कोशी

प्रतिनिधिसभा निर्वाचन

मोरङका तीन संघीय क्षेत्रमा एमालेबाट एकल नाम सिफारिस

बाबुराम भण्डारी |
भदौ २०, २०७९ सोमबार ८:४ बजे

विराटनगर- मोरङका तीन वटा संघीय निर्वाचन क्षेत्रमा नेकपा एमालेले एकल नाम सिफारिस गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तरगत मोरङका ६ वटै क्षेत्रमा आकांक्षी उम्मेदवारहरूको नाम सिफारिस गरेको हो ।

जसमध्ये प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले क्षेत्र नम्बर २ बाट ऋषिकेश पोखरेल, ३ बाट भानुभक्त ढकाल र ४ मा विनोद ढकालको सर्वसम्मत एकल नाम सिफारिस गरेको जनाइएको छ । क्षेत्र नम्बर २ मा एकल सिफारिस भएका पोखरेल नेकपा एमाले मोरङका अध्यक्ष एवं संविधानसभा सदस्य समेत हुन् । उनी अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका डा. मिनेन्द्र रिजालसँग पराजित भएका थिए ।


माओवादी केन्द्रले उक्त क्षेत्रमा अहिलेसम्म कसैलाई बलियो रुपमा अघि नसारेका कारण गठबन्धनभित्र क्षेत्र नम्बर २ कांग्रेसकै भागमा पर्ने चर्चा चल्दै आएको छ । यद्यपि उक्त क्षेत्रमा कांग्रेसका रिजालसँगै नेतृ सुजाता कोइराला पनि आकांक्षीका रुपमा उत्रिइसकेकी छन् । कोइरालाले एक महिनायता क्षेत्र नम्बर २ का विभिन्न स्थानमा भएका पार्टीका कार्यक्रमहरूमा सहभागीता जनाउँदै आएकी छन् ।

क्षेत्र नम्बर ३ मा सोही क्षेत्रका सांसद एवं एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र क्षेत्र नम्बर ४ मा केन्द्रीय कमिटी सदस्य एवं मोरङ इन्चार्ज विनोद ढकालको एकल नाम सिफारिस भएको हो । ३ मा सिफारिस भएका ढकालले २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका वर्तमान महासमिति सदस्य एवं नोवेल मेडिकल कलेजका संचालक सुनिल शर्मालाई पराजित गरेका थिए । उक्त क्षेत्रमा अघिल्लो स्थानीय तहको निर्वाचनको परिणामभन्दा यसपटकको परिणाम एमालेले उल्लेख्य सुधार भएका कारण फेरि जित्नेमा ढकाल आशावादी बनेको कार्यकर्ताहरूको बुझाई छ ।

क्षेत्र नम्बर ३ अन्तरगत बेलबारी नगरपालिकामा प्रमुखसहित पथरी शनिश्चरे नगरपालिकाको प्रमुख तथा उपप्रमुख र कानेपोखरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पनि एमालेले जितेको छ । स्थानीय तहमा एमालेको बलियो उपस्थिति देखिएपछि ढकाल पुनः सोही क्षेत्रमा दोहोरिन इच्छुक बनेका हुन् ।

नेकपाको गठबन्धनताका क्षेत्र नम्बर ४ मा भने माओवादी केन्द्रका अमनलाल मोदी निर्वाचित भएका थिए । यसअघि जितेको क्षेत्र भन्दै वर्तमान गठबन्धनभित्र पनि उक्त क्षेत्र यसपटक माओवादीले नै दाबी गर्दै आएको छ । माओवादीले क्षेत्र नं. ४ मा मोदीकै नाम एकल सिफारिस गरेको हो ।

नेकपा विभाजनपछि क्षेत्र नं. ४ मा एमालेले पार्टी केन्द्रीय सदस्य विनोद ढकाललाई एकल रुपमा अघि सार्ने निर्णय गरेको हो । ढकालले उक्त क्षेत्रमा हुने पार्टीका हरेक गतिविधिमा पहिल्यैदेखि सक्रियता बढाउँदै लगेका थिए । 
क्षेत्र नम्बर १ बाट स्थायी कमिटी सदस्य डा.शिवमाया तुम्वाहाम्फे र वर्तमान सांसद घनश्याम खतिवडासहित पाँच जनाको नाम सिफारिस भएको छ । उक्त क्षेत्रबाट अग्नी भट्टराई, राजेन्द्र पौडेल र सामाजिक अभियन्ता रुद्र तामाङ प्रतिनिधिसभा खुल्लातर्फ सिफारिस भएका हुन् ।

प्रदेश १ कै सवैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको मोरङमा एमालेले कम्तिमा एक जना महिलालाई प्रत्यक्षतर्फ अघि सार्नुपर्ने चर्चा चलिरहँदा पूर्वउसभामुखसमेत रहेकी तुम्बाहाम्फेले तीब्र आकांक्षा व्यक्त गरेको जनाइएको छ । खतिवडाले भने यसअघि कांग्रेस मोरङका वर्तमान सभापति डिकबहादुर लिम्बुलाई पराजित गर्दै निर्वाचित भएका थिए ।

यसैगरी क्षेत्र नम्बर ५ बाट योगेन्द्र मण्डलसहित मनोज अग्रवाल र राधा पासवानको नाम सिफारिस भएको एमाले केन्द्रीय सदस्य रामलाल साहले बताए । मण्डल उक्त क्षेत्रमा स्थापित सामाजिक अभियन्ता हुन् । उनले स्थापना गरेको जीवन विकास समाज र त्यस अन्तरगतको जीवन विकास लघुवित्त वित्तीय संस्था अग्रणी वित्तीय संस्थाका रुपमा चिनिँदै आएको छ । तीन जनाको नाम सिफारिस भए पनि क्षेत्र नम्बर ५ मा मण्डल नै निर्विकल्प भएको एमाले स्रोतको भनाई छ ।

क्षेत्र नम्बर ६ बाट स्थायी कमिटी सदस्य एवं सोही क्षेत्रमा निर्वाचित सांसद लालबाबु पण्डित र प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पुरीको नाम सिफारिस भएको छ । पण्डितले २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई हराएका थिए । उक्त निर्वाचनमा प्रदेशसभातर्फ प्राप्त मतमा कांग्रेस अघि रहेपनि प्रतिनिधिसभातर्फ भने पण्डितसँग कोइराला पराजित बन्नु परेको थियो । क्षेत्र नम्बर ६ मा कांग्रेसबाट यसपटक पनि शेखरसहित कांग्रेस संस्थापन पक्षधर रहेका डा. डिला संग्रौला, रमेशजंग रायमाझी र शिवकुमार बस्नेतसमेत उम्मेदवारीको अडान कायमै रहेको छ ।

संस्थापनइतरका कोइरालालाई गलाउन संस्थापन पक्षधर लागिरहेको खण्डमा कांग्रेसभित्र अन्तरकलह सिर्जना हुने र त्यसको फाइदा लिनेतर्फ एमालेका पण्डितले रणनीति बनाउने जनाइएको छ । यद्यपि एमाले नेता पण्डितको नाम समानुपातिक सूचीमा रहने चर्चा पनि उतिक्कै रहेको एमालेका केही नेताहरूले बताउँदै आएका छन् । केहिदिन अघिमात्रै कांग्रेस नेता डा.शेखर कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तालाई मोरङ क्षेत्र नम्बर ६ को राजनीतिसँग पनि जोडेर चर्चा हुन थालेको छ । 

समानुपातिकमा को-को ?
यसैबीच एमालेले मोरङको क्षेत्र नम्बर १ र २ मा ९/९ जनाको नाम समानुपातिकतर्फ सिफारिस गरेको छ । १ मा समानुपातिकतर्फ लक्ष्मी भण्डारी, भुपाल जिमी र डिल्ली खतिवडाको नाम सिफारिस भएको छ । भण्डारी उर्लाबारी नगरपालिकाकी पुर्व उपमेयर हुन् ।

क्षेत्र नं. २ मा गंगा डाँगी, नैनकला ओझा, रुपनारायण मिश्र, भुवनसिंह राई, वर्तलाल राजवंशी, विरेन्द कुमार दास, मनिश राई, नारायणलाल दास र श्याम ताजपुरिया समानुपातिकमा सिफारिस भएका हुन् ।

क्षेत्र नम्बर ३ मा विशेश्वर ढकाल, अन्जना अधिकारी, सितल राय, प्रकाश राई र देवेन्द्र मास्केको नाम समानुपातिकमा सिफारिस गरेको क्षेत्रीय समन्वय कमिटीका संयोजक भोला अधिकारीले जानकारी दिए । 

क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभाको समानुपातिकतर्फ महेश भट्टराई, विमला घिमिरे, लोकेश उपाध्याय र वर्भव कार्कीको सिफारिस भएको क्षेत्रीय समन्वय कमिटीमा संयोजक राजन भण्डारीले जानकारी दिए । 

क्षेत्र नम्बर ५ मा मोहम्मद नुर हसन (फिरोज खान), मनोज खड्का, कमला वादी, सदानन्द यादव र प्रकाश पोखरेल गरी पाँच जनाको नाम समानुपातिकतर्फ सिफारिस भएको छ ।

क्षेत्र नम्बर ६ मा भने दुईजनाको नाम समानुपातिकमा सिफारिस भएको छ । केन्द्रीय सदस्य रामलाल साह र झुमा पाठकको नाम सिफारिस भएको जनाइएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x