कोशी

ढिलासुस्ती गर्ने निर्माण कम्पनीको स्काभेटर र ट्याक्टरमा नगरको ताला

इकागज |
मंसिर १३, २०७९ मगलवार २१:५ बजे

सांकेतिक तस्विर

खोटाङ - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतीको काम अलपत्र पार्ने निर्माण कम्पनीको एउटा स्काभेटर र दुई वटा ट्याक्टरमा ताला लगाएको छ । दिक्तेलको हाटडाँडा–काफ्लेगाउँ–घुम्तीबर सडक र भुते जिरो प्वइन्ट–आयुर्वेद सडक स्तरोन्नतीको काम अलपत्र छाडेर हिँड्न लागेको भन्दै निर्माण कम्पनी लगलगे कन्स्ट्रक्सनको एउटा हुन्डाइ स्काभेटर, लु ३ त ८७६८ तथा ना ६ त २६१ नम्बरको ट्याक्टरलाई साङ्लोले बाँधेर ताला लगाइदिएको हो । 

करिब आठ महिना म्याद बाँकी रहँदा निर्माण व्यवसायीले निर्माणस्थलमा रहेको मेसिनरी सामान अन्यत्र लैजान थालेको पाइएपछि मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ लफ्याङका वडाध्यक्ष एवं नगर प्रवक्ता दिनेशकुमार घिमिरे र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राईले टेकेटार पुगेर स्काभेटर र ट्याक्टरलाई फलामको साङ्लोले बाँधेर ताला झुण्ड्याइदिएका छन् ।


मेयर तीर्थराज भट्टराईको निर्देशनमा उपमेयर बिसन राईको उपस्थितिमा लगलगे कन्स्ट्रक्सनको हेभी इक्वीपमेन्टलाई ताला हालेर नियन्त्रणमा राखिएको हो । सडक स्तरोन्नतिको काम पुन: सुचारु नहुञ्जेल वा अर्को व्यवस्था नभएसम्मका लागि हेभी मेसिनरी सामानमा ताला लगाइएको नगर प्रवक्ता घिमिरेले स्काभेटरमा टाँस गरेको विज्ञप्तिमा उल्लेख छ । ब्रेकरको मेसिन बोकेर दिक्तेलबाट बाहिरिँदै गरेको एउटा ट्याक्टरलाई भने बाटोबाट फर्काएर ताला लगाइएको हो । 

अस्पतालचोक–लफ्याङको दुबेचिवा (३ किलोमिटर) सडक स्तरोन्नतिको काम अलपत्र छाडेर हिँड्न लागेको भन्दै गत २० कात्तिममा निर्माण कम्पनी ढुकुछु/बगाले/बिएनटी जेभीको एक्स्काभेटर र व्याकहो लोडरमा ताला लगाएको नगरपालिकाले लगलगे कन्स्ट्रक्सनको मेसिन नियन्त्रणमा लिएर ताला लगाइदिएको हो । नगरपालिकामा आएर सडक स्तरोन्नतिको अवरुद्ध काम तत्काल सुचारु गर्ने र बाँकी रहेको समयभित्रै काम सम्पन्न गर्ने लिखित कबुलियतनामा गरेपछि २६ कात्तिकमा ढुकुछु/बगाले/बिएनटी जेभीको एक्स्काभेटर र व्याकहो लोडरको ताला खुला गरिएको थियो ।

लगलगे कन्स्ट्रक्सनले सटक स्तरोन्नतिको कामलाई द्रुत गतिमा सम्पन्न गर्नतिर लाग्नुको सट्टा निर्माणस्थलमा भएका सामान अन्यत्र लगेर कामलाई झनै पछि धकेल्न खोजेकाले ताला लगाइएको नगर प्रवक्ता घिमिरेले बताए । काम सुचारु गरेपछि मेसिनमा लगाइएको ताल्चा खुला गरिने नगरपालिकाले जनाएको छ । 

सघन सहरी विकास तथा भवन निर्माण आयोजना, ओखलढुंगामार्फत प्राप्त ४६ लाखमा सम्पन्न गर्नेगरी हाटडाँडा–काफ्लेगाउँ–घुम्तीबर सडकको ठाउँ–ठाउँमा ढलान तथा स्तरोन्नति गर्नेगरी ठेक्का लागेको थियो । २० माघ २०७८ देखि सुरु गर्नुपर्ने सम्झौता गरिएको सडकको एक पटक म्याद थप भइसकेको छ । तर थप म्यादको आठ महिना समय बाँकी रहँदा करिब ५० प्रतिशत मात्र काम सम्पन्न भएको प्रवक्ता घिमिरेले बताए ।

यस्तै, पहिलोपल्ट म्याद थप भइसक्दा दिक्तेलको भुते–जिरो प्वइन्ट–आयुर्वेद सडक स्तरोन्नतिको काम अधुरै छ । सघन सहरी विकास तथा भवन निर्माण आयोजना, ओखलढुंगाको २३ लाख ६८ हजारमा पुरा गर्नेगरी लगलगे कन्ट्रक्सनले भुते–जिरो प्वइन्ट सडक स्तरोन्नतीको ठेक्का लिएको थियो । २० माघ २०७८ देखि काम सुरु गर्ने सम्झौता भएको आयोजनाको म्याद पनि आठ महिना मात्र बाँकी छ । 

सडक स्तरोन्नतिको काममा ढिलासुस्ती हुँदा नगरपालिकाको अन्य विकासमा अवरोध पुगेको साथै आवत–जावत गर्ने स्थानीयले सास्ती खेप्नु परेको घिमिरेले बताए । ‘नगरभित्रको सडक स्तरोन्नतिको काममा ढिलासुस्ती हुँदा नगरकै विकासमा अवरोध पुगिरहेको छ,’ घिमिरेले भने, ‘बिरामीलाई अस्पतालसम्म लैजान र ल्याउन समस्या भइरहेको छ । आवतजावत गर्ने ज्येष्ठ नागरिक, अशक्त, बालबालिका र महिलालाई सास्ती भइरहेको छ ।’ 

मेयर भट्टराईले गत ३ कात्तिकमा पत्रकार सम्मेलनमार्फत अलपत्र १७ योजना र सम्बद्ध निर्माण कम्पनीको विवरण सार्वजनिक गर्दै भएका प्रगति, मासिक कार्ययोजना र मासिक प्रगति विवरण बुझाउन निर्देशन दिएका थिए । पत्रकार सम्मेलनको मितिबाट ३५ दिनभित्र काम सुचारु नगरे र तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्ने स्थिति नभए कानुन बमोजिम हदैसम्मको कारबाहीका लागि नियामक निकायमा सिफारिस गर्ने चेतावनी दिइएको थियो । 


Author

थप समाचार
x