कोशी

रघुपति जुटमिलले मनायाे स्थापनाकाे हिरक वर्ष, ४० वर्ष काम गरेका तीन मजदुर सम्मानित

इकागज |
असोज १०, २०७९ सोमबार १७:२४ बजे

विराटनगर । आधुनिकऔद्याेगिक इतिहासको जन्मथलो मानिने विराटनगरको रानीमा २००३ सालदेखि सञ्चालनमा आएको विराटनगरको दोस्रो ठूलो जुट उद्योग श्री रघुपति जुट मिलले सञ्चालनको हिरक जयन्ती मनाएको छ । जुट मिल परिसर विराटनगर–१७ मा सोमबार आयोजित हिरक जयन्तीको समापन कार्यक्रममा ४० वर्षदेखि काम गरेका तीनजना मजदुरलाई सम्मान समेत गरिएको हो ।

सम्मानित हुनेहरुमा उद्योगका जुट इन्चार्ज लक्ष्मण चौधरी, जुट हेड मदन राम र आयल म्यान इन्चार्ज हरिकुमार मानन्धरलाई सम्मानित गरिएको हो । उनीहरुले जुट मिलमा ४० वर्ष बढी काम गरेको जनाइएको छ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष शेखर गोल्छा, जुट मिल संचालक समिति अध्यक्ष राजकुमार गोल्छा लगायतले उनीहरुलाई सम्मानित गरेका हुन् ।


तिनैजनालाई जनही २५ हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको हो । हिरक जयन्तीको समापन समारोहमा गोल्छा अर्गनाइजेशनका अध्यक्ष लोकमान्य गोल्छाले आफ्नो हजुरबुवा स्वर्गीय रामलाल गोल्छाको सक्रियतामा जुटमिल स्थापना गरेको बताए । उनले जुट उद्योगबाटै आफ्नो मौलिक पहिचान बनाएको गोल्छा परिवारको नेतृत्वमा अहिले पनि उद्योग संचालन भइरहेको जानकारी दिए ।

सरकारकै मातहतमा संचालित भएको श्री रघुपति जुट मिललाई २०५३ सालमा निजीकरणका क्रममा गोल्छा अर्गनाइजेशन अन्तरगतको अरिहन्त मल्टी फाइवर्स लिमिटेडले खरिद गरेको थियो । सरकारको मातहतमा रहेको बेलामा एक हजार २०० कामदार र दैनिक १५ टन उत्पादन क्षमतामा चलेको उद्योग निजीकरणपछि अहिले तीन हजार मजदुर र दैनिक ६० टन उत्पादन क्षमतामा संचालन भइरहेको जनाइएको छ ।

निजीकरणको २५ वर्षे अवधिमा कामदार, ट्रेड युनियन, व्यवस्थापनबीचको दृढ इच्छाको परिणाम जुट मिलले अहिले वार्षिक २५० करोड रुपैयाँको जुट कपडा भारतसहित तेस्रो मुलुकमा निर्यात गर्दै आइरहेको जनाइएको छ । संचालनको ७५ बर्ष पुरा गरेको अवसरमा हिरक जयन्ती स्मारिकाको विमोचन गर्नुका लागि श्री रघुपति जुट मिल्सको विगतलाई समेटेर तयार पारिएको वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो ।

मोरङ–सुनसरी औद्याेगिक क्षेत्रभित्र रहेका ११ वटा जुट उद्योगहरु मध्ये हाल ६ वटामात्रै संचालित छन् । सवैभन्दा पहिले स्थापना भएको विराटनगर जुटमिल भने भग्नावशेषमा परिणत् हुँदै गइसकेको छ । संचालनमा रहेका ६ वटा जुट उद्योगले आवश्यक पर्ने कच्चा पदार्थमध्ये ८० प्रतिशत भारत र बंगलादेशबाट आयात गर्ने गरेका छन् । आयातित कच्चा जुटबाट तयार पारिएको जुट कपडालाई उनीहरुले तेस्रो मुलुकसम्म पुर्‍याउने गरेका छन् । गत आर्थिक वर्षमा मात्रै जुट उद्योगहरुबाट ७ अर्व रुपैयाँ बढिको तयारी जुट वस्तु निकासी भएको तथ्यांक छ । जसका कारण अहिले पनि जुट उद्योगले व्यापार घाटा सन्तुलनका लागि जुट उद्योगको ठूलो योगदान रहेको जनाइएको छ ।


Author

थप समाचार
x