मधेश

बारामा सबैभन्दा बढी कुष्ठरोगी

सुभाष कर्ण |
माघ १५, २०७९ आइतबार २०:४६ बजे

जनकपुरधाम- मधेश प्रदेशको बारा जिल्ला सबैभन्दा बढी कुष्ठरोगी भएकाे जिल्ला बनेकाे छ ।

७० औँ विश्व कुष्ठरोग दिवसको अवसरमा आइतबार स्वास्थ्य निर्देशनालय जनकपुरधामद्वारा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार कूल रोगी संख्याको ४० प्रतिशत मधेश प्रदेशमै रहेको छ ।


स्वास्थ्य निर्देशनालय कुष्ठरोग, क्षयरोग तथा एचआईभी एड्स शाखाका प्रमुख राजवीर यादवले चालू आर्थिक वर्ष २०७९/८० मा नेपालमा २ हजार २८५ नयाँ कुष्ठरोगी रहेकोमा मधेश प्रदेशमा मात्रै ९१० जना कुष्ठरोगीका बिरामी रहेको जानकारी दिए ।

उनका अनुसार प्रदेशमा सबैभन्दा बढी बारा जिल्लामा कुष्ठरोगीको संख्या रहेको छ भने पर्सा दोश्रो र रौतहट तेश्रो स्थानमा रहेको तथ्यांकले देखाएको छ । बारामा प्रति दश हजारमा २ जनाको हाराहारीमा रहेको छ । बारामा ६ सय १३, पर्सामा ५ सय ४१ र रौतहटमा ५ सय ३८ कुष्ठरोगीको नयाँ केश फेला परेको हो ।

उनले उल्लेखित संख्याभन्दा बढी कुष्ठरोगी रहे पनि सामाजिक विभेद, घृणाका कारण अस्पताल जाने वातावरण नरहेकाले वास्तविक संख्या पत्ता लगाउन समस्या रहेको बताए ।

सरकारी तथ्यांकअनुसार देशभरका १६ जिल्लाहरूमा कुष्ठरोग प्रति १० हजार जनसंख्यामा १ भन्दा धेरै बिरामी रहेको स्थिति छ । जसमा बाँके, सर्लाही, झापा, बर्दिया, महोत्तरी, धनुषा, मोरङ, सिरहा, कैलाली, रुपन्देही, कपिलवस्तु, रौतहट, पर्सा, अछाम, नवलपरासी पश्चिम र बारा रहेका छन् । मधेश प्रदेशको सप्तरीबाहेक सबै जिल्लामा अहिले कुष्ठरोगका बिरामी रहेको तथ्यांक छ ।

‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मूल नाराका साथ धनुषाको सपहीमा सम्पन्न विश्व कुष्ठरोग दिवस कार्यक्रममा सहभागी लालगढ कुष्ठरोग सेवा केन्द्रका उपनिर्देशक डा. कृष्णबहादुर तामाङ्गले कुष्ठरोगीलाई उपचार मात्रै नभई सामाजिक सहयोग समेत आवश्यक रहेको बताए ।

लालगढ कुष्ठरोग अस्पताल तथा सेवा केन्द्रले अहिले दैनिक चार सय छालाका रोगी तथा कुष्ठरोगीको उपचार गर्दै आएको छ । उपनिर्देशक तामाङ्गले लालगढ अस्पतालले ९२ शैयामार्फत छाला तथा कुष्ठरोगीका बिरामीको उपचार गर्दै आएको जानकारी समेत दिए ।

एनआरएल नेपालले कुष्ठरोग नियन्त्रण (पेप प्लस प्लस) कार्यक्रम अन्तर्गत महोत्तरी र धनुषा जिल्लाका ३३ स्थानीय तहमा कुष्ठरोगका बिरामीसँगका सम्पर्क व्यक्तिको पहिचान गर्नुका साथै उनीहरूलाई सचेतनामूलक कार्यक्रम तथा औषधि वितरण गर्दै आएको छ ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x