मधेश

मधेश सरकारबाट जनमत नबाहिरिने

इकागज |
चैत १७, २०७९ शुक्रबार २१:४५ बजे

जनकपुरधाम- सीके राउत नेतृत्वको जनमत पार्टीले संघीय सरकारबाट राजीनामा दिए पनि मधेश प्रदेश सरकारबाट नबाहिरिने भएको छ ।

गत माघ ११ गते केन्द्र सरकारमा खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी पाएका सो पार्टीका नेता अब्दुल खानले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'समक्ष राजीनामा बुझाएसँगै जनमत पार्टी सरकारबाट बाहिरिएको हो ।


जनमत पार्टीको मधेश प्रदेशका संसदीय दलका नेतासमेत रहेका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले प्रदेश सरकारबाट जनमत पार्टी अहिले नबाहिरिने बताएका हुन् । उनले भने, ‘प्रदेशमा भने अहिले हाम्रो पार्टीको समर्थन कायमै रहने छ । केन्द्रको अहिलेसम्म कुनै निर्णय नआएकाले हाम्रो समर्थन जारी छ र सरकारबाट बाहिरिने त्यस्तो कुनै कुरा पनि छैन । केन्द्रीय निर्देशन आएपछि मात्रै हामी सरकारमा बस्ने कि बाहिरिनेछौं ।'

१०७ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा जनमत पार्टीका प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी १३ जना सांसद छन् ।

मधेश सरकारमा हाल जनमतका दुई मन्त्री, एक राज्यमन्त्री र उपसभामुख रहेका छन् । मधेश प्रदेशमा जनमतबाट समानुपातिक सांसद वसन्त कुशवाहा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, सप्तरी २ (ख) बाट निर्वाचित महेशप्रसाद यादव शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री र सिरहा २ (क) बाट निर्वाचित सञ्जयकुमार यादव राज्यमन्त्री छन् ।


Author

थप समाचार
x