मधेश

जनकपुरधाम आइपुग्यो रामायण सर्किट यात्राको पर्यटकीय रेल

सुभाष कर्ण |
असार ९, २०७९ बिहिवार १६:४८ बजे

जनकपुरधाम । नेपाल र भारतलाई जोडने रामायण सर्किट यात्रामा रहेका भारत गौरव पर्यटकीय रेल बिहीवार जनकपुरधाम आइपुगेको छ ।
मंगलवार भारतको दिल्लीबाट शुरु भएको १८ दिने रामायण सर्किट यात्रामा रहेका सो रेल ४ सय ९९ यात्रु बोकेर बिहीवार पौने २ बजे अन्तराष्ट्रिय सीमा पार गरी जनकपुरधाम आइपुगेका हुन् ।

भारतका विभिन्न क्षेत्रबाट रामायण सर्किट यात्रामा आएका पर्यटकहरुलाई मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुध्न महतोले संयुक्त रुपमा जनकपुरधामस्थित रेलवे स्टेशनमा स्वागत गरेका छन् ।



‘मधेश प्रदेशका राजधानी जनकपुरधाम आइपुगेको रामायण सर्किट भारत गौरव पर्यटक यात्राले नेपाल–भारत बीच सम्बन्धमा नयाँ आयाम थपेको छ र यसले यहाँको विकासमा ठूलो टेवा पुग्नेछ ।’ पर्यटकहरुलाई स्वागत गर्दै मुख्यमन्त्री राउतले भने ।

यात्रामा आएका पर्यटकहरुले आफूहरु यात्राको क्रममा माता सीताको माइती जनकपुरधाम आउँदा निकै गौरवान्वित महसूस गरेको बताए । उनीहरुले यो रामायण सर्किट पर्यटकीय यात्राले नेपाल भारतबीचको सम्बन्ध अझ प्रगाढ भएको बताएका छन् । 

जनकपुरधाम पर्यटकीय यात्रामा आएका यात्रुहरु आज जनकपुरधाममा विश्राम गर्नेछ भने भोलि धनुषाधाम स्थित धनुष मन्दिरको अवलोकन गर्दै भारतको सीतामढीतर्फ फर्किनेछ । ती यात्रुहरुको लागि प्रदेश सरकारले जानकी मन्दिरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ भने साँझ पख गंगा सागर पोखरीमा हुने गंगा आरतीमा सहभागी हुनेछ ।

रामायण सर्किट यात्रामा निस्केका सो पर्यटकीय रेल १८ दिने यात्राको क्रममा सीतामढीपछि भारतकै नन्दिग्राम, प्रयागराज, वनारस, ब्रम्हकेश्वर, चित्रकुट, पंचवटी (नासिक), बक्सर, कर्नाटकको हम्पी, अन्जनागिरी पर्वत, रामेश्वरम हुँदै भद्राचलम र कान्चीपुरम जस्ता प्रख्यात धार्मिक स्थलहरुको भ्रमण गर्नेछ ।

नेपालको जनकपुरधाम आइपुगेका सो रेलको प्रत्येक डिब्बामा भारतीय कला संस्कृति झल्किने स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, ​लोककला जस्ता परम्परा, सम्पदा लगायतका बहुरुपी झल्को देखिने आकृतिहरु पेन्टिङ्गले सुसज्जित छन ।

मंगलवार साँझ भारतको राजधानी दिल्लीमा रेल मन्त्री अश्वनी वैष्णवी, पर्यटन मन्त्री चड्ढा र भारतका लागि नेपालका राजदूतले संयुक्त रुपमा स्वागत गर्दै हरियो झण्डा देखाएर शुभारम्भ गरेका थिए ।


 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x