कोशी

प्रदेश १

सरकारमा सहभागी नहुने माओवादी संसदीय दलका नेताको घोषणा, सांसद भन्छन्– आधिकारिक निर्णय भएको छैन

बाबुराम भण्डारी |
पुस २५, २०७९ सोमबार १२:११ बजे

विराटनगर - मुख्यमन्त्री आकांक्षी नेकपा (माओवादी केन्द्र) प्रदेश १ को का संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोले सरकारमा सहभागी नहुने एकल निर्णय गरेपछि माओवादीभित्र विवाद चर्किएको छ । आङ्बोले व्यक्तिगत रूपमा निर्णय गरेको भन्दै केन्द्रीय सदस्य समेत रहेका अरु सांसदहरूले अहसमति जनाएका छन् ।

प्रदेश १ मा आलोपालो मुख्यमन्त्री हुनुपर्ने माग गर्दै आएका आङ्बोले पार्टी नेतृत्वले गरेको निर्णयप्रति असहमति जनाउँदै प्रदेश सरकारमा सहभागी नहुने घोषणा गरेका हुन् । तर माओवादी संसदीय दलभित्र अरु सदस्यहरूले भने आङ्बोको निर्णय पार्टीको संस्थागत निर्णय नभएको बताएका छन् ।


माओवादी केन्द्र समेतको समर्थनमा प्रदेश १ मा आइतबार नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कुमार कार्कीले मुख्यमन्त्रीमा दाबी गरेका थिए । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई हिजै बेलुका मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् ।

सोमबार २ बजे मुख्यमन्त्री कार्कीको शपथ ग्रहण तय भइसकेको छ । त्यसअघि नै एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाबाट एक एकजनालाई सहभागी गराएर सानो आकारको मन्त्रिमण्डल समेत टुंगो लगाउने गृहकार्य भइरहँदा आङ्बोले सरकारमा सहभागी नहुने घोषणा गरेका हुन् ।

उनले एमालेका कार्कीलाई मुख्यमन्त्रीमा गरेको समर्थन भने कायमै रहने बताएका छन् । यता आङ्बोले कसैसँग सरसल्लाह नगरी एकल रूपमा निर्णय गरेको भन्दै माओवादी संसदीय दलका अरु सदस्यहरूले भने असन्तुष्टि जनाएका छन् ।

पार्टी केन्द्रीय सदस्य समेत रहेका दुर्गाप्रसाद चापागाँईले पार्टीभित्र सहभागी नहुने विषय आधिकारिक निर्णय नभएको बताएका छन् । ‘हामीले पार्टी केन्द्रको निर्देशन मान्छौं, यो विषयमा कतै आधिकारिक निर्णय भएको छैन’ चापागाँईले भने, ‘केन्द्रको निर्णय र परामर्शविपरीत हामी केही निर्णय गर्दैनौं ।’

सत्ता साझेदार दलहरूबीच आइतबार प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले, सभामुखमा माओवादी केन्द्र, उपसभामुखमा एमालेले नेतृत्व गर्ने सहमति भएको थियो । तर आङ्बोले आलोपालो नभए सरकारमै नजाने घोषणा गरेपछि माओवादी संसदीय दलको बैठक डाकिएको जनाइएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x