राजनीति

बैशाख ३० पछि गठबन्धन भत्किने ओलीकाे दाबी

बाबुराम भण्डारी |
बैशाख २४, २०७९ शनिवार १८:४० बजे

माेरङ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैशाख ३० गठबन्धनको अन्तिम पञ्चर हुने बताएका छन् । शनिबार विराटनगरमा आयोजित महानगर स्तरीय चुनावी भेलालाई सम्बोधन गर्दै ओलीले ३० गते नटालिने गरी गठबन्धन पञ्चर हुने दाबी गरे । 

‘३० गते तपाईंहरुको भाषणको अन्तिम पञ्चर नटाटिने गरी हुन्छ’ उनले भने, ‘३० गतेबाट यो गठबन्धन ट्याँईट्याँई फिस हुन्छ ।’ उनले सूर्य चिन्हबाहक उम्मेदवारहरु बाहेक अरुले देशको विकास गर्न नसक्ने दाबी गर्दै ३० गतेपछि गठबन्धन आफैं भत्किने दाबी गरे । ओलीले गठबन्धन आएपछि मुलुकमा अलच्छिन सुरु भएको समेत टिप्पणी गरे ।


‘एमालेसँग एक्लै चुनाव लड्न वडामा समेत हिम्मत गर्दैन, त्यसले के बनाउँछ देश, के गर्छ एमालेसँग प्रतिष्पर्धा’ ओलीले भने, ‘एमाले एक्लैले पाँचै भाईलाई एउटै बट्टामा प्याक गरेर फ्याँकिदिन्छ ।’ ओलीले अब बाँकी रहेको ३ दिन धुमधामका साथ चुनावी प्रचार प्रसारमा जुट्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे । 

उनले गठबन्धनका नेताहरु बस्ने कुर्सी बोल्न जान्ने भए धुरुधुरु रुने अवस्था आइसकेको बताए । गठबन्धनप्रति खरो टिप्पणी गर्दै उनले भने, ‘ढोडका लौरा टेकेर सगरमाथा पुर्‍याउनु परेको छ, कुर्सी पनि रुँदो हो, कुर्सी बोल्न जान्दैन, त्यस्तालाई बोल्न जान्ने तपाईं हामीले मिल्काउनु पर्छ ।’

उनले विराटनगरमा एमालेका उम्मेदवारहरुले विकास झल्किने र आधुनिकता टल्किने गरी विकासका अभियानमा जुट्न आग्रह गरे । विराटनगर राजनीतिक रुपमा क्यापिटल भएपनि औधोगिक रुपमा पनि ‘इन्डष्ट्रियल क्यापिटल’ भएको बताए । 

व्यस्त कार्यतालिका लिएर प्रदेश १ आएका एमाले अध्यक्ष ओलीले शनिबार मात्रै विराटनगरसहित चारवटा स्थानमा आयोजित चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले बिहान सुनसरीको धरान, त्यसपछि इटहरी र अपरान्ह विराटनगरमा सम्बोधन गरेका छन् । विराटनगरमा भाषण सके लगत्तै उनी मोरङको सुन्दरहरैंचामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न त्यता हिंडेका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x