कोशी

प्रदेश १ : सरकार गठन गर्न दिएको समय आज सकिँदै, कार्कीको नेतृत्वमा दाबी पेश गर्ने एमालेको तयारी

बाबुराम भण्डारी |
पुस २४, २०७९ आइतवार ११:५५ बजे

विराटनगर - प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार गठनको तयारी अघि बढेको छ । प्रदेश प्रमुख परशुराम खापुङले दिएको आठ दिनको समय सीमा आज आइतबार बेलुका ५ बजे सकिंदैछ ।

त्यसअघि नै सरकार गठन गर्न नयाँ गठबन्धन सम्वद्ध दलहरू सक्रियता देखाएका छन् । प्रदेश १ मा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री दाबी गरे पनि एमालेकै नेतृत्वमा सरकार बन्ने निश्चितजस्तै रहेको थियो ।


यद्यपि केन्द्रीय तहमा भएको सहमतिको खाका सार्वजनिक नभए पनि प्रदेश १ मा एमालेले नै सरकारको नेतृत्व पाउने निश्चित भएका कारण आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेश गर्ने तयारी गरेको जनाइएको छ । नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले प्रदेश १ को चौथो मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने तयारी अघि बढाएका छन् ।

स्रोतका अनुसार आइतबार प्रदेश प्रमुखले तोकेको समयभित्रै नयाँ सरकार गठन गर्ने तयारी अघि बढेको जनाएको छ । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था अनुसार कार्कीले माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी गरेका हुन् ।

प्रदेश १ मा १६८ को (१) बमोजिम कुनै पनि दलको एकल बहुमत नभएका कारण उपधारा (२) बमोजिमको सरकार गठनको प्रक्रिया अघि बढाइएको हो । प्रदेश प्रमुख खापुङले पुस १७ मा विज्ञप्तिमार्फत सरकार गठनको प्रक्रियाका लागि दलहरूलाई आह्वान गरेका थिए ।

सोही अनुसार नयाँ सरकार गठनका लागि सक्रिय रहेका गठबन्धन दलहरूबीच कार्कीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने तयारी अघि बढेको जनाइएको छ । दाबी पेश भएपछि प्रदेश प्रमुख खापुङले आजै कार्कीलाई मुख्यमन्त्री पदमा नियुक्त गरेको पत्र दिनेछन् ।

त्यसपछि कार्कीले चारदलीय गठबन्धनमा रहेका दलहरूबाट सानो आकारको मन्त्रिमण्डल गठन गर्ने गरेका छन् । मन्त्रिमण्डलमा अहिलेलाई चारवटै दलबाट एक एकजना सहभागी हुने जनाइएको छ । सरकार गठनका बिषयमा एमाले संसदीय दलका नेता कार्की र माओवादी केन्द्रका नेता इन्द्र बहादुर आङ्बोबीच यसअघि नै एक चरणको छलफल भइसकेको छ ।

त्यसैगरी राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र जसपाकी एकमात्र प्रदेशसभा सदस्य निर्मला लिम्बुबीच पनि सरकार गठनको खाकाका बिषयमा एमालेले छलफल गरेको जनाएको छ । आज कुनै कारणले दाबी पेश नभए पुस २८ गतेसम्म १६८ को उपधारा (२) अनुसारकै सरकार गठनका लागि दलहरूले समय पाउने छन् ।

पुस २८ सम्म पनि सरकार गठन नभए १६८ को उपधारा (३) मा प्रवेश हुनेछ । त्यसमा प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था उल्लेख छ ।

प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४० सिट सुरक्षित छ । सरकारमा सहभागी हुने माओवादीसँग १३, राप्रपासँग ६ र जसपासँग एक सिट छ । त्यसैगरी प्रमुख प्रतिपक्षमा पुग्ने नेपाली कांग्रेससँग २९ र नेकपा एकीकृत समाजवादीसँग ४ सिट रहेको छ । सरकार गठनका लागि बहुमत संख्या ४७ हो । हाल कायम भएको नयाँ सत्ता गठबन्धनसँग सरकार गठनका लागि ६० सिट सुरक्षित भइसकेको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x