मधेश

प्रचण्ड र नेपालसँग वाम गठबन्धन हुन सक्दैन : महासेठ

सुभाष कर्ण |
मंसिर १६, २०७९ शुक्रबार ११:६ बजे

जनकपुरधाम- नेकपा एमालेका सचिव रघुवीर महासेठले सरकार निर्माणका लागि नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीसँग कुनै पनि हालतमा वाम एकता हुन नसक्ने बताएका छन् । सरकार गठनका लागि वामदलहरूबीच समीकरण बनाउने कुरो निराधार रहेको बताए ।

'एमाले दोस्रो ठूलो दल बनेको छ, पाँच दलिय गठबन्धनले के गर्छ त्यसकै प्रतिक्षामा हामी छौँ' महासेठले भने 'त्यसपछि मात्रै मन मिल्ने दलसँग कुरो अगाडि बढाउने छौँ ।'  यद्यपि माओवादी र नेकपा एकिकृत समाजवादीसँग अहिले तालमेल गर्ने हाम्रो कुनै योजना नरहेको बताए । 


शुक्रबार जनकपुरधाममा प्रेस चौतारी धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा सचिव महासेठले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिस्ट नै नभएको बताए । 'कम्युनिस्ट भएका व्यक्ति शेरबहादुर देउवाको शरणमा पर्नै सक्दैनन् । उनीहरूसँग कम्युनिस्ट न त विचार छ न व्यवहार, कम्युनिस्टको नाममा देउवाका दास हुन्' उनले भने ।

पत्रकारहरूको जिज्ञासामा धनुषा ४ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्यसमेत रहेका महासेठले सरकार बनेको तीन महिनाभित्र जन्मसिद्ध नागरिकका छोराछोरीहरूलाई नागरिकता दिने निर्णय नभए देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

उनले भने,  ‘मधेशमा ६/७ लाखको संख्यामा रहेका जन्मसिद्ध नागरिकका छोराछोरीले नागरिकता आभावमा पढ्न पाइरहेका छैनन्, रोजगारबाट वञ्चितलगायतका समस्या भोगिरहेकाले अविलम्ब नागरिकता पाउनुपर्छ । यदि तीन महिनाभित्र अब बन्ने सरकारले निर्णय गरेन भने नेकपा एमालेको नेतृत्वमा हामी मधेशभरि नै आन्दोलन गर्छौं ।'


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x