मधेश

मधेश सरकार विस्तार

कांग्रेसका २ र नेकपा (एस) का एक मन्त्रीले लिए शपथ

सुभाष कर्ण |
जेठ ९, २०८० मंगलबार १५:४७ बजे

जनकपुरधाम । लामो रस्साकस्सी र विवादका बीच मधेश प्रदेश सरकारको मन्त्रिपरिषद विस्तार भएको छ । ६ दलीय गठबन्धनमा ३ दलको असन्तुष्टिका बीच मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री यादवले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराएर मन्त्रीमण्डल विस्तार गरेका हुन् । 

एमाले सरकारबाट बाहिरिएको दुई महिनापछि मुख्यमन्त्री यादवले कांग्रेस र नेकपा एकीकृत समावादीलाई सरकारमा सहभागी गराएपनि अझै मन्त्रिमण्डलले पूर्णता पाएको थिएन । नेपाली कांग्रेसबाट २ र नेकपा एकीकृत समाजवादी पार्टीबाट एकजनाले मन्त्री पदको शपथ लिएसंगै मन्त्रीमण्डल विस्तार भएको हो । 


मंगलबार नेपाली कांग्रेसबाट कृष्ण यादवले भौतिक पूर्वाधार तथा विकास र विरेन्द्र सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा नेकपा एकीकृत समाजवादी पार्टीबाट गोविन्दबहादुर न्यौपानेले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको शपथ ग्रहण गरेका छन् । 

नेपाली कांग्रेसका सिंहलाई जसपाबाट सुरिता साहले सम्हाल्दै आएको मन्त्रालय र नेकपा एकीकृत समाजवादीका न्यौपानेलाई जनमतका वसन्त कुश्वाहाले सम्हाल्दै आएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको हो । हाल जसपाकी सुरिता साह र जनमतका बसन्त कुशवाहा बिना विभागीय मन्त्री भएका छन् ।

गठबन्धन दलभित्रै असन्तुष्टि बढ्दै

दुई/दुई वटा मन्त्रालयको माग गर्दै आएका गठबन्धनका घटक दलहरु माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी असन्तुष्ट भएको छ । माओवादी केन्द्रले त सरकारलाई समर्थन यथfवत राख्दै मधेस सरकारबाट बाहिरिने निर्णय समेत गरिसकेको छ । 

केन्द्रमा गठबन्धनले गरेको निर्णय अनुसार मुख्यमन्त्री सरोजकुमार यादव नहिडेको आरोप लगाउँदै माओवादी केन्द्र मधेस प्रदेशको संसदीय दलको बैठकबाट सरकारमा नबस्ने निर्णय गरेको हो । जनमतले यसअघि नै दूईवटा मन्त्रालय पाएकोमा एउटा मन्त्रालय खोसिएपछि असन्तुष्ट भएका छन् ।

सोमबार बसेको ६ दलीय गठबन्धनमा कांग्रेसले ४, लोसपा, जनमत र माओवादी केन्द्रले दुई/दुई मन्त्रालयको प्रस्ताव गर्दा बैठक निष्कर्षविहिन भएको थियो । तर आज बिहान फोन मार्फत मुख्यमन्त्रीसँगको सम्वादमा कांग्रेसले तत्कालका लागि दुई र नेकपा एसले एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने सहमति जनाएपछि अन्य ३ घटक दल लोसपा, जनमत र माओवादी केन्द्र असन्तुष्ट भएका छन् ।

उनीहरुले माओवादी केन्द्र दलका नेता भरतप्रसाद साहले भने ‘केन्द्रमा हामीलाई दुई वटा मन्त्रालय दिने सहमति भएको थियो तर अहिले आएर एउटा मन्त्रालय दिन सक्ने बताउँदैछन, त्यसैले हामी सरकारमा बस्नुको औचित्य नररहेको ठानेर सरकारबाट फिर्ता भएका छौं ।’ 

लोसपा र जनमत असन्तुष्ट भए पनि सरकारमा सहभागी हुने नहुने बारे कुनै प्रतिक्रिया जनाएको छैन । उनीहरुको बैठक जारी नै रहेकाले सरकारमा जान सक्ने पनि सम्भावना रहेको बताइएको छ । 

यता ३ घटक दलको असन्तुष्टि बारे मुख्यमन्त्री सरोज कुमार यादवले कुनै दल असन्तुष्ट नरहेको दाबी गरेका छन् । उनले भने माओवादी सरकारबाट फिर्ता भएको बारे हामीलाई कुनै जानकारी छैन । लोसपाको महन्थ ठाकुरले एउटै मन्त्रालय लिएर सरकारलाई सहयोग गर्ने कुरा भइसकेको बताए ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x