कोशी

धनकुटा माओवादीमा विद्रोह, स्वतन्त्र उम्मेदवारी दिने गरी नेताहरुकाे सामूहिक राजीनामा

जहिल्यै गठबन्धनको भारी बोक्नुपर्‍याे: भण्डारी

बाबुराम भण्डारी |
असोज ९, २०७९ आइतबार १५:२६ बजे

विराटनगर । नेकपा माओवादी केन्द्र धनकुटासम्वद्ध नेता कार्यकर्ताहरुले पदबाट सामूहिक राजीनामा दिंदै विद्रोह गरेका छन् । संविधानसभा सदस्य तथा पार्टी पोलिटव्यूरो सदस्य हेमराज भण्डारी, केन्द्रीय सदस्य धनमाया विश्वकर्मा, प्रदेश कमिटी सहसचिव ऋषिराम ढुंगाना, जिल्ला समन्वय समिति संयोजक डिल्लीराम राईसहितका नेता कार्यकर्ताहरुले राजिनामा दिएको आइतबार पत्रकार सम्मेलनमार्फत घोषणा गरेका छन् ।

शनिबार बसेको पार्टी जिल्ला समन्वय समितिको बैठकले धनकुटाबाट प्रतिनिधित्व गर्ने पोलिटव्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु, जिल्ला संयोजकसहितका नेता कार्यकर्ताहरुले सामूहिक राजीनामा दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार राजीनामा दिंदै आगामी निर्वाचनमा हसिया हथौडा चुनाव चिन्हको साटो स्वतन्त्र रुपमा चुनावमा जाने घोषणा गरेका हुन् ।


उनीहरुले पार्टी नेतृत्वले विगतदेखि नै धनकुटामा माओवादी केन्द्रलाई सिध्याउने गरी भूमिका खेलेको उनीहरुले आरोप लगाएका छन् । अघिल्लो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनका नाममा सवै पद एमालेलाई जिम्मा लगाइएको, गत स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनका नाममा सवै पद कांग्रेसलाई जिम्मा लगाइएको भन्दै त्यसका विरुद्धमा अब स्वतन्त्र रुपमा उम्मेदवारी दिएर अघि बढ्ने पोलिटव्यूरो सदस्य भण्डारीले बताए । उनले नेतृत्वबाटै पटक–पटक गठबन्धनका नाममा माओवादी केन्द्रले मात्रै भारी बोक्नुपर्ने अवस्था सिर्जना गरिएकोले स्वतन्त्र रुपमा अघि बढ्ने निर्णय गरेको जानकारी दिए ।

‘पहिलो पनि गठबन्धनको नाममा धनकुटालाई एमालेसँग मिलेर निल बनाइएको थियो, सबै एमालेलाई दिएको थियो, हाम्रो पार्टी त माथिबाटै सिध्याइएको हो यहाँ’ पोलिटव्यूरो सदस्य भण्डारीले भने, ‘हामीले पार्टी बचाइरहेका थियौं, गत स्थानीय निर्वाचनमा कांग्रेससँग गठबन्धन भयो, अहिले हामीले पार्टीलाई एक्लै जान दिनुस् भनेका थियौं, हामीलाई एक्लै जान पनि नदिने, जनतामा जान नदिने र गठबन्धनका नाममा अनावश्यक भारी बोक्नुपर्ने भएपछि हामीले राजीनामा दिएका हौं ।’

गठबन्धनका नाममा पार्टीलाई एजेण्डा र मुद्दाविहिन बनाइएको उनले आरोप लगाए । संसदीय पार्टी भएकोले पद र प्रतिष्ठालाई मात्रै लिएर जानुभन्दा बरु नागरिक तहमा स्वतन्त्र रुपमा आफ्नै एजेण्डा लिएर धनकुटाको विकास र समृद्धिको योजना लिएर जनतामा जाने उनले जानकारी दिए । भण्डारीले आफूहरुले कुनै पद र टिकटको बिषय नभई पार्टीसँगको राजनीतिक कुरा भएको दाबी गरे ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x