मधेश

एसईई परीक्षाका लागि मधेश प्रदेशमा सम्पूर्ण तयारी पूरा

इकागज |
चैत १६, २०७९ बिहीबार १६:५९ बजे

फाइल तस्बिर

काठमाडौँ- मधेश प्रदेशमा​ एसईई परीक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

गत दुई आर्थिक वर्षमा कोरोना महामारीको संक्रमणका कारण प्रभावित भएको एसईई परीक्षालाई मर्यादित बनाउन लागि मधेश सरकारले तयारी पूरा गरेको जनाएको हो । चैत १७ गतेदेखि देशभर एसईई परीक्षा सुरु हुँदैछ । मधेश प्रदेशका शिक्षा निर्देशनालयका निर्देशक चूडामणि फुयाँलले मधेशमा यस पटकको एसईई परीक्षामा कूल २ सय ७९ परीक्षा केन्द्रमा ७९ हजार ९४ परीक्षार्थीहरू सहभागी हुने बताए ।


उनका अनुसार मधेश प्रदेशमा सबैभन्दा बढी धनुषाबाट ४३ परीक्षा केन्द्रमा १२ हजार १ सय ४६ परीक्षार्थी सहभागी हुनेछन् भने सबैभन्दा कम रौतहटमा ३५ परीक्षा केन्द्रमा ८ हजार ९ सय ५७ परीक्षार्थीले परीक्षा दिने छन् ।

त्यस्तै सप्तरीमा ३६ परीक्षा केन्द्रमा ९ हजार ५ सय २७, सिरहामा ४० परीक्षा केन्द्रमा १० हजार १ सय ५०, महोत्तरीमा ३१ परीक्षा केन्द्रमा ९ हजार ५४, सर्लाहीमा १० हजार ९ सय १६, बारामा ३२ परीक्षा केन्द्रमा ९ हजार १ सय ७९ र पर्सामा २५ परीक्षा केन्द्रमा ९ हजार १ सय ६५ परीक्षार्थी सहभागी हुने छन् । मधेश प्रदेशमा परीक्षालाई मर्यादित बनाउनका लागि ७ हजार ५ सय ७९ जनशक्ति खटाइनेछ ।

परीक्षा केन्द्रहरूमा सुरक्षाकर्मी समेत परिचालन गरिने मधेश प्रदेश सरकारले जनाएको छ ।

मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश यादवले मधेशमा एसईई परीक्षालाई मर्यादित, भयरहीत र अनुशासित बनाउनका लागि मधेश सरकारले हरसम्भव प्रयास गर्ने बताए । उनले प्रदेशका ८ वटै जिल्लाका शिक्षा समन्वय इकाइका प्रमुखहरू, ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा निकायका पदाधिकारीहरूसँग समन्वय तथा छलफल गरिएको र सबै प्रतिनिधिहरूले परीक्षामा कडाइ गर्नुपर्ने माग गरेको बताए ।

मधेशमा यसअघि नक्कल गरेर (चिट चोरेर) परीक्षा उत्तीर्ण गर्ने परिपाटी बढ्दै गएको आरोप लागेपछि मधेश प्रदेशले यस पटकको एसईई परीक्षामा चिट चोर्ने परिपाटीको अन्त्य गर्ने र परीक्षाको बेला सरकारी विद्यालय खोज्ने निजी विद्यालयको कदम अन्त्य गर्ने मन्त्री यादवले बताए ।


Author

थप समाचार
x