कोशी

उर्लाबारीले सुरू गर्‍यो किसान प्रोत्साहन, १२ उत्कृष्ट किसान पुरस्कृत

बाबुराम भण्डारी |
असार १७, २०७९ शुक्रबार २०:५२ बजे

उर्लाबारी- मोरङको उर्लाबारी नगरपालिकाले किसानहरूलाई प्रोत्साहनको थालनी गरेको छ । शुक्रबार नगर क्षेत्रका उत्कृष्ट १२ किसानहरूको पहिचान गरी उनीहरूलाई सम्मान गरेको छ । 

मौरीपालन, दूध उत्पादन, बंगुरपालन, कुखुरापालन, मकै खेती, माछापालन लगायतका क्षेत्रमा उत्कृष्ट काम गर्ने किसानहरूलाई वडाहरूको सिफारिसमा सम्मान गरिएको जनाइएको छ । सम्मानित हुनेहरूमा बिष्णुकुमार बराल तरकारीबाली, पदम रिजाल खाद्यान्‍न, नारायण नेपाल फलफूल, कमलप्रसाद लुईटेल (तेलहनबाली), बोधराज खतिवडा (मौरीपालन), गणेशकुमारी धिमाल (च्याउ खेती), प्रमिला चौहान (घाँसखेती), सरोज थापा (कुखुरापालन), निलम न्यौपाने (बाख्रापालन), सुबासचन्द्र खापुङ (माछापालन), बिज्ञान ढुंगाना (गाईपालन) र रामकुमारी वाईवा (बंगुरपालन) रहेका छन् । आठौं नगरसभाको समापनका अवसरमा उनीहरूलाई जनही १५ हजार रूपैयाँसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।


नगरपालिकाले ६५ जना किसानको प्रारम्भिक विवरण संकलन गरी उनीहरू मध्येबाट १२ जना छनौट गरिएको कृषि शाखाका अधिकृत अम्बिकाप्रसाद लुईंटेलले जानकारी दिए । कृषि क्षेत्रको ज्ञान सीप, प्रविधिको प्रयोग, उन्‍नत उत्पादन र पशुपालनलाई प्राथमिकता दिएर किसान छनौट गरिएको बताए ।

पुरस्कृत किसानहरूले कृषि क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्न नगरपालिकासँग आग्रह गरे । उर्लाबारी-२ का मौरीपालक किसान बुधराज खतिवडाले बाँच्‍ने आधार नै कृषि भएकोले कृषि क्षेत्रमा नयाँ प्रविधिको प्रयोगमा प्रोत्साहन गर्नुपर्ने बताए । उनले अनुदानभन्दा उत्पादनका आधारमा कम्तिमा कूल बजेटको १० प्रतिशत बजेट कृषि क्षेत्रका लागि विनियोजन गर्न माग गरे । आफूले उत्पादन गरेको महले बजारको अभाव झेल्नु नपरेको उनले दाबी गरे ।

‘गत मंसिरदेखि चैतसम्म मात्रै १ हजार ७०० किलो मह उत्पादन भयो, उत्पादन गरेको मह अहिलेपनि मोरङ जिल्लालाई नै पुग्‍न सकेको छैन,’ उनले भने, ‘आफै बिक्री गरिरहेको छु, पसल पनि खोलेको छु, केही होलसेलमा बिक्री गर्ने गरेको छु, विराटनगर, धरानदेखि काठमाडौँसम्मको महको माग धान्‍न सकिएको छैन ।’
अहिले आफूसँग ३ सय घार मौरी रहेको उनले जानकारी दिए । २०६५ सालमा मदन स्मृति प्रतिष्ठानबाट मौरीपालनको तालिम प्राप्त गरेका उनले अहिले मौरीपालनको प्रशिक्षक भएर सामुदायिक वन र विभिन्‍न पकेट कार्यक्रमहरुमा प्रशिक्षक बनिसकेको बताए । खतिवडा अहिले मौरीपालन महासंघ मोरङको अध्यक्ष समेत रहेका छन् ।

वडा नम्बर ९ की बंगुरपालन किसान रामकुमारी वाइबाले बंगुरका पाठा बिक्री घटेको अनुभव सुनाइन् । नगरपालिकाभित्रका किसानलाई दिइने अनुदानमा समेत बाहिरबाट पाठा ल्याएर दिइने गरेको प्रति उनले असन्तुष्टि पोखिन् । ‘बंगुरको पाठा हामीले उत्पादन गरेकै बाँडौं, तर अहिले बाहिरबाट ल्याएर बिक्री भइरहेको छ,’ उनले भनिन्, ‘सच्चा किसानहरुले अनुदान प्राप्त गरुन्, नगरपालिकाले यसमा ध्यान दिओस् ।’

अहिले आफ्नो बंगुर खोरमा ५०/५५ वडा बंगुरका माउ रहेको जानकारी दिइन् । बजारको अभावले तीन महिना ढिला गरेर ७० वटा पाठा काभ्रेको भकुण्डेबेसी पुर्‍याएर प्रति पाठा ४ हजार रुपैयाँमा बिक्री गर्नुपरेको अनुभव सुनाइन् । पहिले प्रति पाठा ९ हजार रुपैयाँसम्ममा बिक्री गरेको उनले जानकारी दिइन् ।

माछापालनमा उल्लेख्य आम्दानी गर्न थालेका उर्लाबारी-४ का शुवाशचन्द्र खापुङले अहिले उत्पादनको आधा अवधिमै ५ हजार किलो माछा बिक्री गरिसकेको बताए । तीन वर्षयता ८ वटा पोखरीमा माछापालन गरिरहेको जानकारी दिए । अघिल्लो वर्ष चारवटा पोखरीबाट ३ हजार किलो माछा बिक्री गरेको उनले जानकारी दिए । 

‘आफ्नै बिक्रीकक्ष बनाएको छैन, सवै माछा होलसेल खरिदकर्तालाई बिक्री गर्दै आएको छु,’ उनले भने, ‘खुद्रामा प्रतिकिलो ३ सय रूपैयाँमा बिक्री गरिरहेको छु, बजारमा कुनै समस्या छैन ।’

मेयर गंगाप्रसाद खरेलले विगतमा नगरपालिकाबाट कृषि क्षेत्रमा दिइएका अनुदानहरूको सही सदुपयोग हुन नसकेको बताए । नगरपालिकाले अहिलेसम्म कृषि क्षेत्रमा गरिएको लगानीको उपलब्धि नखोजेका अनुदान रकमको सदुपयोग प्रति आशंका व्यक्त गरे । ‘यसपटक किसानलाई रातह पुग्‍ने गरी कार्यक्रमहरु ल्याएका छौं, किसानहरुले सही तरिकाले अनुदानको सदुपयोग गरुन्,’ मेयर खरेलले भने, ‘हाम्रो अनुदानले किसानहरूलाई हौसला मिलोस् ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x