मधेश

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार यादवलाई कामकाजमा रोक

सुभाष कर्ण |
असोज ६, २०७९ बिहिवार २०:१६ बजे

जनकपुरधाम- मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. विनोदकुमार यादवलाई कामकाज गर्नमा उच्च अदालत जनकपुरधामले रोक लगाएको छ । 
बिहीबार उच्च अदालत जनकपुरका न्यायाधीश रामेश्वर रेग्मीको एकल इजलासले दुवै पक्षको छलफलबाट टुङ्गो नलागेसम्म डा. यादवलाई रजिष्ट्रारको हैसियतमा कामकाज नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधामको कार्यालय समेतलाई विपक्षी बनाई जनकपुरधाम बस्ने देवानन्द झाले डा. यादवको नियुक्ति अवैध भनी कामकाजमा रोक लगाउन माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए । प्रस्तुत सो निवेदनसहित मिसिल संलग्न कागजात अध्ययन गरी निवेदक तर्फका वरिष्ठ अधिवक्तात्रय नागेन्द्र लाभ कर्ण, देवेन्द्र ठाकुर निराल र श्यामकुमार मिश्रले बहस गरेका थिए ।


निवेदकले अन्तरिम आदेशको समेत माग गरेकाले सो सम्बन्धमा दुवै पक्षको छलफलबाट अन्तरिम आदेश जारी हुने/नहुने सम्बन्धमा निष्कर्षमा पुग्न उचित हुने भएकाले सो सम्बन्धी छलफलका लागि २०७९ असोज २७ गतेको समय तोकिएको छ ।

दुवै पक्षको छलफलबाट टुङ्गो नलागेसम्म विपक्षी डा. विनोदकुमार यादवलाई रजिष्ट्रारको हैसियतमा काम गर्न नदिनु/नलगाउन भनी विपक्षीमध्ये मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा उपकुलपति रामकेवल साहको नाममा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१)(क) बमोजिम अल्पकालीन अन्तरिम आदेशमा भनिएको छ ।

झाले रजिष्ट्रार पदका मधेश प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमावली २०७८ को परिच्छेद ८ को नियम ८ (१) मा कम्तिमा १० वर्ष चिकित्सकीय अनुभव भएको र ५ वर्ष प्रशासनिक अनुभव भएको तोकिएकामा डा. यादव ती मापदण्ड पूरा नगरेका कारण उनको पद अवैध हुन गएकाले कामकाज रोकसहित नियुक्ति बदर गर्न माग निवेदनमा गरिएको वरिष्ठ अधिवक्ता श्यामकुमार मिश्रले जनाएका छन् ।

हुनत यसअघि पनि डा. अंकुर साह र डा. विनोद यादवलाई कामकाजमा अदालतबाट रोक लगाइएको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x