मधेश

नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान

इकागज |
माघ २४, २०७९ मंगलबार १४:११ बजे

बारा- छिमेकी नाबालिकालाई बलात्कार गरेको अभियोगमा निजगढ नगरपालिका-२ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई बारा जिल्ला अदालतले मुद्दाको पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ । आदेशानुसार प्रहरीले उनलाई वीरगन्ज कारागार चलान गरेको छ । 

कारागार चलानसँगै वडा अध्यक्षको पद स्वतः निलम्बित भएको जिल्ला सहन्यायधिवक्ता भीमसेन काफ्लेले बताए । थुनामा रहँदासम्म उनी निलम्बित रहने कानुनी व्यवस्था छ ।


पहिलो सुनुवाइ हुँदा थुनछेक बहसको क्रममा कसुरदार देखिएकोले हाललाई पुर्पक्षमा पठाउने आदेश भएको उनले बताए । ६ नम्बर इजलाशकी न्यायाधीस तारादेवी महर्जनको आदेशले अभियुक्त श्रेष्ठ थुनामा गएका हुन् । 

जिल्ला सरकारी वकिलको कार्यालयले अभियुक्त श्रेष्ठलाई कसुर गरेअनुसारको १२ देखि १४ वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्ति भराउने माग दाबी गर्दैै अदालतमा अभियोगपत्र दर्ता गराएको थियो । बलात्कार आरोप लागेका अभियुक्त श्रेष्ठ तीन महिनादेखि फरार रहेका थिए । 

गत असोज १९ गते छिमेककी १४ वर्षीय एक किशोरीलाई घरमै बोलाएर बलात्कार गरेको आरोप लगाउदै पीडित किशोरीले असोज २५ मा उनीविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । 

उजुरीपछि प्रहरीले किशोरीको असोज २५ नै कलैया अस्पतालमा स्वास्थ्य परीक्षण गराइ जबर्जस्ती करणी मुद्दा दर्ता गरेर बारा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो । 

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सञ्जीव ओलीकाअनुसार आरोपित श्रेष्ठले बाहिर बस्दा पनि असुरक्षित महसुस गरेर पुष १६ मा आफैँ प्रहरीको सम्पर्कमा आएका थिए । 

श्रेष्ठलाई हिरासतमा राखेर जबर्जस्ती करणी मुद्दाअन्तर्गत अनुसन्धान थालिएको निजगढ प्रहरीले अदालतबाट ३ पटकसम्म म्याद पाएको थियो । 

श्रेष्ठको अनुसन्धानमा पहिलो पटक ७ दिन, दोस्रो पटकको लागि १० दिन र तेस्रो पटक ६ दिनको म्याद पाएको प्रहरीले अनुसन्धान प्रक्रिया टुङ्ग्याएर सरकारी वकिलको कार्यालयमार्फत श्रेष्ठलाई सोमबार अदालतमा पेस गरेको थियो ।
 


Author

थप समाचार
x