कोशी

एकल महिलाको जीवनस्तर उकास्न पाठापाठी वितरण

इकागज |
चैत ११, २०७९ शनिबार १६:१२ बजे

फाइल फोटो

उर्लाबारी - विभिन्न कारणले समाजमा एकल जिवन बिताइरहेका महिलाको जीवनस्तर उकास्ने उद्देश्यले मोरङको उर्लाबारी नगरपालिका–२ ले वडामा रहेका १३ एकल महिलालाई सहयोग गरेको छ । वडा नं २ ले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका १३ एकल महिलालाई बाख्राका पाठापाठी वितरण गरेको हो । 

वडाले ‘लक्षित वर्ग उत्थान कार्यक्रम’अन्तर्गत आम्दानीको स्रोत नभएका एकल महिलाका लागि घरमै बसेर आर्थिक उपार्जन गर्नसक्ने गरी दिगो आर्थिक स्रोतको पहिचान गरी पाठापाठी वितरण गरिएको वडाध्यक्ष कुमार कँडेल (राजन)ले बताए । 


क्यान्सरका कारण श्रीमान् बितेपछि एक्लै सङ्घर्ष गरेर जीवन बिताइरहेकी स्थानीय सीता नेपाली वडाले सहयोग गरेपछि खुसी भएकी छिन् । 'श्रीमान् बिरामी पर्दा पनि वडाध्यक्षले सहयोग गर्नुभएको थियो । श्रीमान् बितेपछि छोराछोरी पढाउने, हुर्काउने जिम्मा आफैलाई आएको छ । वडाले सहयोग गरेको छ, अब यसैलाई मलजल गरेर अगाडि बढ्दै जानुछ', उनले भनिन् । 

आर्थिक अभावका कारण जीविकोपार्जनका लागि संघर्ष गरिरहेका दुई एकल महिला भानी धिमाल र रेखा उराउ पनि वडाले बाख्राका पाठापाठी लिएर सहयोग गरेकामा खुसी लागेको बताउँछन् । उराउ भन्छिन्, 'श्रीमान् बितेपछि बिहान बेलुका हातमुख जोड्नै गाह्रो भइरहेको अवस्थामा छोराछोरीलाई पढाउन किताब, कपी, डटपेन कसरी किन्ने भन्ने पिरलो परिरहन्थ्यो । अब यिनै पाठापाठीलाई स्याहार गर्छौं र आयआर्जनको बाटो बनाउँछौँ ।'

एकल महिलाको जीवनस्तर उकास्ने उद्देश्यले चालु आर्थिक वर्ष २०७९/८० को वडास्तरीय बजेटअन्तर्गत रू एक लाख विनियोजन गरी नगर उपप्रमुख मीना खतिवडा पौडेल, वडाध्यक्ष राजनकुमार कँडेललगायतले बाख्राका पाठापाठी वितरण गरेका हुन्  । रासस 


Author

थप समाचार
x