मधेश

राराब क्याम्पस स्ववियु निर्वाचन समितिको कार्यालयमा तालाबन्दी

सुभाष कर्ण |
चैत १४, २०७९ मंगलबार १८:४१ बजे

जनकपुरधाम- जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिएको छ ।

गत चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा समानुपातिक सूचीमा रहेको नाम छनोट प्रक्रिया विधानसम्मत तरिकाले नगरिएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) का असन्तुष्ट विद्यार्थीहरूले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका छन् ।


स्ववियु सभापति यादवले विधान निमयविपरीत बरियताक्रमलाई मिच्दै समानुपातिक सूचीमा रहेकाहरूको नाम आफू अनुकूल मनोमानी तरिकाले आफ्नो आसेपासेका चार जनाको नाम सिफारिस गरेको भन्दै नेविसंघबाट सदस्य पदका समानुपातिक उम्मेदवारहरूले तालाबन्दी गरेका हुन् ।

सदस्यतर्फ नेविसंघले चारवटा समानुपातिक सिट पाएकोमा सभापति यादव र नेविसंघका अन्य केही व्यक्तिहरूले मिलेर बरियताक्रमलाई मिच्दै दुई नम्बरमा आफ्नो नाम रहे पनि आफूलाई हटाएर त्यस ठाउँमा सूचीको ८ औं नम्बरमा रहेकी मनिषाकुमारी यादवको सिफारिस गर्न लगाएको सदस्य पदका उम्मेदवार सुशील अधिकारीले आरोप लगाएका छन् ।

उनका अनुसार १ नम्बरमा नाम रहेका राजेशकुमार कर्ण, ४ नम्बरमा नाम रहेका उमेशकुमार मण्डल, ८ नम्बरमा नाम रहेका मनिषाकुमारी यादव र ९ नम्बरमा नाम रहेका दिपेन्द्र राउतको नाम सिफारिस गरिएको छ । उनले ३ नम्बरमा नाम रहेका रञ्जना यादव, ५ नम्बरमा नाम रहेका युगान्धार बाबु साह, ६ नम्बरमा नाम रहेका दीपेन्द्र साह, ७ नम्बरमा नाम रहेका वाल्मिकीकुमार साह र १० नम्बरमा नाम रहेका राम नविन राय अमात्यको नाम बरियताक्रमलाई मिचेर हटाइएको भनी विरोध जनाएका छ्न् ।

यसैबीच, उनीहरूले निर्वाचन समिति प्रमुख रेमन्त मोरबैतालाई बरियताक्रम अनुसार सिफारिस नगरिएसम्म समानुपातिक नामावलीको नाम प्रकाशन नगर्न आग्रह गर्दै निवेदन समेत बुझाएका छन् ।

निवेदनमा नेपाल विद्यार्थी संघको समानुपातिक सूचीमा इकाइ कमिटीमा विवाद देखिएकाले नेविसंघको केन्द्रीय कार्यसमितिको निर्णय नआउन्जेलसम्म नाम प्रकाशन नगर्न आग्रह गरिएको भनिएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x