कोशी

झापाका दुई हजार ३४३ उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण

इकागज |
असार १७, २०७९ शुक्रबार १८:३८ बजे

झापा- स्थानीय तह निर्वाचन भएको डेढ महिना बितिसक्दासमेत झापाका दुई हजार ३४३ उम्मेदवारले निर्वाचन खर्च विवरण अझै नबुझाएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

जिल्लाका १५ वटा स्थानीय तह र जिल्ला समन्वय समितिमा गरी दुई हजार ८६३ जनाले उम्मेदवारी दर्ता गरेका थिए । जसमध्ये हालसम्म ५२० जनाले मात्र खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाएको कार्यालयका सूचना अधिकारी प्रेम न्यौपानेले बताए । उनले वैशाख ३० गते भएको निर्वाचनको मतपरिणाम घोषणा भएको एक महिनाभित्रमा निर्वाचन खर्च बुझाउनु पर्ने भएता पनि अझै नबुझाएको जानकारी दिए ।


न्यौपानेले जिसस बाहेकका सबै उम्मेदवारहरूले विवरण बुझाउन म्याद समेत सकिन लागेको बताए । सूचना अधिकारी न्यौपानेले तोकिएको समय भित्र ठूला दलहरूले बुझाए पनि निर्वाचनमा पराजित हुने र स्वतन्त्रबाट उम्मेदवार बनेकाहरूको विवरण आउन बाँकी रहेको उल्लेख गरे । हाल मतदाता नामावली दर्ता गर्नेहरूको कार्यालयमा भीड भएका कारण कुन पालिकाका कतिले बुझाए भन्‍ने तथ्यांक छुट्याउन नसकेको उनकाे जिकिर छ । 

उनका अनुसार नगर प्रमुख, उपप्रमुख पदका उम्मेदवार बनेकाहरूले चार लाख ५० हजार, वडाध्यक्षलगायतले दुई लाख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षले तीन लाख ५० हजार र अन्यले एक लाख ५० हजारसम्म खर्च गर्न पाइने आयोगले व्यवस्था गरेका थियो । आयोगले तोकेको समयमा निर्वाचन खर्च नबुझाउने व्यक्तिलाई आगामी कुनै पनि निर्वाचनमा उम्मेदवार बन्‍न नपाउने गरी कारबाही गर्न सक्ने प्रावधान छ । रासस


Author

थप समाचार
x