मधेश

मधेश लोक सेवा आयोगको अवस्था भद्रगोल, रकम चलखेलमा १२ जनालाई उत्तिर्ण गरेको आरोप

सुभाष कर्ण |
असोज १९, २०७९ बुधवार १८:४२ बजे

जनकपुरधाम- मधेश प्रदेश लोक सेवा आयोगको भद्रगोल अवस्थाले आवेदन दिएका मध्ये १२ जना बढीलाई उत्तिर्ण गरेको पाइएको छ । मधेश प्रदेशद्वारा प्रशासन सेवाअन्तर्गत लिइएको परीक्षामा आवेदन दिएका मध्ये आयोगले आपसी लेनदेन र नातामा पर्ने सहितका १२ जना बढीलाई परीक्षामा सहभागी गराई उत्तिर्ण गरेको आरोप लगाइएको छ ।

प्रशासन एकीकृत समुहतर्फ अधिकृत सातौं तहको गतवर्ष असार ३१ नै निकालेको ९७/०७८/७९ को विज्ञापनमा २ हजार ५ सय ६७ जनाले भरेको आवेदनमा गएको भदौ १८ गते लिइएको प्रथम पत्रको परीक्षामा १२ जना बढी २ हजार ५ सय ७९ रोल नम्बरसम्मकालाई उत्तिर्ण गरेको आयोगले सार्वजनिक  गरेको सूचनामै उल्लेख छ ।
जनकपुरधामकै अलग अलग १३ वटा परीक्षा केन्द्रको परीक्षामा २ हजार ५ सय ६७ जना सहभागी मध्ये  १ हजार १ सय ६६ जना प्रथम पत्रमा उत्तिर्ण भएका छन भने दोश्रो पत्रमा ती मध्ये ८ सय ४९ जना उत्तिर्ण भएका छन ।


थपिएका रोल नं. २५६८, २५६९, २५७०,२५७१, २५७२, २५७३,२५७४, २५७५, २५७६,२५७७, २५७८, २५७९ सम्म रोल नम्वर नतिजामा उल्लेख छ । २५६८ देखि २५७९ सम्मको रोल नम्वर कहाँबाट आयो भन्ने चासोको बिषय बनेको छ ।
प्रथम पत्र उत्तिर्ण गरेका मध्ये लोक सेवा आयोगका पदाधिकारी तथा कर्मचारीहरू रकम चलखेल र आ आफ्ना नातेदार मन्त्रीको कोटा अनुसार परीक्षामा सहभागी नभएकाहरूलाई पनि उत्तिर्ण गरेको आवेदक दिनेश यादवले आरोप लगाएका छन ।

प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादीका प्रदेश प्रमुख सचेतक परमेश्‍वर साहले लोक सेवा आयोग मात्रै होइन प्रदेश सरकार मातहतका सबै निकायमा सरकार मन्त्रीहरूले रकमको चलखेल सहित आ आफ्ना नातेदार पार्टी कार्यकर्ताका सखासन्तानलाई भर्ना पाल्ने उद्देश्यले भद्रगोल अवस्थामा राखेको आरोप लगाएका छन । 

यता प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेन्द्र प्रसाद यादवले रकम चलखेल र मन्त्रीका मान्छेहरूलाई बिना आवेदन र परिक्षाकै उतिर्ण गरेको आरोप गलत रहेको दाबी गरेका छन । उनले भने यो  आरोप सरासर गलत हो, प्राविधिक त्रुटि हुन गएको भन्ने कुरा आफूहरूले पनि महसुस गरेको छु । छुट भएका सबै आवेदकको फाराम र परीक्षा कापी आयोगमा सुरक्षित छ ।

डा. यादवले भने फाराम भरेका मध्ये केहीलाई प्रक्रिया नपुग्दा स्थगनमा राखेका थियौ, सो संख्या अनुसार परीक्षा सेन्टर कायम र सिट प्लानिङ पनि गरियो । तर परीक्षा कै दिन तिनी प्रक्रिया पूरा गरेपछि प्रतिस्पर्धाबाट कोही नछुटुन भन्ने उद्देश्यले तिनीहरूलाई पनि सहभागी गराइयो, हामीले वेभसाइटमा अपडेट सुचना प्रकाशन नगर्दा प्राविधिक त्रुटि हुन गएको हो ।

आयोगका प्रवक्ता गंगेश गुञ्जन झाले परीक्षाको बेला केही आवेदक थपिएकाले नतिजा बढी प्रकाशन भएकोले बढी नतिजा प्रकाशन गरिएको हो, यो त्रुटि भन्दा पनि स्वभाविक हो र  केन्द्रीय लोक सेवा आयोगमा पनि यस्तो व्यवस्था छ ।

उनका अनुसार विज्ञापन अवधिमै फारम भर्दा तोकिएको दस्तुरसमेत तिरिसकेको र केही अपुग कागजपत्र लिखित परीक्षा सन्चालन हुनुभन्दा अगाडि बुझाएमा पनि त्यस्ता परीक्षार्थीलाई परीक्षामा सहभागी हुन दिने केन्द्रीय आयोगमा पनि व्यवस्था छ । लोक सेवा आयोगमा अनियमितता हुनै नसक्ने दाबी गर्दै उनले भने, ‘यदि भएको रहेछ भने पनि अनुसन्धान गर्दा सजिलै पत्ता लागिहाल्छ नै, यदि हामी दोषी ठहरिन्छौ भने सजाय भोग्न तयार छौ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x