कोशी

यस्ताे छ चाडपर्वमा मोरङ प्रहरीको सुरक्षा योजना

१२९१ प्रहरी परिचालन गर्ने तयारी, होटल लजमा विशेष निगरानी

इकागज |
असोज १३, २०७९ बिहीबार २०:१५ बजे

विराटनगर । मोरङ प्रहरीले आगामी दशैं र तिहारलगायतका आगामी चाडपर्व केन्द्रीत सुरक्षा योजना सार्वजनिक गर्दै १ हजार २९१ प्रहरी परिचालनको तयारी गरेको छ । सवैभन्दा बढी पिकेट गस्ती गराइने प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बडादशैं, दिपावली र छठ पर्वको समयमा नागरिकको स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक आस्था, धनजनको सुरक्षा, उपभोक्ताको अधिकार, आ–आफ्नो गन्तव्यमा जाने यात्रुहरुको सुरक्षा, चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी हुन सक्ने उच्छृङखल गतिविधि लगायतका कानुन विपरितका कार्य रोक्न सुरक्षा योजना तयार पारिएको जानकारी दिए । उनले उक्त अवधिमा राजमार्ग र सहायक मार्गहरुमा हुन सक्ने अपराधिक र अवाञ्चित कार्यहरुमा समेत प्रहरीले विशेष ध्यान दिने बताए ।


चाडपर्वका अवसरमा सरकारी कार्यालय, महत्वपूर्ण प्रतिष्ठान, बैंक तथा वित्तीय संघसंस्था, सुनचाँदी पसल आदिको भरपर्दो एवं विश्वसनीय सुरक्षा व्यवस्था मिलाइने प्रहरी उपरीक्षक कोइरालाले बताए । प्रहरीले दशैं र तिहारमा घर जाने आउने यात्रुहरुको भिडभाड हुने भएकोले जिल्लाका विभिन्न ६ स्थानमा यात्रु सहायता कक्षामार्फत सेवा प्रवाह गर्ने तयारी गरिएको जनाएको छ । त्यसका लागि ३० जना प्रहरी परिचालन हुने प्रहरी उपरीक्षक कोइरालाले बताए । उनले चाडपर्वकै मौका छोपेर सवारी साधनको दुरुपयोग र ट्राफिक नियम उल्लंघन हुनेतर्फ पनि प्रहरी सचेत रहेको बताए ।

त्यसका लागि विभिन्न २५ वटा टोलीमार्फत १५० जना प्रहरी परिचालन गरी ट्राफिक चेकिङ गरिने जनाइएको छ । शान्ति सुरक्षालाई खलल् पु¥याउने उदेश्यले हुनसक्ने सम्भावित घटना नियन्त्रणका लागि बजारबाट सूचना संकलन गर्न जिल्लाभर २५ जना सादा पोशाकका प्रहरी परिचालन गर्ने पत्रकार सम्मेलनमा जनाइएको हो । प्रहरीले जिल्लास्थित होटल, लज र रेष्टुरेन्टहरुको निगरानी र चेकजाँच गर्ने, सिमावर्ती क्षेत्रमा निगरानी बढाउने र सरोकारवाला निकायसँग समन्वय गर्ने, तालिम प्राप्त कुकुरहरुको समेत परिचालन गरी चेकजाँच गर्ने, सुरक्षा सम्बन्धी चेतनामूलक पर्चा पम्प्लेट र जिंगल प्रकाशन, वितरण र प्रशारण गर्ने नीति लिएको जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरु, सुनचाँदी पसलहरु तथा आर्थिक कारोबार हुने स्थानहरुमा सादा पोशाकका प्रहरी परिचालन, चोरी लुटपाट लगायतका घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गर्न सादा पोशाकका प्रहरीमार्फत एम्बुस कारबारी गर्ने रणनीति बनाएको छ । दशैं र तिहार लगायतका मुख्य चाडवाडलाई सुखद र शान्तिपूर्ण बनाउन चोरी, डकैति, लुटपाट, पेय पदार्थमा मिसावट लगायतका गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरुलाई कारवाही गर्ने प्रहरीले जनाएको छ ।

त्यस्तै चिठ्ठा, बम्पर उपहार लगायतका अन्य प्रकारका गतिविधिबाट ठगीजन्य कार्यहरु हुनसक्ने भन्दै त्यसको नियन्त्रणमा समेत प्रहरीलाई परिचालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । भुँईचम्पा, पटका लगायतका विस्फोटक पदार्थको प्रयोगबाट अगलागीका घटना हुनेतर्फ प्रहरीले विशेष अभियान चलाउने, सर्वसाधारणलार्य सर्वसुलभ रुपमा बसको टिकट काट्ने व्यवस्थाका लागि यातायात व्यवसायीहरुसँग समन्वय र सहजीकरण गर्ने लगायतका बिषय सुरक्षा योजनामा समावेश गरिएको जनाइएको छ ।

प्रहरीले प्रमुख व्यापारिक नाकाको उपयोग गर्नुको साटो खुल्ला सिमानाको फाइदा उठाएर चाडपर्व र आगामी निर्वाचनको आडमा तस्करी लगायत विभिन्न अपराधिक घटनाहरु समेत हुन सक्नेतर्फ समेत आवश्यक योजना तयार पारेको जनाइएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको बेला हुने चुनाव लक्षित घरदैलो, भेटघाट, छलफललगायतका कार्यक्रममा योजनाबद्ध रुपमा प्रहरी परिचालनको तयारी गरेको जनाइएको छ ।

जसअन्तरगत ६२ वटा पिकेट गस्तीमा मात्रै २८८ जना प्रहरी परिचालन गरिने उनले बताए । त्यसैगरी १८ वटा सवारी गस्तीमार्फत १२३ जना, ६९ वटा पैदल गस्ती टोलीमा २७६ जना, ८१ वटा मोटरसाइकल गस्तीमा २१४ जना प्रहरी परिचालन हुने प्रहरीको सुरक्षा योजनामा उल्लेख छ । चाडपर्वमा हुन सक्ने उपभोक्ता अधिकारविरुद्धका गैरकानुनी गतिविधि रोक्नका लागि ८ वटा अनुगमन गस्तीमार्फत ४० जना, महत्वपूर्ण प्रतिष्ठानहरुको सुरक्षामा १४ वटा टोलीमार्फत ३५ जना, धार्मिक स्थलहरुको सुरक्षामा ६५ जना प्रहरीले परिचालन हुने जनाइएको छ ।


Author

थप समाचार
x