कोशी

प्रदेश १ का प्रदेश प्रमुखको सम्बोधन

‘पाँच वर्षका उपलब्धि सकारात्मक छन्, सांसदको भूमिका सिर्जनात्मक हुन सकोस्’

बाबुराम भण्डारी |
माघ २४, २०७९ मगलवार १५:५ बजे

विराटनगर- प्रदेश १ का प्रमुख परशुराम खापुङले प्रदेश सभामा सम्बोधन गर्दै पहिलो सरकारको पाँच वर्षको उपलब्धि सकारात्मक रहेको बताएका छन् ।

मंगलबार प्रदेश सभालाई सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले प्रदेश सभामा दोस्रो कार्यकालका लागि निर्वाचित भएर आएका प्रदेश सभा सदस्यहरूको भूमिका रचनात्मक र सिर्जनात्मक हुनुपर्ने पनि बताए ।


उनले संघीयता र लोकतन्त्रमा जनभरोसा बढाउने जिम्मेवारी प्रदेश सरकारमै निहित रहेको भन्दै विगत पाँच वर्षको सरकारबाट भएका उपलब्धिहरू सकारात्मक रहेको बताए । 

संविधानको धारा १८४ को उपधारा (२) मा ‘प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचन पछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशनको प्रारम्भ भएपछि प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने व्यवस्था अनुसार प्रदेश सभामा सम्बोधन गरेका हुन् ।

प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएर पहिलो अधिवेशनको मंगलबारको सातौं बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले पूर्वाधार निर्माण र सामाजिक न्याय लगायतका जनताले प्रत्यक्ष अनुभूति गर्ने क्षेत्रमा काम गर्ने प्रयास गरिरहेको जिकिर गरे । साथै सेवा प्रवाहमा रहेको असहजताको अन्त्य गर्न पनि सरकार प्रयत्नरत रहेको महसुस भएको उनकाे भनाइ छ ।

‘पहिलो सभाले सफलतापूर्वक आफ्नो कार्यकाल पुरा गरेको छ, प्रदेश सरकारको आधारभूत संरचनाको निर्माण, नीति र कानुनको निर्माण गरेको छ, प्रदेशवासीको सुख समृद्धिका लागि निरन्तर लागिपरेको मैले महसुस गरेको छु,’ प्रदेश प्रमुख खापुङले भने, ‘समुन्नत प्रदेश निर्माणका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको छ, दोस्रो सभाले पनि समय सापेक्ष रूपमा संघीयता र प्रदेश संचरनाको प्रभावकारिता र सार्थकता पुष्टि गर्नेछ भन्ने विश्वास लिएको छु, प्रदेशको दिगो विकास गर्न सांसदको भूमिका रचनात्मक र सिजनात्मक हुन सकोस् ।’

उनले पहिलो पाँच वर्षमा प्रदेश १ को राजधानी वृहत् विराट क्षेत्रभित्रै विराटनगर केन्द्र बनाएर तोकिसकेको भन्दै यो सभाले थाती रहेको प्रदेशको नामकरणलाई उच्च प्राथमिकता दिनुपर्ने सुझाव दिए ।

प्रदेश प्रमुख खापुङले प्रदेश सरकारमार्फत सेवा प्रवाहमा भएका कामहरू प्रशंसनीय रहेकाे पनि उल्लेख गरे । प्रदेशमा सुशासन र दिगो विकासको माध्यमबाट प्रदेशका जनताको आर्थिक सामाजिक रूपान्तरणसहितको समुन्नत प्रयास गर्नुपर्नेमा उनले जोड दिए । साथै प्रदेश १ मा भौतिक तथा सामाजिक पूर्वाधार निर्माण गर्नुपर्ने प्रदेश सरकारका प्रमुख प्राथमिकता रहेको र यिनै क्षेत्रबाट प्रदेशलाई समृद्ध बनाउन र प्रदेशका जनतालाई सुख र खुसी दिन सकिने पनि उनकाे धारणा छ ।

खापुङले विवेकपूर्ण ढंगले नागरिकको हितमा कानुन निर्माण गरेको खण्डमा कानुनलाई पटक-पटक संशाेधन गरिरहनुपर्ने अवस्था पनि नआउने बताए । त्यसबाट प्रदेश सरकार आलोचनाबाट समेत मुक्त हुने विश्वास व्यक्त गरे ।

संघीयता कार्यान्वयनको मुख्य आधार नै प्रदेश संरचना रहेको भन्दै सफल कार्यान्वयनबाट सुख समृद्धिको अनुभूति गराउन प्रदेश सभा र प्रदेश सरकार सफल होस् भन्दै उनले शुभकामना समेत दिएका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x