कोशी

भूकम्पको क्षति आकलन सर्वेक्षण सुरू

इकागज |
साउन २२, २०७९ आइतवार २१:५४ बजे

खोटाङ- खोटाङको साकेला गाउँपालिका-५ मात्तिमविर्ता केन्द्र बनाएर गएको ५ मेग्नेच्युडको भूकम्पको क्षति आकलन सर्वेक्षण सुरु गरिएको छ । गत १५ साउनमा गएको भूकम्पका कारण पुगेको क्षतिको विवरण संकलनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले क्षति आकलन सर्वेक्षण सुरु गरेको हो ।

भूकम्पको इपिसेन्टर मात्तिमविर्ता बाहेकका प्रभाव क्षेत्र छुट्याउने, बढी क्षति भएका र कम क्षति भएका घरको संरचनाबारे अध्ययन गर्ने, क्षति पुगेका घरको ‘रि-कन्ट्रकसन र रिकभरी’ लगायतका बारेमा अध्ययन गर्दै क्षति आकलन सर्वेक्षण सुरु गरिएको राष्ट्रिय आवास तथा वस्ती उत्थानशील समन्वय मञ्चका इन्जिनियर प्रकाश बस्नेतले बताए । 


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट क्षति आकलन सर्वेक्षण सुरु गरेको हो । भूकम्पको इपिसेन्टर साकेला गाउँपालिकामा क्षति आकलन सर्वेक्षणका लागि आइतबार प्राविधिक सहितको टोली पुग्ने जनाइएको छ ।

टोलीले हलेसी तुवाचुङ नगरपालिकामा पनि भूकम्पको क्षति आकलन सर्वेक्षण गर्नेछन् । टोलीले तयार पारेको प्रतिवेदनका आधारमा सरकारले भूकम्पीय पुन:निर्माणको सन्दर्भमा निर्णय गर्ने इन्जिनियर बस्नेतले बताए । करिब १० दिनमा भूकम्पको क्षति आकलन सर्वेक्षणको काम सकिने प्राधिकरणले जनाएको छ । 

क्षति आकलन सर्वेक्षणका लागि आएको टोलीले भूकम्पको क्षतिका विषयमा आइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधि तथा दलका नेतासँग छलफल गरेको छ । छलफल कार्यक्रममा नगरका १५ वडामध्ये उपलब्ध वडाध्यक्षले भूकम्पका कारण भएका क्षतिको विवरण प्रस्तुत गरेका छन् । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलमा दुई घर बस्नै नहुने अवस्थामा पुगेको, केही मन्दिर तथा भवन चर्केको, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा २६ घर चर्किएको विवरण प्राप्त भएको, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङमा १३ जनाको आवेदन आएको, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेमा दुई सयको आवेदन परेको जानकारी दिइएको छ । 

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङमा ११ घर, तीन विद्यालय र एक मण्डलीमा क्षति पुगेको मुचुल्का तयार पारिएको, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पामा आवेदन संकलन भइरहेको, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पाचिउरीडाँडामा ३५ जनाको आवेदन परेको, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडामा ४८ जनाको आवेदन गरेको, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकामा २७ जनाको घर चर्किएको जानकारी दिइएको छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपामा १३ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्कमा ५२ जनाको घरमा क्षति पुगेको वडाध्यक्षहरूले जानकारी दिएका छन् ।


Author

थप समाचार
x