन आउँदो पुस्ताका लागि समस्या खडा गरेको छ । आन्दोलनमा सहभागीहरुलाई ८ जिल्लाको मधेश प्रदेश स्वीकार्य हुदैंन ।

यति मात्र होइन सांस्कृतिक रुपमा विगतमा मिथिला, अवध, कौशल, पाञ्चाल सहितका भूभागको पहिचान मध्य देश थियो, जुन एउटा राजनीतिक शक्ति पनि थियो, जसलाई स्थापित गर्न समग्र मधेश एक प्रदेशको नारा सहित मधेश आन्दोलनको सुरुवात भएका थियो ।  

त्यस्तै राजनीतिक विश्लेषक रोशन जनकपुरीले ८ जिल्लालाई मात्र समेटेर मधेश प्रदेश कायम गर्नु भनेको मधेश भूभागमा बस्ने अन्य जिल्लाका मधेशी समुदायसँग अन्याय गर्नु हो । उनले भने, 'हिजोका दिनसम्म मधेश प्रदेशका लागि राजनीति आन्दोलन गर्नेहरुले 'सेफ लैडिङ्ग' गर्न खोजेका हुन्, यसले मधेश आन्दोलनको माग सम्बोधन गरेको देखिदैंन ।'

८ जिल्लालाई मात्र सिमित गरी मधेश प्रदेश बनाउनु भनेको मधेश शब्दलाई स्थापित गर्न खोजिएको हो । तर मधेश भूभागको अन्य जिल्लाका मधेशी समुदायसँग अन्याय नै हो, अब उनीहरुको राजनीतिक पहिचान के भन्ने प्रश्न उठेको छ । मधेश प्रदेश शब्दले यी ८ जिल्लामै विरोधका स्वरहरु उठन थालेको छ, यसले भोलिका दिनमा यी प्रदेश भित्रै विभिन्न पहिचान खोज्नेहरु आन्दोलनमा उठ्ने अवस्था उत्पन्न गरेको छ ।

मधेश आन्दोलनकै माग थियो त्यसलाई स्थापित गर्नु बाध्यता रहेको राजनीतिक दलहरु भन्दै आएका छन् नि भन्ने प्रश्नमा जनकपुरीले भने, 'यी ८ जिल्ला बाहेकका मधेशी समुदायले पनि त आफ्नो पहिचानकै लागि आन्दोलनमा होमिएका थिए । तिनीहरुको पहिचान अब के, आउने दिनमा उनीहरु आफ्नो विकल्प खोज्न अर्को आन्दोलनमा जान सक्छ । आन्दोलनको मर्म अनुरुप प्रदेशको नाममा मधेश नै राख्नु पर्ने थियो भने मिथिला भोजपुरा मधेश, मध्य मधेश लगायतका नाम राखेर तत्कालका लागि वैकल्पिक बाटो रोज्न सकिन्थ्यो ।'  

यस सन्दर्भमा पूर्वमन्त्री जेपी गुप्ता भन्छन, 'प्रदेश २ को नामाकरण “मधेश प्रदेश” हुनु थोरै सन्तोषको बिषय हो। यसलाई पहिचानको मान्यताका लागि भएका आन्दोलनहरूको सायद यो एक पछिल्लो सानो उपलब्धिकाे रूपमा लिन सकिन्छ, तर मधेश आन्दाेलनकाे माग पूरा भएकाे भन्न मिल्दैन, याे ठूलै राजनीतिक क्षति हाे ।'

उनले भने, 'मधेश आन्दोलनले २०६३ को अन्तरिम संविधानमा नेपालका पूर्व-पश्चिम गरी दक्षिण तर्फका २२ जिल्लाहरूलाई “मधेश” भनिने मान्यतालाई स्थापित गरेको थियो।' 

यदि त्यस यथार्थलाई साक्षी राखेर भर्खरै नामाकरण गरिएको प्रदेशलाई हेर्ने हो भने, यसले कतिकाे माग पुरा भयाे भने मूल्यांकन गर्न सकिन्छ । वर्तमान नामाकरण जसपा र लोसपा जस्ता मधेशी दलहरूले आज पर्यन्त जुन जघन्य गल्तीहरू गरेर आएका थिए, त्यसबाट निर्लज्ज अनुहार छोप्ने “लाजको टालो” हो यो मधेश प्रदेशकाे नामाकरण।

यस्तै नेकपा एकीकृत समाजवादीका नेता रामचन्द्र झाले जनकपुरधाम राजधानी भएकोमा पुरातन अधिकार स्थापित गरेको बताए । तर मधेश प्रदेश नामले मधेशीहरु बीचमै असन्तुष्टि उत्पन्न गरेको छ, यसबाट म सन्तुष्ट छैन ।

उनले पनि ८ जिल्लामा सिमित हुनु भनेको राजनीतिक र भौगोलिक रुपमा मधेशी समुदायका लागि क्षति भएकाे बताए । यसको विकल्प खोज्न सकिन्थ्यो तर राजनीतिक रुपमा प्रयास गरेको देखिदैंन । तर लोसपाका नेता एवं पूर्व राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लाल भने मधेश प्रदेश नामले अन्य जिल्लाका मधेशी समुदायको पहिचानमा कुनै आघात नपुगेको दाबी गर्छन । 

उनले भने, 'यी ८ जिल्ला मधेश प्रदेश हुँदै अन्य जिल्लाको मधेशी समुदाय मधेशी होइन भन्न मिल्दैन, उनको पहिचान कायम नै रहनेछ ।' मधेश आन्दोलबाट उठेका माग स्थापित भएको दाबी गर्दै उनले अन्य जिल्लावासीले पनि यसमा गर्व गर्नुपर्ने बताए । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x