मधेश

राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरिएको ‘ताम्रपत्र’ फिर्ता

सुभाष कर्ण |
माघ २५, २०७९ बुधबार १८:५५ बजे

जनकपुरधाम- जनकपुरधामस्थित जानकी मन्दिरले भारतकाे अयोध्यास्थित राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरिएको ‘ताम्रपत्र’ फिर्ता गरिएको छ । 

नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएका देवशिला (शालीग्राम पत्थर) साे राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरिएसंगै जानकी मन्दिरकाे तर्फबाट दिइएकाे 'ताम्रपत्र’ फिर्ता गरिएको जनाइएकाे हाे ।


गत बुधबार राति भारतको उत्तर प्रदेशस्थित अयोध्या पुर्‍याएर बिहीबार राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरिएको देवशिलासँगै जानकी मन्दिरको तर्फबाट ताम्रपत्र पनि प्रदान गरिएको थियो ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवलाई जानकारी नै नदिई आफूलाई मन्दिरको उत्तराधिकारी महन्थ बताउने रामरोशन दासले सो ताम्रपत्रमा महन्थ रामतपेश्वर दास वैष्णवसँगै आफ्नो नाम पनि लेखेर राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरेको जानकी मन्दिरका मुख्य पुजारी मनोजकुमार झाले बताए ।

पुजारी झाका अनुसार रोशन दासले आफ्नो इच्छाले सो ताम्रपत्र ट्रस्टलाई प्रदान गरेको र त्यसमा मुख्य व्यक्तिको मात्रै नाम हुनुपर्नेमा उनले आफ्नो नाम पनि लेखेकोले अस्वीकार गर्दै फिर्ता गरिएको हाे । ‘जहाँ मान महन्थको नाम छ त्यहाँ उत्तराधिकारीको नाम लेख्नुपर्ने कुनै आवश्यकता नै छैन,' उनले भने, ‘पूर्व योजना बिना नै रामरोशनले आफ्नो इच्छाले ताम्रपत्र हस्तान्तरण गरेका थिए ।'

यस्तो ऐतिहासिक कामका लागि रोशनले मान महन्थसँग समन्वय गरेर काम गर्नुपर्नेमा उनलाई कुनै जानकारी नै नदिई आफू अनुकूल मनोमानी तरिकाले काम गरेकाे आरोप लागेकाे बताउँदै साे फिर्ता गरिएकाे उल्लेख गरे ।

अयोध्यामा निर्माणाधीन राम मन्दिरमा भगवान् रामको मूर्ति बनाउन कालीगण्डकी नदीबाट उत्खनन गरिएको उक्त देवशिला अयोध्या पुर्‍याइएपछि विशेष समारोहका बीच माघ १९ गते श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरिएको थियो ।

यता, यस सम्बन्धमा आफूलाई कुनै जानकारी नरहेको उत्तराधिकारी महन्थ रामरोशन दासले बताए । उनले देवशिलासँगै आफूले ताम्रपत्र पनि हस्तान्तरण गरेर तुरुन्तै त्यहाँबाट फर्केकाले ताम्रपत्र फिर्ता भएकोबारे आफूलाई कुनै जानकारी नरहेको बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x