मधेश

मधेश सरकार पाँचौँ पटक विस्तार, लोसपाबाट कुर्मी बने मन्त्री

सुभाष कर्ण |
जेठ ११, २०८० बिहीबार २०:२० बजे

जनकपुरधाम- मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेश सरकार पाँचौँ पटक विस्तार गरेका छन् । मधेश सरकारमा  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको सहभागितासँगै मन्त्रिपरिषद विस्तार भएको हो ।

लोसपाले पर्साको निर्वाचन क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीलाई सरकारमा सहभागी गराएकाे छ । बिहीबार साँझ उनलाई वन तथा वातावरण मन्त्रीका रूपमा पद तथा  शपथ प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएका छन् ।


कुर्मीलाई मुख्यमन्त्री यादवले आफैँसँग राखेको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन् भने राज्यमन्त्रीको नाम भने लोसपाभित्र टुंगो लाग्न बाँकी रहेको छ । राज्यमन्त्रीको नामपछि टुंगो लाग्ने बताइएको छ ।

यसअघि लोसपा मन्त्रिपरिषद विस्तार गर्दा माओवादी केन्द्र, जनमतसँगै लोसपासहित सत्तारूढ गठबन्धन दलका सरकार विरुद्धमा उत्रेकाे थियाे । लोसपा संसदीय दलका नेता अभिराम शर्मा दुई मन्त्रालयको माग गर्दै सरकार विरुद्धको मोर्चामा गएका थिए । उनी सरकार विरुद्धमै रहेका बेला प्रदेश अध्यक्ष जितेन्द्र सोनलले एउटै मन्त्रालयमा सहमति जनाई आफ्ना निकटका प्रदेश सभा सदस्य कुर्मीलाई मन्त्री बनाएका छन् ।

सत्तारूढ गठबन्धनको बैठकले मधेशमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएसँगै पहिलो चरणमा जसपाले सरकारको नेतृत्व गरिरहेको छ । यसअघि मंगलबार मुख्यमन्त्री यादवले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराई चौथोपटक मन्त्रिपरिषद विस्तार गरेका थिए ।
मधेश सरकारमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र वीरेन्द्रप्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नेकपा एकीकृत समाजवादीबाट गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेका छन् ।

मुख्यमन्त्री यादवले गृह, सञ्चार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय भने अहिले पनि आफूसँगै राखेका छन् । यी दुई मन्त्रालय मध्ये एउटा कांग्रेस र एउटा जनमतका लागि राखिएको बुझिएको छ । अहिले प्रदेश सरकारमा जसपाकी सामाजिक विकास मन्त्री रहेकी सुरिता साह र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनमतका बसन्त कुशवाहा विनाविभागीय मन्त्री बनेका छन् ।

गत २९ पुस २०७९ मा मुख्यमन्त्री यादवसँगै नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले विनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका थिए । मुख्यमन्त्री यादवले १२ माघमा विनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकेका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x