कोशी

मोरङमा ६८ स्वतन्त्रसहित १६६ उम्मेदवारको जमानत जफत

इकागज |
मंसिर १४, २०७९ बुधबार १७:५१ बजे

विराटनगर । मोरङमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनका १६६ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधिसभाका ८७ जना र प्रदेशसभाका ७९ जनाको जमानत जफत भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । जमानत जफत भएका मध्ये ६८ जना भने स्वतन्त्र उम्मेदवार हुन् ।

प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ६ वटा निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी कायम थियो । राजनीतिक दलको तर्फबाट ६१ र स्वतन्त्र ४४ जना थिए । त्यस्तै प्रदेशसभाका १२ वटा निर्वाचन क्षेत्रमा ११० उम्मेदवार मध्ये दलबाट ८४ र २६ स्वतन्त्र उम्मेदवार रहेका थिए ।


निर्वाचन कार्यालयका अनुसार मोरङमा प्रतिनिधिसभातर्फ कायम भएका उम्मेदवारमध्ये ९१ प्रतिशत अर्थात ८७ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधिसभा उम्मेदवार हुनका लागि निर्वाचन आयोगले १० हजार रुपैयाँ र प्रदेशसभामा ५ हजार रुपैयाँ धरौटी तोकेको थियो । जसमा महिला, दलित, अल्पसंख्यक र आर्थिक रुपले विपन्नको हकमा ५० प्रतिशत धरौटी छुट हुने व्यवस्था रहेको थियो । उम्मेदवारले आफ्नो क्षेत्रको कुल सदर मतको १० प्रतिशत कटाउन नसके जमानत जफत हुने कानुनी व्यवस्था अनुसार मोरङमा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर ३ मा सवैभन्दा बढि २८ जनाको धरौटी (जमानत) जफत भएको छ ।

त्यसैगरी क्षेत्र नम्बर १, २ र ६ मा ११÷११ जना तथा क्षेत्र नं. ४ र ५ मा १३÷१३ को जमानत जफत भएको जनाइएको छ । प्रतिनिधिसभातर्फ जमानत जफत हुने स्वतन्त्र उम्मेदवारको संख्या ४३ रहेको छ । प्रदेशसभातर्फ ७९ जनाको जमानत जफत हु“दा स्वतन्त्र उम्मेदवार २५ जना छन् । प्रदेशसभा १ (१) मा ३, १ (२) मा ५, २ (१) मा १०, २ (१) मा ८, ३ (१) मा ४, ३ (२) मा १० जनाले जमानत जोगाउन सकेनन् ।

त्यस्तै प्रदेशसभा क्षेत्र ५ (१) मा ३, ५ (२) मा ७ र ६ (१) मा १० र ६ (२) मा ८ जनाको जमानत जफत भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तिर्थ अधिकारीले जानकारी दिए । प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस प्रदेश समितिका सदस्यद्वय गोपाल रेग्मी र जनार्दन राम निरौलाले जमानत जोगाउन सकेनन् । निरौला भने नेपाली कांग्रेस विपीबाट चुनाव उठेका थिए । मोरङमा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ४ लाख ८५ हजार ४९९ अर्थात ६६ दशमलव ०१ प्रतिशत मत खसेको थियो । जसमा ४ लाख ५६ हजार ६३३ मत सदर भएको जनाइएको छ । प्रदेशसभामा ४ लाख ८४ हजार ८४५ अर्थात ६५ दशमलव ९२ मत खसेकोमा ४ लाख ६३ हजार ०६२ मत सदर भएको जनाइएको छ ।


Author

थप समाचार
x