मधेश

कोसीमा पानीको बहाव पुनः बढ्याे, जोखिम उच्च

सुभाष कर्ण |
साउन २२, २०७९ आइतबार १९:५६ बजे

जनकपुरधाम- सप्तकोसी नदीमा पानीको बहाव पुनः बढ्दै गएकोले जोखिम उच्च भएको छ ।  

पानीको बहाव बढेपछि आइतबार दिउँसोसम्म ५६ मध्ये ३३ ढोका खुला गरिएको छ । शनिबार बेलुकासम्म ब्यारेजका २९ वटा ढोका खोलिएको थियो । तर, पानीको बहाव बढ्दै गएपछि थप चारवटा ढोका खोलिएको हो ।


कोसी ब्यारेज नियन्त्रण कक्षको मापन अनुसार शनिबार बेलुकासम्म पानीको बहाव दुई लाख २५ हजार ३५० क्युसेक प्रतिसेकेन्डबाट घटेर आइतबार बिहानसम्म पानीको बहाव दुई लाख २ हजार ४७५ क्युसेक प्रतिसेकेन्ड पुगेको थियो । तर, आइतबार बेलुकासम्म दुई लाख ५ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार जलाधार क्षेत्रमा लगातारको वर्षाले सप्तकोसीसँगै सहायक नदीहरूमा पनि पानीको सतह बढ्दै गएको छ । विभागका बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तकोसी नदीको चतरा र फतेपुरमा जलसतह बढ्दो छ । यस्तै तमोर, सुनकोसी र अरुणमा पनि जलसतह बढ्दो क्रममा रहेको छ ।

कोसी ब्यारेजका सबै ढोका नखोलिएका कारण उदयपुर, सुनसरी र सप्तरीको खेतीयोग्य जमिन र मानव बस्ती डुबानमा पर्ने गरेका छन् । सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सुनसरी, उदयपुर र सप्तरी प्रशासनले कोसी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

सप्तकोसीले पश्चिमतर्फ कटान गर्दा सुनसरी र उदयपुरका क्षेत्र डुबानमा परेका छन् । यता सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१३ स्थित गोबरगाढाको बस्ती डुबान भएसँगै श्री शारदा आधारभूत विद्यालय समेत कटान गरी बगाएको छ भने स्वास्थ्य चौकी समेत जोखिममा रहेको फतेपुर तथा आसपास क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिएका छन् ।

कोसी नदीमा पानीको अत्यधिक बहाव हुनसक्ने जानकारीपछि कोसी ब्यारेजसहित कोसीको संरचनालाई निगरानी गरिरहेको सप्तरी प्रहरीले जनाएको छ । सप्तकोसीमा पुनः जलसतह बढ्न थालेकाले जलसतह सतर्कता आसपास पुग्‍न सक्ने र थप कटान हुनसक्ने भएकाले उदयपुर, सुनसरी र सप्तरीका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सम्बन्धित स्थानीय प्रशासनले आग्रह गरेको छ ।

गत चार दिनअघि उदयपुरको बेलका नगरपालिका ८ लाहुरे खोच डुमरीबोट स्थित ड्याम फुटेको थियो । सो ड्याम फुटेपछि बेलका नगरपालिकाको वडा नम्बर २, ३, ८, ९ र बराह क्षेत्र डुबानमा पर्नुका साथै मानव बस्ती समेत जोखिममा परेका छन् । हुन त स्थानीय प्रशासनले बस्ती छाड्न समयमै माइकिङ गरेका कारण ठूलो मानवीय क्षति हुन सकेको थिएन ।

हेभी ट्राफिक खतरनाक : मन्त्री झा

ड्याम फुटेकै दिन कोसी पुल निरीक्षणमा आएका भारत बिहारका जल संशाधन विभाग मन्त्री संजय झाले हाई स्पीड र हेभी ट्राफिकले पुल निकै जोखिममा रहेको र यसमा ध्यान दिन नेपाली प्रशासनलाई आग्रह गरेका थिए ।

उनले भने, 'यो पुलको स्पीड र भार क्षमता लिमिट छ, २० किमीको स्पीड तोकिएकोमा ६० भन्दा माथिको स्पीडमा गाडी आवागमन गरिरहेको छ, भार क्षमताभन्दा कयौं गुणा बढी भार क्षमतासहितको गाडी गुडिरहेको छ, यस्तै अवस्था रह्यो भने चाँडै नै पुल भत्किनेछ ।'

'जोखिमयुक्त पुलका लिग हेभी ट्राफिक खतरनाक हो, यो सामान्य पुल छैन, जसलाई बन्द गर्न सकिन्छ, धेरै ठाउँमा डेमेज भइसकेको छ, तल कुनै डेमेज भए फाटक नै अपरेट गर्न सकिँदैन, जसले गर्दा दुवै देशलाई ठूलो क्षति हुन सक्ने भएकाले यसमा नेपालका प्रशासनलाई ध्यान दिन जरुरी रहेको छ,' उनले भने ।

सञ्चारकर्मीहरुको जिज्ञासामा मन्त्री झाले मुख्यमन्त्रीको निर्देशनमा आफूले अहिले यसको निरीक्षण गरेकाे बताए । उनले भने, 'भारत सरकारका सम्बन्धित निकाय सीडब्लुसीसँग कुरा गरेका छौं, बर्सातपछि चाँडै नै प्राविधिक टिमले हेल्थ कन्डिसनको निरीक्षण गर्नेछ, प्राविधिक टिमले दिएको प्रतिवेदनको आधारमा कारबाही प्रक्रिया अगाडि बढाउने छ ।'


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x