कोशी

अनुगमन

बजारको दाउ हजार : कतै खसी भन्दै बाख्राको मासु, कतै पाँच महिनादेखि सडेका माछा

बाबुराम भण्डारी |
असोज १४, २०७९ शुक्रबार १२:२० बजे

विराटनगर- दसैँ तिहार लगायतका चाडपर्वको मौका छोपेर विराटनगरमा माछामासु पसलेहरूले अस्वस्थ मासु बिक्री गर्दै उपभोक्ताहरूलाई ठग्ने गरेको पाइएको छ । विराटनगर महानगरपालिकाले प्राप्त भएका गुनासोका आधारमा गरिएको अनुगमनका क्रममा माछामासु पसलेहरू कसैले खसीको भन्दै बाख्राको मासु र कसैले गन्हाइसकेको माछामासु बिक्री गर्ने गरेको भेटिएको हो ।

पुरानो गुद्रीलगायतका विभिन्न स्थानमा रहेका माछामासु पसलमा मेयर नागेश कोइरालाकै उपस्थितिमा भएको अनुगमनका क्रममा खसीको मासु भन्दै बाख्राको मासु बिक्री भइरहेको भेटिएको हो । अनुगमनका क्रममा पाँच महिनादेखि डिप फ्रिजमा राखिएको माछा पनि भेटियो । पुरानो गुद्रीसहित सरोचिया, बरगाछी, तीनपैनी, देवकोटाचोक लगायतका स्थानमा रहेका माछामासु पसलमा अनुगमन गर्दा खसीको भन्दै बाख्राको मासु बिक्री भइरहेको फेला परेको हो ।


‘बजारको दाउ हजार’ भनेझैँ चाडपर्वको मौकामा उपभोक्ताहरूमाथि ठगी गर्ने, अखाद्य वस्तुको अवैध बिक्री वितरण गर्ने लगायतका गतिविधिहरू हुने गरेको गुनासो टोल फ्री नम्बरमा आउन थालेपछि बजार अनुगमनलाई महानगरपालिकाले तिब्रता दिइरहेको छ ।

चाडवाडमा उपभोग्य वस्तुको किनमेलका लागि बजारमा पुग्ने उपभोक्ताहरू ठगीमा पर्नसक्ने तर्फसचेत रहेको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बताए । अनुगमनकै क्रममा खसीको भनेर बाख्राको मासु, खसी र खुकुराको गन्हाइसकेको मासु, रङ दलेर ताजा रहेको देखाइएको मासु र पाँच महिनादेखि राखेको माछा बरामद गरी नष्ट गरेको उनले जानकारी दिए ।

अनुगमनका क्रममा विराटनगर–७ र ८ हाटखोलास्थित जेकी मिटमा खसीको भनेर बाख्राको मासु बिक्रीमा राखेको, गाउँले मिट हाउसमा गन्हाएको मासु बिक्री गरेको, देवकोटा चोकस्थित रोयल मल्लिक मिट सेन्टरमा गन्हाएको मासु बिक्री गरेको, नबि फ्रेस हाउस तीनपैनीमा बाख्राको मासु बिक्री गरेको, त्यहीँको जाकिर फ्रेस हाउसमा खसीको गन्हाएको मासु भेटिएको थियो ।

त्यसैगरी विराटनगर–८ को विराट एकीकृत कृषि फर्मको नाममा सञ्‍चालित माछा बिक्री केन्द्रमा करिब ५ महिनादेखि राखेको १९ किलो सडेको माछा फ्रिजमा भेटिएको थियो । मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने अखाद्य अवस्थाको माछामासु बरामद गरी अनुगमन टोलीले फिनेल हालेर नष्ट गरेको हो ।

बरामद भएको माछामासुलाई नष्ट गरी सम्बन्धित पसलमाथि कारबाहीको प्रक्रिया अघि बढाइएपनि अस्पष्ट कानुनी व्यवस्था र विशेषज्ञको अभावमा थोरै जरिवाना गरेर छाड्नुपर्ने अवस्थामा रहेको महानगरपालिकाले जनाएको छ । 
अनुगमन टोलीका सदस्य तथा विराटनगर महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख दिपक पौडेलले अनुगमनका क्रममा विभिन्न मासु पसलबाट खान नमिल्ने माछामासु बरामद गरी नष्ट गरिएको बताए । तर मासु बरामद गरेर नष्ट गरिएपनि पसल सञ्‍चालकहरूलाई भने कडा कारबाही गर्न कठिनाई भएको उनले जानकारी दिए ।

महानगरपालिकाले तयार पारेको बजार अनुगमन निर्देशिका २०७५ मा मासु पसलबाट बिक्री हुने माछामासुको गुणस्तरको बिषयमा स्पष्ट रुपमा व्यवस्था नभएको र माछामासुको हकमा पशु बधशाला र मासु जाँच ऐन २०७५ ले निर्दिष्ट गरेको विशेषज्ञ सहितको अनुगमन गर्न विशेषज्ञको अभाव भएको पौडेलले बताए । ‘ठाउँ ठाउँबाट खान नमिल्ने मासु जफत गरिएको छ, बजार अनुगमन सँगसँगै संघीय पशु बधशाला र मासु ऐन पनि मान्नुपर्ने रहेछ, प्रदेश र स्थानीय तहले चिकित्सक सरह तहको मासु निरीक्षक राख्नुपर्ने व्यवस्था गरेको छ’ उनले भने, ‘मासु निरिक्षकले नै कारबाहीको प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था छ, हामीले सुरुमा सम्झाउने र नभए ५ हजारसम्म जरिवाना गर्नेमात्रै रहेछ ।’

उनले अनुगमनका क्रममा खटिने प्रतिनिधिहरूको रोहबरमा माछामासु खान योग्य हो कि होइन भनेर भन्न नसकेपछि गन्हाएको र सडेको आधारमा नष्ट गर्दै अनुगमनलाई अघि बढाइरहेको बताए । उनले उपभोक्ताको हितका लागि भनेर असल मनसायले काम गरिरहेको दाबी गर्दै प्रदेश सरकारसँग समन्वय गरेर मासु निरिक्षकको व्यवस्थापन गर्न छलफल भइरहेको जानकारी दिए । साथै पछिल्लो पटकका अनुगमनका क्रममा अस्वस्थ मासु बिक्री गर्ने पसलहरूमा नगर प्रहरी राखेर निगरानी गराइरहेको बताए । 

१७ दिनमा ५३ गुनासो
नगरवासीले भोग्नु परेको अप्ठेरो, विभिन्न खालका बेथिति र समस्याबारे महानगरपालिकालाई जानकारी गराउन हटलाइन (टोल फ्रि) नम्बरको व्यवस्था गरेको उपमेयर शिल्पा कार्कीले बताइन् । गुनासोहरूलाई सम्बोधन गर्नका लागि उक्त हटलाइन स्थापना गरी नगरबासीलाई सार्वजनिक रुपमै आग्रह गरिसकेको उनले जानकारी दिइन् ।

महानगरपालिकामा २०७९ भदौ २९ मा फोन गर्दा पैसा नलाग्ने टोल फ्रि नम्बर १६६०२१४२२२२ जडान गरिएको छ । टोल फ्रि नम्बर स्थापनायता बिहीबार बेलुकासम्म ५३ वटा गुनासो, उजुरी तथा सुझाव प्राप्त भएको जनाइएको छ । २४ घण्टा नै सञ्‍चालन हुने भनिएको हटलाइनको व्यवस्थापन महानगर प्रहरीले गर्दै आएको छ ।

विराटनगरका माछामासु पसलहरूले अस्वस्थ माछामासु बिक्री गरिरहेको गुनासो पनि सोही हटलाइनमै प्राप्त भएको थियो । प्राप्त गुनासोको आधारमा भएको अनुगमनमा उपभोक्ताहरूको स्वास्थ्यमा गम्भीर असर पुग्ने खालको सडेगलेको माछामासु समेत बिक्री भइरहेको भेटिएपछि त्यस्तो माछामासु नष्ट गरिएको जनाइएको छ ।

उपमेयर कार्कीको नेतृत्वमा यसअघि विराटनगरको शिवम् डेरी र जीवन विकास डेरीलगायतका केही डेरी उद्योगमा स्थलगतमा अनुगमन गर्दा किरा परेको दही बिक्री हुने गरेको र प्रशोधनस्थलमा अत्याधिक फोहोर भेटिएपछि त्यस्तो दुग्धजन्य पदार्थ नष्ट गराइएको थियो ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x