मधेश

अनुमतिबिनै सञ्चालित अस्पतालमा सुत्केरीको मृत्यु

पीडित परिवार आन्दोलित, कर्मचारी तथा चिकित्सकहरू फरार

सुभाष कर्ण |
असोज १६, २०७९ आइतबार ११:५६ बजे

जनकपुरधाम- जनकपुरधामस्थित रामानन्द चोकमा दर्ताबिनै सञ्चालित नैना हस्पिटलमा चिकित्सकको लापरबाहीका कारण फेरि एक महिलाको मृत्यु भएको छ ।

नर्मल डेलिभरीमा बच्चा जन्माएकी जनकपुरधाम उपमहानगरपालिका १२ हनुमाननगर निवासी दिलिप मण्डलकी श्रीमती विद्याकुमारी मण्डलको चिकित्सकको लापरबाहीले मृत्यु भएको पीडित परिवारले आरोप लगाएका छन् ।


विद्याको मृत्युपछि पीडित परिवार तथा मृतकका आफन्तहरूले हस्पिटलमा हो हल्ला गरेपछि अस्पतालका कर्मचारी तथा चिकित्सकहरू अस्पताल छाडेर भागेका थिए । अस्पतालमा कोही नभेटिँदा पीडित परिवारले अस्पताल अगाडि तर रामानन्द चोकमा अस्पताल तथा सम्बन्धित निकायविरुद्ध कारबाहीको माग गर्दै टायर बालेर विरोध प्रदर्शन समेत गरेका छन् । प्रदर्शनका क्रममा प्रहरी र मृतकका परिवारबीच सामान्य झडपसमेत भएको छ ।

यस्ताे छ घटना

घटनाअनुसार विद्यालाई प्रसव पीडा हुँदा परिवारले उपचारका लागि भदौ २३ गते नैना हस्पिटलमा भर्ना गराएका थिए । उनको सो हस्पिटलमा २४ गते नर्मल डेलिभरी भयो । शिशुको जन्मपछि विद्याको पाठेघरबाट अत्यधिक रक्तश्राव हुन लाग्दा सो अस्पतालका डा. ईन्द्रमोहन रजकको चिकित्सकीय टोलीले बिरामीको पाठेघर फाटिसकेको भनेर रगत चढाउनु पर्छ भने ।

मृतक विद्याका श्रीमान दिलीपले अस्पतालका चिकित्सकहरूले विद्यालाई ३१ पोका रगत चढाए तर स्वास्थ्य अवस्थामा सुधार आउनुको साटो बिग्रिँदै गएकाे बताए । उनले भने, 'आफूहरूको सहमतिबिना नै उनको पाठेघर नै काटेर हटाइ दिएपछि पाठेघर सम्बन्धी नसा नै फाटेर अवस्था झन बिग्रियो ।' 

'हामीले पटक-पटक हस्पिटलका सञ्चालक डा. बृजमोहन रजक र चिकित्सक ईन्द्रमोहन रजकलाई भन्यौ यहाँ उपचार सम्भव हुँदैन भने रेफर गरिदिनु, यही ठीक भइहाल्छ भनेर बाहिर पनि जान दिएन,' दिलीप थप्दै भने, 'बिरामीको अवस्था देखेर हामीले बलजफ्ति लिएर काठमाडौँ मेडिसिटी अस्पताल लग्यौँ । मेडिसिटीमा बिरामीको अवस्था हेर्ने बित्तिकै चिकित्सकहरूले पहिला त भर्ना लिनै मानेन । पछि अनुरोध गर्दा बचाउने प्रयास गर्छौ भनी भर्ना लियो ।'

नैना हस्पिटलले नै पाठेघर काटेर हटाएको कुरा तपाईले कसरी थाहा पाउनु भो भन्ने जिज्ञासामा दिलीप भने, 'मेडिसिटी अस्पतालमा भर्ना गर्नुअघि नै चिकित्सकहरूले बिरामीको पहिला जुन ठाउँमा उपचार गरिएको लिएका थिए ।'

'२२/२३ दिनकाे उपचारपछि मेडिसिटीले पनि अब यहाँ उपचार सम्भव छैन पहिला जुन ठाउँमा उपचार गरिएकाे थियाे त्यही लग्नुस् भनेर पठाइ दिएपछि यहाँ ल्याउँदा बिरामीलाई पैसाको लोभमा भर्ना गरियो । तर, बचाउने त के उपचार पनि गरेनन् । सोही क्रममा मृत्यु भयाे,' पीडित दिलीपले संचारकर्मीसँग भने ।

उनले दु:खी हुँदै भने, 'नैना अस्पतालले मात्रै सुरुमा १०/११ लाख रुपैयाँ खर्च गराई दियो, मेडिसिटीमा ३० लाख रुपैयाँ गरी करिब ४० लाख खर्चंदा पनि अस्पतालको लापरबाहीले श्रीमतीलाई बचाउन सकेनौँ ।'

सम्बन्धित निकायको लापरबाहीका कारण यस्ता अवैध अस्पतालले कयौं बिरामीको ज्यान लिँदै आएकाे बताउँदै उनले अस्पताललाई कारबाही नभएसम्म आन्दोलन जारी राख्ने जिकिर गरे ।

नैना हस्पिटलको यो पहिलो घटना होइन । यसअघि भदौ १६ गते पनि चिकित्सककै लापरबाहीका कारण एक नवजात शिशुको जन्मिएको दोस्रो दिनमै मृत्यु भएको थियो । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–३ त्रिभुवननगर बस्ने रवीन्द्र साहकी पत्नी चञ्चला देवीले जन्म दिएको शिशुको अस्पतालका चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको थियो ।

दर्ताबिनाको नैना अस्पताल

पटक-पटक चिकित्सकको लापरबाहीले सो अस्पतालसहित जनकपुरधाम स्थित अवैध रूपमा सञ्चालित अस्पतालहरूमा मृत्यु हुने क्रम बढेपनि सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयकाे गुनासाे छ । देश संघीय व्यवस्थामा गएपछि स्वास्थ्य संस्था दर्तादेखि अनुगमन गर्नेसम्मको जिम्मेवारी स्थानीय तहले पाएका छन् । तर, सम्बन्धित स्थानीय तह जनकपुरधाम उपमहानगरपालिकाको स्वास्थ्य संस्थाप्रति देखिएको बेवास्ताका कारण जनकपुरधाम बजारमा डेढ सयभन्दा बढी निजी क्लिनिक तथा अस्पताल अवैध रूपमा संचालित रहेका छन् । अवैध रूपमा सञ्चालित अस्पतालहरूले बिल काट्न कम्पनी रजिष्ट्रारको दर्तामा प्यान नम्बर लिएर संचालन गर्दै आएका छन् ।

ती मध्येका एक अस्पताल हाे नैना हस्पिटल । जसले सम्बन्धित स्वास्थ्य निकायमा दर्ता नै नगरी एक वर्षभन्दा बढी समयदेखि कम्पनी रजिष्ट्रारमा कम्पनी दर्ता गरी डा. बृजमोहन रजकले अस्पताल संचालन गर्दै आएका छन् ।

स्वास्थ्य सम्बन्धी कानुनअनुसार २५ शय्यासम्मका जनरल अस्पतालका लागि सम्बन्धित स्थानीय तहबाट र २५ शय्यादेखि माथिका अस्पतालहरू सम्बन्धित स्थानीय तहको सिफारिसमा प्रादेशिक स्वास्थ्य संरचना वा मन्त्रालयबाट स्वीकृति लिएर मात्र सञ्चालन गर्न पाउने व्यवस्था छ । तर, जनकपुरधामस्थित डा. बृजमोहन रजकले सञ्चालन गरेको नैना हस्पिटल प्रा.लि. कम्पनी रजिष्ट्रारको दर्ताको भरमै ५० शय्याको यो अस्पताल विगत १६ महिनादेखि नै सञ्चालनमा रहेकाे छ । पछिल्लोपटक नवजात शिशुको मृत्युकाे घटनामा विभिन्न संचार माध्यममा समाचार र पीडित परिवारले आवाज उठाए पनि सम्बन्धित निकायले चासो नलिँदा यो दोश्रो घटना हुन गएको पीडित पक्षकाे भनाइ छ ।

अस्पतालको दर्ताबारेमा मधेस प्रदेशको सामाजिक विकास मातहत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयलाई कुनै जानकारी छैन । निर्देशनालयका निर्देशक विजय झाले भने, ‘यो अस्पतालको दर्ता सम्बन्धमा कुनै पनि कागजात आफू कहाँ आएको छैन । अस्पताल सञ्चालनबारे हामीलाई कुनै जानकारी छैन ।’

उता प्रादेशिक स्वास्थ्य उपमहाशाखाले 'हामी व्यवस्थित गर्ने प्रक्रियामा छाैँ' भनी कुरा टालेका छन् । नैना हस्पिटल मात्रै होइन अवैध रूपमा संचालित तराई राजधानी हस्पिटल, सुरक्षा अस्पताल, श्रीराम जानकी हस्पिटल लगायत दर्जनौं अस्पतालमा चिकित्सकको लापरबाहीले मृत्यु हुने क्रम बढ्दो छ ।

प्रत्येक घटनामा पीडित परिवारले हल्ला खल्ला गरेपछि सम्बन्धित अस्पतालले पीडित परिवारलाई क्षतिपूर्ति वापत केही रकम खुवाएर घटना साम्य पार्ने गरेको स्थानीयकाे दाबी छ  । यसपटक पनि डा. रजकले पीडित परिवारलाई केही रकम दिएर घटना सामसुम पार्ने प्रयासमा छन् । तर, पीडित परिवारले कारबाहीको माग गर्दै अडान लिएका छन् ।

यता घटना पश्चात फरार रहेका अस्पतालका सञ्चालक डा. रजक अहिलेसम्म सम्पर्कमा आएका छैनन् । पटक-पटक फोन गर्दा पनि उनले फोन उठाएनन् अस्पतालमा पनि घटनापछि मूल गेटमा ताल्चा लगाई कर्मचारी र चिकित्सक सबै फरार छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x