मधेश

माओवादी महोत्तरीमा चर्कियो अन्तरविरोध

इकागज |
असार १०, २०७९ शुक्रबार १३:२२ बजे

महोत्तरी- ‘चुनावको धेरै पाटो हुन्छ, सबै पार्टी एकातिर भएर माओवादी हराउन लागेपछि मतपरिणाम प्रतिकुल आइहाल्छ नि,’ यो भनाइ हो माओवादी केन्द्र महोत्तरीका नेता राजु ढकालको हो । तर, अहिले महोत्तरीमा ढकालले चित्त बुझाए जस्तो नेकपा माओवादी केन्द्रभित्र अरुले चित्त बुझाएका छैनन् । माओवादी केन्द्रले महोत्तरीमा व्यहोरेको पराजयकै कारण दुई पक्षबीचको तिक्तता यतिबेला उत्कर्षमा छ ।

माओवादीभित्रको संस्थापन खेमा र पूर्व जनमोर्चा खेमामा आरोप–प्रत्यारोप चल्न थालेको छ । विवाद उत्कर्षमा पुग्दै बैठकसमेत छुट्टाछुट्टै राख्न थालिएको छ । 


२०७४ सालको निर्वाचनमा माओवादीले चार वटा पालिकामा जितेर जिल्लाकै तेस्रो दल बनेको थियो । तर, गत वैशाखमा भएको निर्वाचनमा केही वडाहरू बाहेक कुनै पालिकामा पनि जित हासिल गर्न सकेन । 

यही लज्जास्पद हारको जिम्मेवारी कसले लिने भन्ने सम्बन्धमा आरोप-प्रत्यारोपको अवस्था सिर्जना भएको हो । पाटीभित्रैका जिम्मेवार नेता र कार्यकर्ताहरूको अन्तर्घातको प्रतिफल नै पराजयको कारक बनेको संस्थापन पक्षको निष्कर्ष छ भने संस्थापनइतर जनमोर्चा खेमा भने यसलाई अस्वीकार गर्छ । 

स्थानीय निर्वाचनमा टिकट कसले पायो भन्ने विषयले मुख्य प्राथमिकता राख्‍न भएको हुँदा पार्टीले टिकट वितरणमा समेत त्रुटि गरेको संस्थापनइतरको विश्लेषण छ ।

विशेषगरी केन्द्रीय सदस्य राजु खड्का र गिरिराजमणि पोखरेलबीचको तिक्तताले माओवादी महोत्तरीमा तरङ्ग ल्याएको हो । पोखरेल महोत्तरी क्षेत्र न.१ बाट प्रतिनिधि सभा सदस्यमा लगातार तीन पटक निर्वाचित भइसकेका छन् भने राजु खड्का अहिले जिल्लाका इन्चार्ज हुन् । 

खड्का बर्दिबास नगरपालिका मेयरमा पराजित भए । उनले आफ्नो पराजयको दोषसमेत पोखरेल समूहलाई लगाएका छन् । पूर्वनगरप्रमुख विदुरकुमार कार्कीको असहयोग, गिरिराजमणिको निस्क्रियता तथा विशेषगरी जनमोर्चा खेमाको असहयोगकै कारण आफुले हार व्यहोरेको खड्काको तर्क छ । 

तर, पोखरेल समूहले भने आफूहरूले आफ्ना उम्मेदवारलाई जिताउन हरकोसिस गरेको दाबी गरेका छन् । पोखरेलसँग निकट मानिने युवा नेता शंकर महतो आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन निकै कोसिस गरेको दाबी गर्छन् । 

मुख्य नेताहरूबीचमा बढिरहेको दूरीको कारणले आगामी प्रदेश र  प्रतिनिधिसभा सदस्य निर्वाचनमा समेत ठूलो असर पर्न सक्ने भन्दै कार्यकर्ताहरू चिन्तित् बन्‍न थालेका छन् ।

संस्थापन पक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न केन्द्रीय पार्टी कार्यालय नै पुगेको थियो । अध्यक्ष प्रचण्डसँगको  भेटमा सहभागीहरूले पोखरेल समूहबाट पार्टीलाई भएको असहयोगका कारण हार व्यहोर्नु परेको गुनासो गरिएको थियो । पार्टीले व्यहोर्नुपरेको पराजयका कारण नैतिकताका आधारमा जिल्ला इन्चार्जबाट राजु खड्काले राजीनामा दिनुपर्ने आवाज पनि उठ्न थालेको एक नेताले बताए ।


Author

थप समाचार
x