कोशी

सांसद कार्कीको ढ्यापढ्यापे

दलका नेता थापा भन्छन् : हाम्रो माननीयले बुझाइ कमी गर्नुभयो

बाबुराम भण्डारी |
माघ २३, २०७९ सोमबार २१:३० बजे

विराटनगर- नेपाली कांग्रेसका सांसद केदार कार्कीले टेबुलमा ढ्यापढ्याप पार्दा प्रदेशसभा बैठकको कार्यसूची अघि बढाइरहेका प्रदेश १ का सभामुख बाबुराम गौतम केही क्षण अलमलमा परे । किनभने उनले बैठकको कार्यसूची अनुसार नै अघिल्लो सरकारले ल्याएको प्रदेश निजामती सेवा गठन, संचालन, सेवाका सर्तहरूका सम्बन्धमा बनेको अध्यादेश प्रदेशसभामा पेश गर्न वर्तमान सरकारका मन्त्रीलाई समय दिँदै थिए । उक्त अध्यादेश तत्कालीन सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका उनै कार्कीले प्रदेशसभा टेबुल गरेका थिए ।

कार्कीले सांसद दीर्घाबाट ढ्यापढ्याप आवाज आएपछि कार्कीतिर हेर्दै सोधे– ‘के भन्नु खोज्नु भा’थ्यो ?’  कार्कीले पनि नयाँ प्रदेशसभा सुरु भएको तीन महिना पुग्न लाग्दा समेत प्रदेशसभामा शून्य समयको प्रयोग गर्न नपाएको, सांसदहरूले जनताका समस्याहरू राख्न नपाएको भन्दै सभामुख गौतमसँग गुनासो पोखे । उनले गुनासोमात्रै गरेनन्, संसद् नै सेटिङमा चलेको गम्भीर आरोप पनि लगाए ।


उनले भने, ‘न सरकारले बिजनेश दिन सकेको छ, न सांसदहरूले आफ्नो क्षेत्रका समस्याका बारेमा शून्य समयको प्रयोग गर्न पाएका छैनन्, संसद् सेटिङ जस्तो गरेर चलेको छ ।’

आफ्नै दलका सांसदले संसद् नै सेटिङमा चलेको आरोप लगाएपछि त्यसबारे प्रदेशसभाको रिपोर्टिङमा पुगेका संचारकर्मीहरूले कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई ढ्यापढ्यापे समय र सेटिङबारे जिज्ञासा राखे ।

त,र थापाले भने दलभित्रै कुनै पनि छलफल नै नभई सांसद कार्की आफूखुसी रूपमा चलेको बताए । थापाको भनाइ अनुसार संसदीय दलभित्र त्यसबारे कसैलाई जानकारी दिने वा त्यसको पूर्वतयारी भएको देखिएन । परिणाम कांग्रेस संसदीय दलका नेता थापाले नै संसद् सेटिङमा चलेको भन्ने आरोपयुक्त कार्कीको ढ्यापढ्यापे अभ्यासलाई ‘बुझाइको कमी’ भन्दै टिप्पणी गरे ।

‘हाम्रो माननीयज्यूले अतिकति बुझाइमा कमी गर्नुभयो, प्रदेशसभालाई पूर्णता दिने काममै यो प्रदेशसभा लागिरहेको छ,’ थापाले भने, ‘यो संसद्‍ले पूर्ण रूप नै प्राप्त गरेको छैन, आफ्नो अंग पूरा गर्दैछ, पूर्णता प्राप्त गर्दैछ, यसले प्रक्रियाको टुंगो लगाउँछ, त्यहि अनुसार संसद् चल्ने नियम हो ।’

थापाले यसअघि प्रदेशसभामा कार्यव्यवस्था परामर्श समिति नबनेका कारण सर्वदलीय ढाँचाबाट संसद् चलाउने प्रक्रिया अघि बढेको बताए । अहिलेको संसद् विशेष कार्यक्रमका आधारमा चलेकाले विशेष समय र शून्य समय पनि ‘अलउ’ नगरेको उनले संचारकर्मीहरूलाई बताए ।

‘आज परामर्श समिति गठन भएको, भोलिबाट त सबै सुरु हुन्छ,’ उनले भने, ‘हामीले एकैचोटी संसद्‍को नियम र परम्परालाई तोडेर अगाडि बढ्न सक्दैनौं, यो बैठकसम्म हामी आउँदै गर्दा खेरी हामी विशेष कार्यक्रम अन्तरगत नै आइरहेकोले शून्य समय आउन नसकेको हो, हाम्रो साथीले यो बुझ्नु भएन ।’

उनले प्रदेशसभामा आएका नयाँ सांसदहरूलाई संसद्‍को कतिवटा र कतापट्टि ढोका छ भन्ने समेत थाहा नभएको टिप्पणी गरे । यस्तो परिस्थितिमा आफ्नै दलका सांसद कार्कीले संसद्‍मा सेटिङ भएको भन्दै लगाएको आरोप गलत नै भएको उनले जिकिर गरे ।

‘सेटिङकै कुरा गर्ने हो भने त जो साथीहरू पहिले पनि संसद्‍मा हुनुहुन्थ्यो, वहाँहरूलाई थाहा हुन्छ, हामी त भर्खर आउँदैछौं, सिक्दैछौं, जान्दैछौं,’ थापाले भने, ‘यसमा कसैले शंका–उपशंका आरोप–प्रत्यारोप गर्नुहुँदैन, हामीले मिलेर संसद् चलाउनु पर्छ, सांसदहरू एक भएर प्रदेशको समृद्धिको पाटोमा लाग्नुपर्छ ।’

ढ्यापढ्यापेको अभ्यास

नेपालको संसदीय अभ्यास हेर्दा ‘ढ्यापढ्यापे’ को प्रयोग अहिले त अन्य प्रदेशका प्रदेशसभामा पनि भइसकेको छ । संघीय संसद्‍बाट यसको प्रचलनमा अघि बढेको देखिन्छ । नेपालको संसद्‍मा यस्तो प्रयोगको इतिहास भने २०५२ सालको संसद्‍मा पहिलो पटक गरिएको थियो ।

त्यतिबेला तत्कालीन नेकपा एमालेका प्रधानमन्त्री मनमोहन अधिकारी हुँदा विपक्षमा रहेको नेपाली कांग्रेसकै सांसदहरूले कार्यसूचीमा प्रवेश हुनुअघि नै सामूहिक रूपमा टेबुलमा ढ्यापढ्याप पार्दै बोल्ने समय माग गरेका थिए । त्यसपछि संसद्‍मा यस्तो परम्पराको सुरुवात भएको संसदीय मामिलाका जानकारहरू बताउँछन् ।

ढ्यापढ्यापे समयबारे न त प्रतिनिधिसभाको नियमावलीमा व्यवस्था छ, न त प्रदेश १ को प्रदेशसभा नियमावलीमा नै । संसद् चल्न र चलाउनका लागि सबैभन्दा ठूलो स्रोत भने नियमावली नै हो । त्यसपछि संसदभित्रका अभ्यास र परम्परालाई अंगीकार गर्ने प्रचलन रहेको छ ।

कार्कीले सोमबारको प्रदेशसभा बैठकमा ढ्यापढ्यापे समय प्रयोग गरे, तर सभामुख गौतमले कार्यसूचीलाई निकै अघि बढाइसकेका थिए । उनले सोमबार प्रदेशसभामा ‘ढ्यापढ्यापे’ समयको उपयोग त गरे, तर त्यसको विधिबारे भने उनी बेखबर बनेको देखिए । 

प्रदेशसभाको बैठक सुरु भएको सभामुखले जनाउ दिएलगत्तै सामूहिक रूपमा गरिने यस्तो अभ्यासको विषयमा कांग्रेसभित्रै पूर्वतयारी नहुँदा कार्की अभ्यासमै एक्लिए ।

दलको द्वन्द्व सभामा

कांग्रेसभित्र कार्की संस्थापनइतरमा देखिन्छन् । संसदीय दलको नेतामा कोइराला समूहबाट कार्की उम्मेदवार बन्दा सिटौला समूहका थापाले संस्थापन समूहको समेत गरी १८ भोट पाएर निर्वाचित भएका थिए । कार्कीले ९ भोट पाएका थिए ।

संसदीय दलमा बलियो पकड बनाएका थापाले दलको प्रमुख सचेतकमा पनि संस्थापन समूहबाट खोटाङका भुपेन्द्र राईलाई मनोनीत गरिसकेका छन् ।

सोमबार बनेको प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिमा पनि थापाले प्रमुख सचेतक राईसहित आफ्नै समूहका सांसद भीम पराजुलीलाई सदस्य पठाइसकेका छन् । त्यसका साथै प्रदेशसभा नियमावली मस्यौदा समितिमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने तीन सदस्यहरू मध्ये मोहन महर्जन र शोभा चेम्जोङ समेत थापा निकटकै सांसद हुन् । एक सदस्य भने कार्की रहेका छन् ।

संसदीय दलभित्र नेता थापाले संस्थापनइतरलाई पाखा लगाउँदै गएको निष्कर्षमा कार्की पुगेका कारण उनले घुमाउरो पारामा संसद्‍ भित्रबाटै थापामाथि पनि चुनौती दिइरहेको बुझ्न सकिन्छ । त्यसैले कार्कीले भनेको सेटिङभित्र दलका नेता थापासमेत अघोषित रूपमा जोडिएका हुन् ।

प्रदेशसभाको दोस्रो कार्यकालको तीन महिना पुग्न लाग्दा सांसदहरूले शून्य र विशेष समयमा बोल्न पाएका छैनन् । यो विषयमा कांग्रेस नेता थापा र सत्ता पक्षका सांसदहरूको विचार भने मिलेको देखिन्छ । किनभने सत्ताधारी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले समेत कार्कीले संसद्‍मा गरेको अभ्यास गलत भएको संकेत गरेका हुन् ।

‘यस्ता अभ्यासहरू आजबाट जे सुरु गरिन्छ, भोलि पनि त्यै हुन्छ, त्यसकारण त्यसको परिपक्वता हुनुपर्छ,’ उनले भने, ‘सर्वदलीय बैठक भनेको आधिकारिक त होइन, आधिकारिक त कार्यव्यवस्था नै हो, आज बिहानको सर्वदलीय बैठकले कार्यव्यवस्था बनेपछि शून्य समयको समयावधि निर्धारण गरेर संसद् अघि बढाओस् भन्ने कांग्रेस, एमाले माओवादी सबैको सर्वसम्मत सहमति हो ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x