राजनीति

बालेन, रेणु र ‘अटेरी’ गनेसको नतिजामा सबैको नजर

उपेन्द्र अर्याल |
बैशाख ३०, २०७९ शुक्रबार २०:२५ बजे

काठमाडौँ – देशभरका ७ सय ५३ वटै स्थानीय तहका जनप्रतिनिधि छान्न गरिएको निर्वाचन शुक्रबार सम्पन्न भएको छ । एकाध बाहेक देशभर मतदान उत्साहजनक भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन सकिए लगत्तै सबैको चासो निर्वाचन परिणामतिर मोडिएको छ  । 

आयोगले शुक्रबारबाटै निर्वाचनको मतगणना सुरु गर्ने भएको छ । ७ सय ५३ पालिकाकै मतपरिणाम उत्तिकै महत्व रहे पनि केही स्थानीय तहको परिणाम के होला भन्नेमा आमचासो देशभर देखिन्छ । त्यसमध्ये एक हो– काठमाडौँ महानगरपालिका । काठमाडौँको मेयर को बन्ला ? भन्ने विषयले देशभर चर्चा पाएको छ । काठमाडौँ महानगरका उम्मेदवार बालेन साहले कति मत ल्याउलान् भनेर सबैको ध्यान त्यतातिर खिचिएको छ । साहले महानगरको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । उनी र्‍यापर पनि हुन् । कलाकारिता क्षेत्रबाट उम्मेदवारी दिएका उनको क्रेज युवामा धेरै छ । अन्य उम्मेदवारको तुलनामा सामाजिक सञ्जालमा उनकै बढी क्रेज देखिन्छ । 


धेरै कलाकारले खुलेरै उनको पक्षमा मत मागेका थिए । निर्वाचन सकिए लगत्तै उनले कति मत पाउलान् ? उनी विजयी होलान् वा दोस्रो वा तेस्रो ? सबैले विभिन्न अनुमान गरिरहेका छन् । कतिपयले सामाजिक संजालमा उनले पाउने मतको अनुमान गर्न थालेका छन् । अघिल्लो निर्वाचनमा युवामाझ चर्चित रन्जु दर्शनाले मेयर पदमा तेस्रो धेरै मत पाएकी थिइन् । यसपटक स्वतन्त्र उम्मेदवारी दिएका बालेनले दलगत उम्मेदवार दिएका प्रतिश्पर्धीलाई हराएर बाजी मार्लान् वा प्रतिस्पर्धी कै लहरमा आफूलाई उभ्याउलान चासोको विषय बनेको छ । 

देशकै राजधानी भएकाले काठमाडौँ महानगरमा उनीमात्रै नभएर उनीसँगै उठेका मेयरका उम्मेदवारको पनि चासो उत्तिकै छ । मेयर पदमा एमालेबाट केशव स्थापित उम्मेदवार छन् भने गठबन्धनले कांग्रेसकी सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ ।  स्थापित पनि सामाजिक सञ्जालमा अस्वभाविक अभिव्यक्तिहरू दिएर चर्चामा रहे । सिर्जना सिंहलाई पनि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकै श्रीमती भएकै कारण उम्मेदवार बनाएको भनेर चर्चामा रहिन् । उनले महानगरको मेयर पद जित्लिन् हार्लिन् त्यो परिणामले देखाउला, तर उनले कति मत पाउलिन् भन्ने चासो सबैमा देखिएको छ ।  

स्थानीय निर्वाचनमा सबैभन्दा चर्चामा रहेको महानगर भरतपुर हो । यसको कारण हुन्, गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेणु दाहाल । भरतपुरमा यसपटक गठबन्धनबाट मेयर पद कांग्रेसले पाउनुपर्ने माग कांग्रेस नेता कार्यकर्ताको थियो ।  तर, केन्द्रका नेतामा लामो रस्साकस्की पछि भरतपुर माओवादीकै भागमा पर्‍र्यो । अघिल्लो पटक पनि कांग्रेस र माओवादीको तालमेलमा कांग्रेसी कार्यकर्ताले रेणुलाई मत हालेका थिए । यसपटक गठबन्धनबाट उनै रेणु दोहोरिदा कांग्रेस कार्यकर्ता असन्तुष्ट बने । कांग्रेस नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । अघिल्लो पटक पनि मत पत्र च्यातेर चर्चा कमाएको भरतपुर यसपटक पनि चर्चाको शिखरमै छ । रेणुले पौडेलको उम्मेदारीले रेणुले जित्लिन् वा हार्लिन् आम चासोको विषय बनेको छ । भरतपुर चर्चाको केन्द्र बन्नुको कारण माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र भएकाले हो । भरतपुरको जितलाई प्रचण्डले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । अघिल्लो पटक निर्वाचन हारेको एमालेले यसपटक भरतपुरको जित आफ्नो पक्षमा पार्ने प्रयत्न गरिरहेको छ । यसपटकको भरतपुरको मेयरको भिडन्त कस्तो हुने हो त्यो आजै सुरु हुने मतगणनाले देखाउने छ । 

यसपटक काठमाडौँ र भरतपुरसँगै पोखराको चर्चा पनि देशभरै छ । पोखरामा मेयर पदको लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका गनेस पौडेलको चर्चा सामाजिक संजालमा धेरै छ । लेखकको परिचय बनाएका उनले ‘अटेरी’ अभियान चलाएर पोखरामा मेयरको उम्मेदवारी दिएका छन् । स्थानीय तहमा दलगत राजनीतिबाट आएका जनप्रतिनिधिले काम गर्न नसक्ने दाबी गर्दै पनि स्वतन्त्रबाट जित हात पार्न कस्सिएका छन् ।  यसअघि नै आफ्नो परिचय लेखक बनाएका पौडेलले आफ्नो परिचय फेर्लान्, नफेर्लान् आम चासोको विषय बनेको छ ।

गनेसका प्रतिस्पर्धी रहेका एमालेका उम्मेदवार कृष्ण थापा र गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीको नेता धनराज आचार्यको पनि चर्चा देशभर रहेको छ । कारण–उनीहरू यसअघि एकै दलका सहकर्मी थिए, अहिले फरक दलबाट मेयर पदका प्रतिस्पर्धी बनेका छन् । अघिल्लो निर्वाचनमा उनीहरू दुवै एमालेमा थिए । पार्टी विभाजनपछि आचार्य माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा गएका थिए भने  थापा एमालेमै रहे । अघिल्लो पटक एमालेले जितेको पोखरामा यसपटक आचार्य र थापाले जितलाई दलकै प्रतिष्ठाको विषय बनाएकाले उनीहरूको परिणाम के होला भन्ने चर्चा बनेको छ । 


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x