मधेश

मधेशमा तीन महिनामै सय बढी मानव अधिकार उल्लंघनका घटना

सुभाष कर्ण |
जेठ २२, २०८० सोमबार १७:२ बजे

सांकेतिक तस्बिर

जनकपुरधाम- मधेश प्रदेशमा सन् २०२३ को सुरुको तीन महिनामै एक सयभन्दा बढी मानव अधिकार उल्लंघनका घटनाहरू भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनकपुरधाममा सार्वजनिक गरेको त्रैमासिक रिपोर्टको तथ्यांक अनुसार पुस १७ देखि चैत १७ गतेसम्म तीन महिनामा एक सय १४ वटा मानव अधिकार उल्लंघनका घटनाहरू घटेका हुन् । जसमध्ये ९४ जना महिला र २० जना पुरुष पीडित रहेका छन् ।


यस अवधिमा ६ महिलासहित ९ जनाको हत्या गरिएको इन्सेकले जनाएको छ । यी हत्याहरू अन्य पक्षबाट भएको इन्सेक मधेशका संयोजक राजु पासवानले बताए । त्यस्तै २४ बालिका र १ बालक गरी २५ बालबालिका पीडित भएका छन् । जसमा १८ जना बलात्कार, ४ यौन दुर्व्यवहार र ३ बालविवाहमा पीडित भएका हुन् ।

यस्तै यो अवधिमा ६२ जना महिलाहरू महिला अधिकारका घटनामा पीडित भएका छन् । यी १४ जना महिला बलात्कार घटना, ८ बलात्कार प्रयास, १ यौन दुर्व्यवहार, २४ घरेलु हिंसा र १ जना बोक्सी आरोपको घटनामा पीडित भएका हुन् ।

इन्सेकको यो तथ्यांकले मधेशमा मानव अधिकार उल्लंघनका घटनाहरूमा कमी नआएको देखिन्छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x