मधेश

निहारिका बलात्कार आरोप लागेका श्रेष्ठलाई दुर्व्यवहार मुद्दा, थुनामा राख्न आदेश

सुभाष कर्ण |
भदौ १, २०७९ बुधबार २०:१ बजे

जनकपुरधाम - निहारिका राजपुत (सोनाली सिंह) बलात्कार आरोपित भनिएका शिवराज श्रेष्ठलाई थुनामा राख्न आदेश दिइएको छ । श्रेष्ठको पक्राउले प्रहरीलाई निहारिका मुद्दामा अनुसन्धान गर्न बाटो खुलेको छ । प्रहरीलाई दुर्व्यवहार गरिएको मुद्दामा जिल्ला प्रशासन कार्यालय धनुषाले अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको म्याद दिएको छ । 

धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले श्रेष्ठलाई निहारिका मुद्दामा होइन प्रहरीलाई गालीगलौज गरेपछि श्रेष्ठलाई पक्राउ गरिएको र सोही घटनामा अनुसन्धान गर्न ५ दिने म्याद थपिएको बताए । पक्राउ परेका श्रेष्ठ विरूद्ध प्रहरीले अभद्र दुर्व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान थालिसकिएको जानकारी समेत उनले दिए ।


उच्च अदालतमा पेसीका लागि तारिख लिइसकेका व्यक्तिलाई पक्राउ गर्न मिल्छ भन्ने प्रसंगमा प्रवक्ता क्षेत्रीले भने, `तारिख लिइसकेका व्यक्ति अर्को अपराध गरे भने पक्राउ नै नर्गने कुनै कानुनी व्यवस्था छैन । प्रहरीले निहारिका घटनाबारे हिजो सोधपुछ गर्न जाँदा प्रहरीलाई गालीगलौज गरेपछि पक्राउ गरिएको हो ।` 

तर प्रहरी स्रोतका अनुसार न्यायको माग गर्दै निहारिकाले गरेको अनशन र राष्ट्रपति कार्यालय अगाडि आत्मदाह प्रयास घटनाले अधिकारकर्मीहरूको चौतर्फी दबाबले गृह मन्त्रालय तनावमा थियो । मन्त्रालयकै आदेशमा धनुषा प्रहरीले उनलाई पक्राउ गरेको हो । अदालतमा पेसीको कारणले अभद्र व्यवहार मुद्दा दर्ता गरिएको हो ।

पक्राउ परेको बलात्कार आरोपी श्रेष्ठलाई जिल्ला अदालत धनुषाले सफाइ दिएपछि फैसलाविरुद्ध निहारिकाले ६ महिनाअघि उच्च अदालतमा पुनरावेदन दिएकी थिइन् । सो मुद्दामा भदौ ५ गते पेसी तोकिएको थियो ।

निहारिकाले धनुषा क्षीरेश्वरनाथ नगरपालिका– ३ का २३ वर्षीय शिवराज श्रेष्ठले नशालु पदार्थ पिलाएर आफूलाई बलात्कार गरेको, तर त्यसबाट जन्मिएको बच्चा अस्वीकार गरेको भन्दै जबर्जस्ती करणीको मुद्दा दायर गरेकी थिइन् । 

सो मुद्दामा जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईले २४ माघ ०७८ मा जबर्जस्ती करणीको दाबी नपुग्ने भन्दै आरोपी श्रेष्ठलाई सफाइ दिएपछि निहारिकाले उच्च अदालत जनकपुरधाममा पुनरावेदन गरेकी थिइन ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x