राजनीति

५९ प्रकारका निर्वाचन सामग्री बुझेर कर्मचारी हिंडे मतदान स्थलतिर

बाबुराम भण्डारी |
बैशाख २५, २०७९ आइतबार १६:५८ बजे

विराटनगर – बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न खटाइएका कर्मचारीहरु मतपत्रसहित ५९ प्रकारका सामग्री बुझेर मतदान स्थलतर्फ हिंडेका छन्।

प्रदेश निर्वाचन कार्यालय विराटनगरबाट मतपत्र, मतपेटिका, सिल, मतदाता नामावली, स्वस्तिक छाप, विभिन्न प्रकारका अनुसूची फारमहरुसहित कर्मचारीहरुले ५९ प्रकारका सामग्री बुझेका हुन् । आफ्नो जिम्मामा रहेको निर्वाचन सामग्री बुझेर उनीहरु आफू खटिएको पालिकाकाको मतदानस्थलतर्फ हिंडेका हुन् ।


प्रदेश निर्वाचन कार्यालय विराटनगरले आइतबार पहिलो दिन मोरङका ६ वटा स्थानीय तहमा खटिने कर्मचारीलाई मतपत्रसहितको निर्वाचन सामाग्री बुझाएको छ । विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकालाई २७ गते निर्वाचन सामग्री उपलब्ध गराउने निर्वाचन कार्यालयको तयारी छ ।

विराटनगरबाट सबैभन्दा टाढा रहेको मिक्लाजुङसहित कानेपोखरी, केराबारी र उर्लाबारी, सुनवर्षी, लेटाङ र पथरी शनिश्चरे नगरपालिकामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मतपत्रसहित आवश्यक सवै निर्वाचन सामग्री उपलब्ध गराएर मतदान स्थलतर्फ खटाइएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

जिल्लाका सबै १७ पालिकामा खटिने सवै कर्मचारीलाई बैशाख २७ गतेसम्म निर्वाचन सामग्री प्रदान गरिसक्ने प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तिर्थ अधिकारीले जानकारी दिए । मोरङमा ३०० मतदान स्थल र ८२० वटा मतदान केन्द्र रहेका छन् । ती स्थानमा १ हजार ६५७ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतहरु खटिने जनाइएको छ ।

मतपत्रसहित निर्वाचन सामग्री लिएर कर्मचारीहरु खटिने भएकोले मतदान स्थलहरुमा आवश्यक सुरक्षा व्यवस्था मिलाइसकिएको जनाइएको छ । कर्मचारीहरुले सोमबारदेखि मतदान स्थलमा मतदान केन्द्र निर्माण गरी मतदाता शिक्षा कार्यक्रम समेत संचालन गर्नुपर्ने आयोगले निर्देशन गरिसकेको छ ।
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x