मधेश

मन्त्रीले शिलान्यास गरेकाे फुटबल मैदान निर्माण कार्य २४ घण्टा नबित्दै वनले राेक्याे

सुभाष कर्ण |
असार ८, २०७९ बुधबार १८:४ बजे

जनकपुरधाम। मधेश प्रदेश सरकारका एक मन्त्रीले शिलान्यास गरेकाे फुटबल मैदानकाे निर्माण कार्य राेकिएकाे छ । धनुषाको लालगढकाे खाली जग्गामा फुटबल मैदान निर्माणका प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुध्न महताेले शिलान्यास गरेकाे थिए । 

तर निर्माण कार्य बढाएकाे २४ घण्टा नबित्दै वन कार्यालयले साे जग्गा आफ्नाे रहेकाे दाबी गर्दै काम गर्नबाट राेकेकाे छ । मन्त्री महतोकाे निर्वाचन क्षेत्रसमेत रहेकाे साे क्षेत्रमा रकमान्तर गरी खेलकुद मैदान निर्माण गर्न उद्योग, पर्यटन तथा वन मन्त्रालयबाट ५० लाख छुट्टयाइएको छ । 


मन्त्री महताेले शिलान्यास गरेर फर्केकाे केही बेरमै खेलकुद मैदान निर्माण गर्न जेसिबी लगाएर डाँडा भत्काउन थालेपछि वन उपभोक्ता समिति र वन कर्मचारीले काम रोक्न लगाएका हुन् ।

साे जग्गा धनेश्वरी महिला सामुदायिक वन उपभोक्ता समिति अन्तर्गत रहेकाे छ । नियमित गस्तीको क्रममा वन कर्मचारीले डाँडा भत्काएर फुटबल मैदान बनाउन लागेको देखेपछि तत्कालै वन उपभोक्ता समितिलाई पत्राचार गरेका थिए । 

पत्रमा वनको जग्गामा निर्माण कार्य, ढुङ्गा, माटो, उत्खनन गर्ने काम निषेध गरिएको अवस्थामा त्यहाँ के कसरी खेलकुद मैदान निर्माण भइरहेको सम्बन्धमा जानकारी माग गरेपछि उपभोक्ता समितिका पदाधिकारीले तत्कालै काममा रोक लगाएकाे बताइएकाे छ ।

सो ठाउँमा फुटबल मैदान निर्माण गरिए रूखहरू र बाँसघारी कटान हुने तथा वनको जग्गा अतिक्रमण हुने देखेर वन कार्यालयले फुटबल मैदानको निर्माण कार्य सामुदायिक वन समितिकाे सहयोगमा राेक्न लगाएकाे डिभिजन वन कार्यालय धनुषाका प्रमुख सुरेश शर्माले बताए ।

उता फुटबल मैदान निर्माण समितिका अध्यक्ष दुर्गाबहादुर थापाले फुटबल मैदान निर्माण हुने साे जग्गामा विवाद आएपछि अब नबनाउने बताएका छन् । 

फुटबल मैदान निर्माण गर्न लागिएको जग्गा २१ वर्ष अघि नै तत्कालीन गाविसबाट खेलकुद मैदानका लागि छुट्टयाइएको थियो । त्यतिखेर यो जमिनमा खाली थियो । 'अहिले पहिरो र खोल्सी नियन्त्रण गर्न खयरलगायत बिरुवा र बाँस पछिबाट रोपिएपछि वनले आफ्नाे रहेकाे दाबी गर्न थालेका छन्,' अध्यक्ष थापाले भने

'यता मन्त्री महताेले साेही वनकाे जग्गामा मन्दिर र कुष्टराेग अस्पताल छ भने कसैलाई आपति भएन तर फुटबल मैदान बन्न लाग्दा राेक लगाएकाे मैले पनि सुनेकाे छु तर वास्तविकता के हाे बुझेर नै भन्नेछु,' उनले भने ।

फुटबल मैदान पनि प्रदेश सरकारले निर्माण गर्ने भएकाले यसमा कुनै व्यक्ति वा संस्थाले राेक्नु गलत भएकाे मन्त्री महताेकाे प्रतिक्रिया रहेकाे छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x