कोशी

दुहवीका मेयरकाे आराेप- पूर्वअर्थमन्त्रीकाे इसारामा अर्थमन्त्रीले बजेट दिएनन्

बाबुराम भण्डारी |
जेठ १९, २०८० शुक्रबार ११:४१ बजे

विराटनगर । आगामी आर्थिक वर्ष २०८०–८१ का लागि प्रस्तुत भएको बजेटमा नगरका गौरवका आयोजना अघि बढाउनै कठिन हुने गरी बजेट कटौती गरिदिएको भन्दै सुनसरीको दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले आफ्नै पार्टीका अर्थमन्त्री डा.रामशरण महत र पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग असन्तुष्टि पोखेका छन् । उनले पूर्वअर्थमन्त्री कार्कीको इसारामा अर्थमन्त्रीले बजेट काटिएको गम्भीर आरोप समेत लगाए ।

नगरवासीको हित र सम्मुनतिका लागि नगरपालिकाले अग्रणी भएर काम गरिरहेको र आ.व. २०८०–८१ को बजेटमा योजना तथा कार्यक्रम समावेश गर्न पटक–पटक विभिन्न विषयगत मन्त्रालयमा डिपीआरसहितका योजना/कार्यक्रम माग गरिएपनि गत आवमा भन्दा झण्डै ६ करोड रुपैयाँ कम बजेट प्राप्त भएको भन्दै मेयर गच्छदारले विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाएका छन् । 


आफ्नै पार्टी नेतृत्वको सरकारका अर्थमन्त्रीले सुनसरीकै सांसद तथा पूर्व अर्थमन्त्रीको इसारामा बजेट दुहवी नगरपालिकालाई असह्य हुने गरी उपेक्षा गरेको उल्लेख गरेका छन् ।

‘आयातित सांसद तथा पूर्व अर्थमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रलाई सिंगो सुनसरी जिल्ला ठानी दुहवी नपाभन्दा झण्डै दोब्बर बढी बजेट दिलाएको तर दुहवी नपालाई गत आ.व.मा भन्दा ६ करोड कम रकम विनियोजन गर्दा दुहवी नगरपालिकाले सञ्चालन गरेको ठूला र ऐतिहासिक गौरवका आयोजनाहरू अलपत्र पर्ने’ विज्ञप्तिमा उल्लेख गरेका छन् । 

उनले दुहवीले स्थानीय सरकार सञ्चालन ऐन २०७४ का आधारमा संघीय सरकारको समृद्ध पालिका निर्माणको अभियानका मुलभूत आधारहरूलाई अंगिकार गर्दै नीति निर्माण र भौतिक पूर्वाधारको आधार सिर्जना गर्दै आएको बताए ।

नगरपालिकाले आफ्नै पहलमा विकास साझेदार संस्थाहरू पनि सहकार्य गर्दै अन्तराष्ट्रिय स्तरको रंगशाला, खाद्य प्रशोधन केन्द्र, फोहोरमैला प्रशोधन केन्द्र, नमुना कृषि बजार, सुकुम्वासीका लागि नगर प्रमुख आवास योजना, लिङ्क रोड कालोपत्रे, विद्यालय भवन निर्माण, नगर अस्पताल लगायत अर्बौंको बहुआयामिक गौरवका आयोजनाहरू अघि बढाएकोमा आफ्नै पार्टीका अर्थमन्त्रीले बजेट कटौती गरिदिएको दाबी गरे ।

साथै प्राविधिक शिक्षालय, वाटर फनपार्क, बहु आयामिक सपिङ कम्प्लेक्स लगायत ठूला योजनाहरू निर्माण गर्ने लक्ष्य लिएर जग्गाको व्यवस्थापन गरिरहेको अवस्थामा बजेट कटौति भएको भन्दै उनले रोष प्रकट गरेका छन् ।

बजेट कटौतिका कारण दुहवीबासीको मनोकांक्षा र समृद्धिमा कुठाराघात भएको महसुुस र तत्काल केन्द्र पार्टी पदाधिकारीहरू र सरकारमा सामेल कांग्रेसका मन्त्रीहरूले दुहवी माथि बजेटको न्यायोचित पुनर्विचार गर्न माग गरे । 

नेपाली कांग्रेसका दुहवी नगर सभापति समेत रहेका मेयर गच्छदारले माग सम्बोधन नभए पार्टीका कुनै पनि कार्यक्रममा सहभागी नहुने र नगरवासीको हित र समुन्नतिका खातिर जस्तोसुकै कारबाही पनि सहज स्वीकार गर्ने बताए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x