मधेश

सत्ता गठबन्धन चुनाव सार्ने षडयन्त्रमा लागेकाे एमाले सचिव महासेठको आरोप

इकागज |
असोज १०, २०७९ सोमवार २१:५० बजे

जनकपुरधाम- सत्ता गठबन्धनले चुनावको मिति सार्ने षडयन्त्र गरिरहेकाे आरोप नेकपा एमालेका सचिव रघुवीर महासेठले लगाएका छन् ।

साेमबार नेकपा एमालेको क्षेत्र नम्बर ३ को क्षेत्रीय कार्यालयको उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै सचिव महासेठले चुनावको मिति सार्ने षडयन्त्रमा सत्ता गठबन्धन लागेकाे बताए ।


पूर्वमन्त्री समेत रहेका महासेठले चुनाव सार्ने षडयन्त्र कुनै पनि बहानामा भयो भने त्यो एमाले र नेपाली जनतालाई मान्य नहुने जिकिर गरे । उनले भने, ‘सत्ता गठबन्धनकाे चुनाव सार्ने कोसिस सफल हुँदैन तर सार्ने कोसिस भयो भने नेपाली जनताले गठबन्धनलाई तह लगाउनेछ ।’ 

उनले अगाडि भने, ‘राजतन्त्रलाई फाल्न नेपाली जनतालाई बेर लागेन भने यो गठबन्धनलाई फाल्न के समय लाग्ला र ।’

सचिव महासेठले नागरिकता समस्याको प्रसंगलाई कोट्याउँदै नेकपा एमाले बाहेक कुनै पनि दल यो समस्या समाधानका लागि गम्भीर नरहेको दाबी गरे । उनले नागरिकता समस्या पनि गठबन्धनले श्रृजित गरेकाे आराेप लगाए ।

एमाले कहिले पनि नागरिकता विराेधी नरहेकाे भन्दै २०५१ सालदेखि नै एमाले नागरिकता समस्या समाधानका लागि पहल गर्दै आइरहेको दाबी उनकाे छ । 
साे क्षेत्रीय पार्टी कार्यालय उद्घाटन कार्यक्रममा पूर्वमन्त्री जुलीकुमारी महतो, एमाले नेता शिवशंकर साह, एमाले नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारी लगायतले आ-आफ्ना धारणा राखेका थिए ।


Author

थप समाचार
x