कोशी

'भाइरल' प्रदेश सांसद साँवाद्वारा लिम्बु भाषामा सम्बोधन

इकागज |
असार १६, २०७९ बिहीबार १८:३० बजे

विराटनगर- नेकपा एमालेबाट प्रदेश १ का सांसद सर्वध्वज साँवा लिम्बुले बिहीबार प्रदेशसभामा लिम्बु भाषामै सम्बोधन गरेका छन् । उनले सभामुख प्रदीपकुमार भण्डारीसँग आफ्नै भाषामा कुरा राख्‍ने भन्दै प्रदेशसभाको शून्य समयमा बोलेका थिए ।

सांसद साँवाले शून्य समयको तीन मिनेटसम्म लिम्बु भाषामा बोल्दा अरू सांसदहरू भने मुखामुख गर्दै हाँसेका थिए । उनले लिम्बु भाषामा बोलेका कुरा अरू सांसदहरूले नबुझ्दा उनीहरूले मुखामुख गरे । प्रदेश १ को प्रदेशसभा नियमावलीमा जनताको चासो र सरोकारलाई शून्य समयमा उठाउनका लागि तीन मिनेटको समय छुट्याइएको छ ।


सांसद साँवाले प्रदेशसभामा बोल्दा उनको बोलेका कुरा र बोल्ने शैली भाइरल हुने गरेको छ । केही दिन अघिमात्रै प्रदेशसभामा मन्त्रालयगत बजेट विनियोजनमाथिको छलफलका क्रममा उनले मुख्यमन्त्री राजेन्द्रकुमार राई र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो अनुपस्थित नभएको भन्दै ‘सोई ढोले सोई, मुख्यमन्त्री खोइ ?’ भन्दै रोचक व्यंग्य गरेर भाइरल बनेका थिए ।

यसअघि मुख्यमन्त्री शेरधन राईको पालामा पनि सांसद साँवाले बजेट ‘आयो पो त’ भन्दै प्रदेशसभामा बोलेको कुरा भाइरल बनेको थियो ।


Author

थप समाचार
x