कोशी

कोशी प्रदेश सभाका उपसभामुख दनुवारमाथि आक्रमण

बाबुराम भण्डारी |
जेठ २५, २०८० बिहिवार १४:३८ बजे

फाइल तस्बिर

विराटनगर- कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवारमाथि बिहीबार आक्रमण भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नेपाली सेनाको १८ नम्बर बाहिनीमा रहेको सर्पदंश उपचार केन्द्रमा पोर्टेबल भेन्टिलेटर हस्तान्तरण कार्यक्रममा सहभागी भएर फर्किने क्रममा त्रियुगा नगरपालिका–१२ बुद्धचोकमा आक्रमण भएको हो ।

कोशी प्रदेश नामकरणको विरोधमा रहेको जातीय पहिचान पक्षधर संघर्ष समितिसम्बद्ध कार्यकर्ताहरूले उपसभामुख दनुवारमाथि आक्रमण गरेको बताइएको छ । कार्यक्रम सकेर फर्किने क्रममा उपसभामुख दनुवारमाथि आक्रमण भएको उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।


ढुंगामुढाका कारण उपसभामुख दनुवारको गाडीको सीसामा क्षति पुगे पनि उपसभामुख सुरक्षित रहेको उनका स्वकीय सचिव भुवन दाहालले जानकारी दिए । उनका अनुसार आक्रमणबाट उपसभामुख दनुवार चढेको बा २ झ ३७३८ नम्बरको गाडीमा क्षति पुगेको छ ।

‘मन्त्रीहरू नै आउने भएपछि पहिचानवादीहरूले अवरोध गर्ने कुरा जानकारीमा आएको थियो,’ प्रजिअ गौतमले भने, 'स्वास्थ्य सामग्री हस्तान्तरण गरेर मन्त्रीहरू फर्किँदासम्म समस्या थिएन, उपसभामुखज्यु खाना खान जाने क्रममा आक्रमण भएको जानकारीमा आएको छ ।’

उनले पहिचानवादीको नाममा मोटरसाइकलमा आएका ८–१० जनाको समूहले छापामार शैलीमा आक्रमण गरेको बताए । उनले घटनामा संलग्नहरूको खोजी भइरहेको भन्दै कानुनी कारबाही गर्ने बताए ।

सर्पदंश केन्द्रमा कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पोर्टेबल भेन्टिलेटर हस्तान्तरणपछि जिल्ला अस्पताल उदयपुरको अनुगमन गर्ने कार्यक्रम थियो । त्यसका लागि स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बो समेत भुल्के पुगेका थिए । मन्त्री मेन्याङ्बो र सँगै रहेकी स्वास्थ्य सचिव डा. सुधा देवकोटा लगायतको टोली भने भुल्केबाट जोगीदह–हडिया हुँदै विराटनगर फर्किएका कारण आक्रमणबाट बचेका छन् ।

पहिचान पक्षधर समूहका कार्यकर्ताहरूले त्रियुगा नगरपालिका–३ स्थित चाँप खोलामा बाटो ढुकेर बसेको जानकारी आएको भन्दै प्रहरीले अर्को बाटोबाट उपसभामुखलाई सदरमुकाम गाईघाटतर्फ लगेको थियो । तर, उक्त बाटोमा काठ लोड गरिएको ट्याक्टर फसेर बसेका कारण उपसभामुख दनुवारको गाडी रोकिनु परेको थियो । गाडी रोकिएको मौका छोपेर उनीहरूले आक्रमण गरेका हुन् ।

दनुवारको गाडीभन्दा अगाडि रहेको त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राई चढेको गाडीमा समेत पहिचान पक्षधर समूहले ढुंगामुढा गरेका छन् । ढुंगामुढाले लागेर उपमेयर राई चढेको गाडीको सिसा फुट्नुका साथै गाडी पनि क्षतिग्रस्त भएको जनाइएको छ ।

आक्रमणमा पहिचान पक्षधर समूहमा संलग्न रहेका जनता समाजवादी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका स्थानीय नेता कार्यकर्ताहरूको उपस्थिति देखिएको स्थानीयले जानकारी दिएका छन् ।

बिहीबार नै नेकपा एमाले संसदीय दलका उपनेता एवं कोशी प्रदेश सभाका सदस्य राम रानामाथि समेत इलाममा दुर्व्यवहार भएको छ । पहिचानवादी समूहले इलाम नगरपालिका–११ सोयाकमा राना चढेको गाडीमा मोबिलको बाल्टी नै फ्याँकेर दुर्व्यवहार गरेको जनाइएको छ । राना कोशी प्रदेश नामकरणको प्रस्तावका प्रस्तावक हुन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x