मधेश

दुई परिवारबीच जग्गा विवाद : एकको हत्या, तीन घाइते

सुभाष कर्ण |
मंसिर १६, २०७९ शुक्रवार १३:२ बजे

जनकपुरधाम- दुई परिवारबीचको आपसी विवादमा धनुषामा एक व्यक्तिको हत्या भएको छ । जिल्लाको मिथिला बिहारी नगरपालिका-४ रमौलमा दुई परिवारबीच भएको विवादमा घरेलु हतियार प्रहारबाट स्थानीय ५३ वर्षीय प्रभु यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

बिहीबार राति साढे ९ बजेको समयमा मृतक प्रभु यादव र छिमेकी सुरज यादवको  परिवारबीच जग्गा सम्बन्धी विवाद हुँदा घरेलु हतियार प्रहारबाट उनको मृत्यु भएको जिप्रका धनुषाका प्रवक्ता डिएसपी दिपक रायले बताएका छन् । 
विवादको क्रममा सुरज यादव परिवारको समूहले घरेलु हतियार प्रहार प्रभु यादवको मृत्यु भएको र सो घटनामा परेर ३ जना घाइते समेत भएका छन् । घाइते हुनेहरूमा प्रभुका जेठो छोरा जगरनाथ यादव, माहिलो छोरा सन्तोष यादव र कान्छो आशोक यादव रहेका छन् ।


सन्तोष यादवको टाउकोमा १८ वटा टाँका लगाइएको छ भने एउटा हातका दुईवटा औँला काटिएका छन् । उनीहरूको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको अनुसन्धान भइरहेको छ भने प्रहरीले सोधपुछका लागि ६ जनालाई पक्राउ समेत गरेका छन् । वास्तविक दोषी पता नलागेको कारण पक्राउ गरेकाहरूको पहिचान प्रहरीले खुलाएको छैन । 

यता घटनाबारे मृतक प्रभुका छोरा अशोकले भने  'राति करीब साढे ८ बजेतिर घरमा खाना खाएर बुबा दैलोमा आगो ताप्‍न बसेको बेला सुरज यादवसहित १० जनाको समूहले बञ्चरो, खुकुरीसहित आक्रमण गर्दा चिच्याउनुभयो । हामी आगनबाट दौडेर आउँदा हामीमाथि पनि आक्रमण गर्न गर्‍यो । बुबाको त्यहीँ मृत्यु भयो । हामी घाइते भयौँ ।' के कति कारणले हामीमाथि आक्रमण गरिएको थाहा जानकारी नभएको बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x