मधेश

५ देखि ११ उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप दिइने

सुभाष कर्ण |
असार ४, २०७९ शनिबार १९:३८ बजे

जनकपुरधाम । देशभरसहित मधेश प्रदेशमा पनि असार ९ गतेबाट ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड विरुद्धको खोप दिइने भएको छ ।

शनिबार राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र स्वास्थ्य पत्रकार मञ्ज नेपालद्वारा संयुक्त रुपमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।


पहिलो चरणमा देशका २७ जिल्लामा सञ्चालन हुने सो खोप कार्यक्रम अन्तर्गत मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पर्सा जिल्लालाई समेटिएको जानकारी कार्यक्रममा स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजयकुमार झाले दिए ।

प्रदेशमा ५ देखि ११ वर्ष उमेर समूहका ८ लाख २४ हजार ७ सय १६ जनसंख्या रहेपनि पहिलो चरणमा प्रदेशका ५ जिल्लाका लक्षित ५ लाख १६ हजार २ सय ३६ बालबालिकालाई खोप दिइने जानकारी समेत उनले दिए ।

लक्षित समूहका बालबालिकालाई फाइजर पेडियाट्रिक नामक खोप दुई मात्रामा दिइने बताउंदै उनले पहिलो खोप असार ९ देखि १५ गतेसम्म र दोश्रो मात्रा २१ दिनपछि साउन २ गतेदेखि ८ गतेसम्म दिइने उनको भनाइ छ ।

निर्देशक झाले ५ देखि ११ वर्षसम्मका लागि बालबालिकालाई दिइने फाइजर पेडियाट्रिक कोभिड १९ विरुद्धको खोप सुरक्षित रहेको दाबी गर्दै कोभिड १९ बाट बचाउन लक्षित उमेर समूहका सबै बालबालिकालाई खोप लगाउन आग्रह गरे ।

नेपाल सरकारले निर्दिष्ट गरे अनुसार लक्षित बालबालिकालाई उनी अध्ययनरत विद्यालयमै खोप दिइनेछ । ती बालबालिकाहरुलाई उमेर खुलेका विद्यालयको प्रमाण, कक्षागत सूचीको आधारमा दिइनेछ । यदि उमेर खुलेको छैन भने अभिभावकले स्वघोषणा गरेको उमेरको आधारमा खोप लगाइने भएको हो । यसका अतिरिक्त विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई खोप कार्यक्रमको अन्तिम दिन पालिका स्तरमा पालिका प्रमुखले तोकेको स्वास्थ्य केन्द्रमा खोप दिइने जानकारी समेत निर्देशक झाले दिए ।

कार्यक्रममा सहभागी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. अंकुर साहले भने खोप लगाउंदा टाउको दुख्ने, सुई लगाएको ठाउँमा दुख्ने, रातो हुने, सुन्निने, आलस्य हुने, जाडो हुने, ज्वारो आउने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका सामान्य लक्षण देखिन सक्छ जुन सबै खोपमा लक्षण देखिन सक्ने हुने हुँदा नडराउन आग्रह गरे ।

‘तर शरीर चिलाउने, विमिरा आउने, डाबर हुने, बढी आलस्य हुने, सुई लगाएको ठाउँमा बढी चिलाउने वा फोका जस्तो देखिएमा तुरन्त सम्बन्धित खोप केन्द्र वा चिकित्सक कहाँ सम्पर्क गर्नुपर्छ ।’ उनले भने ।

सो कार्यक्रममा युनिसेफका सुन्दर लामाले कोभिड १९ विरुद्ध खोपको विषेशता बारे प्रकाश पार्दै सबैलाई निर्धक्क भई खोप लिन आग्रह गरेका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x