मधेश

जनकपुरधामलाई धार्मिक पर्यटकीय आकर्षणको केन्द्र बनाउँछु : अध्यक्ष साह

इकागज |
असार १६, २०७९ बिहीबार १७:२२ बजे

जनकपुर - बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का नवनियुक्त अध्यक्ष शीतल साहले जनकपुरधामलाई धार्मिक पर्यटकीय आकर्षणको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

परिषद् अध्यक्षको रूपमा आज पदभार ग्रहण गर्दै नवनियुक्त अध्यक्ष साहले सबै पक्षसँग सहकार्य गरेर जनकपुरधामलाई धार्मिक पर्यटकको आकर्षणको केन्द्र बनाउने बताए । 


`जनकपुरधाम आफैँमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक नगर हो`, अध्यक्ष साहले भने, `यहाँका धार्मिक र सांस्कृतिस्थलको संरक्षण संवद्र्धन गर्दै जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नु मेरो मुख्य लक्ष्य हो ।` 

यसैबीच नवनियुक्त अध्यक्ष साहले पदभार ग्रहण गरेलगत्तै वर्षौदेखि जीर्ण रहेको जनकपुरधामस्थित रामायण भवनलाई जीर्णोद्धार गर्ने पहिलो निर्णय गरेका छन् । 

धार्मिक र ऐतिहासिक भवन भए पनि उपेक्षाका कारण हालसम्म मर्मतसम्भार हुन नसक्दा जीर्ण बनेकाले यसलाई मर्मतसम्भार गरी जीर्णोद्धार गर्ने आफूले पहिलो निर्णय लिएको अध्यक्ष साहले बताए । 

साहलाई नेपाल सरकारले बुधबार परिषद्को अध्यक्षमा नियुक्त गरेको थियो । गत विसं २०४९ मा स्थापना भएको सो परिषद्ले धनुषा र महोत्तरीको धार्मिक र पर्यटकीयस्थलको संरक्षण, संवद्र्धन तथा सौन्दर्यीकरणका कार्य गर्दै आएको छ । 

यसका साथै मिथिला क्षेत्रमा प्रसिद्ध १५ दिने मिथिला मध्यमा परिक्रममालाई व्यवस्थित बनाउने र साथै पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यसमेत सो परिषद्ले गर्दै आएको जनाएको छ । परिषद्मा धनुषा र महोत्तरी जिल्लाका सांसद, नगरप्रमुख र प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख गरी ३२ सदस्य रहने व्यवस्था छ ।
रासस


Author

थप समाचार
x