कोशी

प्रदेश १ की एमाले सांसद खातुनको राजीनामा स्वीकृत

बाबुराम भण्डारी |
असार १६, २०७९ बिहिवार १७:४ बजे

विराटनगर- प्रदेश १ को प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित समानुपातिक सांसद गुलेफुन खातुनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएकी छन् । उनले बुधबारको मितिमाा प्रदेशसभामा राजीनामा लेखेर बुझाएकी हुन् ।

बुधबारदेखि नै लागु हुने गरी सांसद खातुनले दिएको राजीनामा स्वीकृत भएको प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभालाई जानकारी दिए । 
सांसद खातुनले प्रदेश सांसद रहँदा देश जनताको पक्षमा महत्वपूर्ण भूमिका खेल्दै आएको र हाल आएर आफ्नो व्यक्तिगत तथा पारिवारिक समस्याले गर्दा संसद पदमा उपस्थित भई आफ्नो पदीय भूमिका र जिम्मेवारीलाई प्रभावकारी ढंगले पूरा गर्न असमर्थ भएको कुरा राजीनामा उल्लेख गरेकी छन् । 


‘सांसदजस्तो गरिमामय पदमा रहिरहनु भन्दा राजीनामा दिई पार्टीलाई मार्ग प्रसस्त गरी योग्य र समक्ष व्यक्तिलाई उक्त पदमा अवसर दिनु उपयुक्त हुन्छ भनि यो पदबाट राजीनामा दिएकी छु,’ सभामुख प्रदीपकुमार भण्डारीले बिहीबार प्रदेशसभामा सुनाएको राजीनामा पत्रको व्यहोरामा भनिएको छ । 

खातुनले असार १५ गतेदेखि लागु हुने गरी राजीनामा दिएकाले नेपालको संविधानको धारा १८० को खण्ड (क) बमोजिम तथा प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम १६९ र १७० बमोजिम उक्त प्रदेशसभा सदस्य पद रिक्त भएको कुरा सभामुख भण्डारीले प्रदेशसभा जानकारी दिए ।

सरकारी छाप र दस्तखत किर्ते मुद्दामा जिल्ला अदालत मोरङको फैसलामा उल्लेखित सजायलाई पुनरावलोकन गर्दै उच्च अदालत विराटनगरले गरेको फैसलामा चित्त नबुझेपछि उनी सर्वोच्च अदालतमा सुनुवाइका लागि निवेदन दिएकी थिइन् ।

सर्वोच्च अदालतले मुद्दा दोहोर्‍याउन अनुमति नदिएपछि प्रदेश १ की प्रदेशसभा सदस्य गुलेफुन खातुन पद मुक्त हुने निश्चित भएका कारण उनले प्रदेशसभा सदस्यबाट राजीनामा दिन बाध्य बनेकी हुन् ।

सर्वोच्चको जेठ २५ गतेको इजलासले उनको माग निवेदन खारेज गरेको हो । प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १६ मा पदमुक्त सम्बन्धी गरिएको व्यवस्था अनुसार दफा १३ बमोजिम अयोग्य रहेको अदालतबाट ठहर भए त्यस्तो पदबाट मुक्त हुनेछ भनि उल्लेख छ । उम्मेदवारको अयोग्यता सम्बन्धी दफा १३ (घ) को व्यवस्था अनुसार नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाएको व्यक्ति अयोग्य हुने भनिएको छ ।

संविधानको धारा १७८ मा प्रदेशसभा सदस्यका लागि योग्यता र धारा १८० मा प्रदेशसभा सदस्यको स्थान रिक्त हुने सम्बन्धि व्यवस्था छ । योग्यता सम्बन्धी धारा १७८ को व्यवस्थामा ‘नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको’ व्यक्ति हुनुपर्ने उल्लेख छ । 
उक्त मुद्दामा खातुनसहित उनका श्रीमान् शेख सिलावर मियाँ २५ दिन प्रहरी हिरासतमा बसेका थिए । खातुन १० हजार धरौटीमा रिहा भएर उच्च अदालतसम्म पुगेकी थिइन् ।

सांसद खातुनको राजिनामा स्वीकृत भएर पद खाली भएपछि प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभाको आकार ८९ सदस्यीय बनेको छ । यसअघि माओवादी केन्द्रका सांसद टंक आङ्बुहाङले माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गर्दा उनको पद रिक्त भएको थियो । गत स्थानीय तह निर्वाचन अघि नेकपा एमालेका प्रदेश सांसदहरु काजिमान कागते र गोपालचन्द्र बुढाथोकीले पनि राजीनामा दिएका थिए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x